logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • सूर्य नेपालबाट मात्रै पूर्वराजा ज्ञानेन्द्रले कति पाउँछन् लाभांश ?

    सूर्य नेपालबाट मात्रै पूर्वराजा ज्ञानेन्द्रले कति पाउँछन् लाभांश ?

    5.7K
    Shares
    सूर्य नेपालबाट मात्रै पूर्वराजा ज्ञानेन्द्रले कति पाउँछन् लाभांश ?

    काठमाडौं । नेपालको चुरोट बजारमा एकछत्र राज गरिरहेको बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले वर्षेनी लगानीकर्तालाई आकर्षक लाभांश दिँदै आएको छ । उद्योगको व्यापार र लगानीकर्तालाई दिने लाभांश लोभलाग्दो छ ।

    सूर्य नेपालले वर्षमा १० अर्ब रुपैयाँ हारहारीमा सेयरधनीलाई लाभांश वितरण गर्दै आएको छ । गत वर्ष सन् २०२३ मा २९ अर्ब रुपैयाँ बराबर चुरोेट व्यापार गरेको थियो । गत वर्षसम्म सेयरधनीलाई दिने लाभांश सार्वजनिक गर्दै आएको सूर्य नेपालले यो वर्षको सार्वजनिक गरेको छैन् । सार्वजनिक गरेको वित्तीय विवरणमा लाभांश दिइरहेको मात्र उल्लेख गरेको छ ।

    सूर्य नेपालमा आइटिसी इन्डिया लिमिटेड, ब्रिटिस अमेरिकन कम्पनीका साथै पूर्वराज ज्ञानेन्द्र शाह, सिद्धार्थ शम्शेर राणाको लगानी रहेको छ । उद्योगमा आइटिसीको ५९, ब्रिटिस अमेरिकन कम्पनीको २, ज्ञानेन्द्र शाहको १० र सिद्धार्थ राणाको ६ प्रतिशत स्वामित्व छ ।

    तर, पूर्वराजा ज्ञानेन्द्रले सूर्य नेपालबाट वार्षिक १ अर्ब रुपैयाँ हारहारीमा लाभांश पाउँदै आएका छन् । पूर्वराजा ज्ञानेन्द्रको यो लाभांश सूर्य नेपालबाट मात्र हो । यस्तै सोल्टी होटललगायत अन्य कम्पनीहरुबाट पाउने लाभांश पनि लोभलाग्दो छ ।

    सूर्य नेपालले यो वर्ष लाभांश सार्वजनिक नगरे पनि पाँच वर्ष अवधिमा उद्योगले लगानीकर्तालाई ४८ अर्ब ६६ करोड ६० लाख रुपैयाँ लाभांश बाँडिसकेको छ । गत वर्षको जोड्दा यो भन्दा बढी हुन्छ । गत वर्षसम्मलाई हेर्दा ६ वर्षको अवधिमा उद्योगले १ खर्ब ५५ अर्ब रुपैयाँको चुरोट व्यापार गरेको देखिन्छ ।

    सूर्यले सेयरधनीलाई सन् २०२३ मा १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश दिएको छ । २०२२ मा ९ अर्ब ४१ करोड ५० लाख रुपैयाँ लाभांश दिएको थियो । यस्तै, २०२१ म ९ अर्ब ८५ करोड, २०२० मा ९ अर्ब ८८ करोड ८५ लाख र २०१९ मा ९ अर्ब ८५ करोड ८० लाख रुपैयाँ लाभांश दिएको थियो ।

    सूर्य नेपालको २०२३ मा चुरोट व्यापार ७ प्रतिशत बढेर २८ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । गत वर्ष सूर्य नेपालले १ अर्ब ९७ करोड ६० लाख रुपैयाँ व्यापार बढाएको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।

    यस्तै सन् २०२२ मा चुरोट कारोबार १०.२९ प्रतिशत बढेको थियो । सूर्यले २७ अर्ब १ करोड रुपैयाँको चुरोट व्यापार गरेको थियो । अघिल्लो वर्ष उद्योगले २४ अर्ब ४९ करोड रुपैयाँको चुरोट व्यापार गरेको थियो ।

    २०२० मा उद्योगको चुरोट व्यापार २४ अर्ब ४७ करोड रुपैयाँ थियो । यस्तै २०१९ मा २५ अर्ब १३ करोड ७० लाख र २०१८ मा २४ अर्ब २२ करोड रुपैयाँको व्यापार गरेको थियो । सूर्य नेपालको व्यापार बढ्दै गएको सार्वजनिक गरिएको वित्तीय विवरणले देखाएको छ ।

    चुरोटको करमा वृद्धि भए पनि नयाँ ब्रान्ड ल्याएका कारण उद्योगको व्यापार बढेको सूर्य नेपालले जनाएको छ । चुरोटका साथै सूर्यले सलाइ र अगरबत्ती पनि उत्पादन गर्दै आएको छ । सूर्य नेपालले सूर्य लिजेन्ड, सूर्य २४ क्यारेट, सूर्य लक्जरी किङ्स, शिखर फिल्टर किङ्स, शिखर आइस रस, नौलो, खुकुरी फिल्टर, पाइलट फिल्टर, सूर्य फ्युजन, स्टिकर स्पाइस रस, बिजुली र चौतारी ब्रान्डका चुरोट उत्पादन गरिरहेको छ ।

    जनकपुर चुरोट कारखाना अवसानपछि चुरोट बजारमा सूर्य नेपालको एकछत्र राज छ । सूर्य नेपाल सबैभन्दा बढी कर तिर्ने उद्योगमा पर्दै आएको छ । सरकारले उद्योगलाई वर्षेनी सम्मान गर्दै आएको छ । सन १९८६ मा स्थापना भएको हो ।

    आइटिसीले भक्तपुरमा फरच्युन रिसोर्ट सञ्चालन भइसकेको छ । पाँचतारे होटल खोल्ने तयारी छ । यस्तै भाटभटेनी ग्रुप लिटिल एन्जल समूहले बनाउन लागेको पाँचतारे अन्नपूर्ण होटलको व्यवस्थापन आइटिसीले हेर्नका लागि सम्झौता गरेको छ ।

    कम्पनीको व्यवसायलाई विविधीकरण गर्न व्यवस्थापनले होटल व्यवसायमा प्रवेश गर्ने योजना बनाएको छ । बूढानिलकण्ठमा होटल व्यवसायमा प्रवेशको तयारी गर्ने भनेको लामो समय बितिसकेको छ । सुरु भएको छैन । माउ कम्पनी भारतको आइटिसी लिमिटेडले नेपालमा होटल खोल्ने बताउँदै आएको छ । आइटिसी र नेपाली व्यवसायी कमल जैनको संयुक्त लगानीमा १ अर्ब रुपैयाँ लगानीमा साँगामा फच्र्युन वेलनेस रिसोर्ट सञ्चालनमा आएको छ ।

    उद्योगले ५ अर्ब ७५ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । तर, होटल निर्माण सुरु भएको छैन ।

    सूर्य नेपालले काठमाडौं बूढानीलकण्ठमा होटल बनाउने भएको हो । होटलको आर्किटेक्चरल डिजाइन तयार भइसकेको छ । उद्योग विभागले ५ अर्ब ९९ करोड रुपैयाँ होटलमा लगानीका लागि स्वीकृत गरिसकेको छ ।

    विदेशी लगानीकर्ताको आकर्षक गन्तव्य

    नेपालमा लगानीको वातावरण छैन, बजार सानो छ, जति लगानी गरे पनि राम्रो प्रतिफल प्राप्त हुँदैन भन्ने भाष्य बनेको छ । तर, लगानीको वातावरण राम्रो छैन भन्ने भाष्यलाई सूर्य नेपालको कारोबार र लाभांश वितरणले असत्य प्रमाणित गरिदिएको छ ।

    नेपालमा सूर्य नेपालमात्र हैन, भारतीय लगानीका डाबर नेपाल प्रालि, युनिलिभर नेपाल लिमिटेड, स्ट्यान्डर्ड चाटर्ड बैंक, एनसेल आजियटा लिमिटेड, नेपाल एसबिआई बैंक, एभरेष्ट बैंक, एनएमबी बैंक र एसियन पेन्ट्स, आरती स्ट्रिप्सलगायत ठूला लगानीमा स्थापना भएका बहुराष्ट्रिय कम्पनीहरूको कारोबार हिस्सा ठूलो छ । यस्तै पछिल्लो समय जलविद्युतमा विदेशी लगानी ओइरिइरहेको छ ।

    ठूला आयोजनामा भारत र चीनको लगानी बढेको छ । नेपालमा लगानी गरेका विदेशी कम्पनीले लगानीकर्तालाई आकर्षक प्रतिफल दिनुका साथै सहजरूपमा आफ्नो लगानी फिर्ता लैजान पाएका छन् । युनिलिभरले सेयरधनीलाई २१ सय प्रतिशतसम्म लाभांश दिएको छ ।

    यस्तै एनसेलले १ सय प्रतिशतसम्म लाभांश दिएको छ । डाबर, एसियन पेन्ट्सलगायत बैंकहरुले राम्रो नाफा गरेर लगानीकर्तालाई आकर्षक प्रतिफल दिएका छन । डाबरले उत्पादन क्षमता बढाउन लगानी थपेको छ । स्ट्यान्डर्ड चार्टड बैंकले भर्खरै सेयरधनीलाई २५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

    यो पनि :

    बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा गर्यो २९ अर्ब कारोबार

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend