logo

२०८१ पुष ११ बिहिबार

logo
  • बिहिबार, ११ पुष २०८१
  • कोशी प्रदेशमा एक गाउँपालिका अध्यक्ष र ८ वडा अध्यक्ष पदमा उपनिर्वाचन हुँदै, ग्रामथानको अध्यक्षमा त्रिपक्षिय भिडन्त

    कोशी प्रदेशमा एक गाउँपालिका अध्यक्ष र ८ वडा अध्यक्ष पदमा उपनिर्वाचन हुँदै, ग्रामथानको अध्यक्षमा त्रिपक्षिय भिडन्त

    2.1K
    Shares
    कोशी प्रदेशमा एक गाउँपालिका अध्यक्ष र ८ वडा अध्यक्ष पदमा उपनिर्वाचन हुँदै, ग्रामथानको अध्यक्षमा त्रिपक्षिय भिडन्त

    विराटनगर । आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ । देशभर ४४ पदका लागि हुने उपनिर्वाचनका लागि प्रमुख दलहरुले उम्मेदवारको करिव टुङ्गो लगाईसकेका छन् । कोशी प्रदेशमा मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष र आठ वडा अध्यक्ष पदमा उपनिर्वाचन हुदैछ ।

    झापाको कन्काई नगरपालिका वडा नंं. ६ , तेह्रथुमको लालीगुँरास गाउँपालिका ८ नम्बर वडा, सुनसरीको गढी गाउँपालिका वडा नं. ६, ओखलढुंगाको मोलुङ गाउँपालिका ५ नम्बर वडा, उदयपुरको त्रियुगा नगरपालिका १२ र बेलका नगरपालिकाको ९ नम्बर वडा र ताप्लेजुङको सिरिजङगा गाउँपालिका ३ नम्बरमा वडा अध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।

    मोरङमा स्थानीय तहको उपनिर्वाचन ग्रामथान गाउँपालिकामा हुँदैछ । अध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीवीच तीव्र प्रतिष्पर्धा हुने देखिएको छ । २०७४ मा नेकपा एमालेका शिवनारायण माझी झिनो मतान्तरले विजयी भएका थिए । उनले तत्कालिन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका जयप्रकाश गच्छदार (थारु) लाई ५९ मतान्तरले पराजित गरेका थिए ।

    २०७९ को उपनिर्वाचनमा जयप्रकाशले एमालेका माझीलाई १ हजार ५१२ मतान्तरले पराजित गरे । अघिल्लो हारको बदला लिएका थिए ।

    ०७९ को निर्वाचन अघि तत्कालिन फोरम लोकतान्त्रिक र नेपाली कांग्रेसवीच एकता भएको थियो । एकतापछिको निर्वाचनमा १ हजार ५१२ मतान्तर भन्दा बढीले गच्छदारले पराजित गर्लान भन्ने अड्कल गरिएको थियो । वडामा पनि कांग्रेसको प्रभाव देखिएला भन्ने थियो । तर नतिजा त्यस्तो आएन । ०७४ को निर्वाचनमा फोरम लोकतान्त्रिक र कांग्रेसको मत जोड्दा ७ हजार ८०४ हुन्थ्यो । तर अपेक्षाकृत मत गच्छदारले ल्याउन नसकेको त्यो बेला नै कांग्रेसले समीक्षा गरेको थियो ।

    ०७४ को निर्वाचनमा चौथो भएको नेकपा माओवादी केन्द्रले १ हजार ६०२ मत ल्याएको थियो । ५ वर्षपछि माओवादी केन्द्रले २ हजार ७२७ मत ल्याएर ग्रामथानमा तेश्रो स्थान कायम गरेको थियो । ५ वर्षमा १ हजार १२५ मत बढाएको नेकपा माओवादी केन्द्र अहिले उपनिर्वाचनमा तीव्ररुपमा चुनावी अभियानमा लागेको छ । नेपाली कांग्रेस र एमाले भन्दा अघि नै उम्मेदवार टुङ्गो लगाएर माओवादी चुनावी प्रतिष्पर्धामा छ ।

    एमाले र कांग्रेसले यसै साता मात्रै उम्मेदवारको अन्तिम टुङ्गो लगाएका हुन । कांग्रेसमा १७ र एमालेमा ११ जना आकांक्षी हुँदा पनि दुवै दललाई उम्मेदवार टुङ्गो लगाउन गार्हो परेको थियो ।

    त्रिपक्षीय प्रतिष्पर्धा आगामी उपनिर्वाचनका लागि तीनै दलबाट नयाँ उम्मेदवार अध्यक्षको दौडमा छन् । तीनै जना अध्यक्ष पदमा पहिलो पटक प्रतिष्पर्धा गर्दैछन् ।

    एमालेबाट उम्मेदवार बनेका तुलसीराम विश्वास पहिलो पटक चुनावी दौडमा छन् । राजनीतिको छोटो अनुभव भएपनि उनी ग्रामथानका लागि परिचित युवा हुन । उनी अहिले एमाले ग्रामथान गाउँकमिटीको उपाध्यक्ष हुन ।

    नेपाली कांग्रेसबाट अध्यक्षको दौडमा रहेका बलराम सरदार पुरानो नेता हुन । कांग्रेस महासमितिका पूर्व सदस्य तथा मोरङ कांग्रेसको सल्लाहकार हुन । उनको प्रभाव पालिका भित्र कम रहेको स्वयं कांग्रेस कार्यकर्ताहरु नै बताउने गरेका छन् । नेकपा माओवादीबाट अध्यक्षको दौडमा रहेका नमोनारायण माझी हालै माओवादी प्रवेश गरेका हुन ।

    उनलाई माओवादी सांसद अमनलाल मोदीले अध्यक्षमा उम्मेदवार बनाउनकै लागि पार्टी प्रवेश गराएका थिए । पार्टी प्रवेश लगत्तै अध्यक्षको उम्मेदवार बनाएकोमा उनीप्रति माओवादी कार्यकर्ता रुष्ट रहेको बताईन्छ । तर उनीहरु खुलेर व्यक्त गर्न नसकेको एक माओवादी कार्यकर्ताले बताए । २०७४ मा फोरम लोकतान्त्रिकबाट वडाध्यक्षमा निर्वाचित माझी ०७९ मा अध्यक्षको आकांक्षी थिए ।

    पार्टीले अध्यक्षमा उम्मेदवार नबनाउने भएपछि उनी वडा नं. १ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए । १६४ मतान्तरले वडाध्यक्षमा पराजित भएका थिए ।

    असन्तुष्ट मतदाता निर्णायक

    ग्रामथानको स्थानीय तह उपनिर्वाचनमा असन्तुष्ट मतदाता निर्णायक हुने देखिएको छ । ०७९ को स्थानीय तह उपनिर्वाचनमा राजनीतिक दलहरुले उम्मेदवारको व्यवस्थापन गर्न नसक्दा ग्रामथानमा स्वतन्त्र उम्मेदवारी दिनेहरुको संख्या अधिक थियो । ७ वटा वडा रहेको ग्रामथानमा स्वतन्त्र उम्मेदवारी दिएकाहरुले आफ्नो वडामा राम्रो मत ल्याएका छन् ।

    वडा नंं १ मा स्वतन्त्र उम्मेदवारी दिएका ०७४ का वडाध्यक्ष तथा उपनिर्वाचनमा माओवादी केन्द्रबाट अध्यक्षमा प्रतिष्पर्धामा रहेका नमोनारायण माझीले ५५४ मत ल्याए । उनले वडा नं. १ मा दोश्रो लोकप्रीय मत ल्याएका थिए । वडा नंं ३ मा स्वतन्त्रबाट उम्मेदवारी दिएका रामनारायण खाँले ६३१ मत ल्याए । उनले पनि वडामा दोश्रो लोकप्रीय मत ल्याएका थिए ।

    उनी १३ मत कम हुँदा वडाध्यक्ष हुन सकेनन् । वडा नं. ४ मा रिकेशकुमार सरदार र वडा नं. ६ मा दिपेन्द्र विष्टले पनि राम्रो मत ल्याएका छन् । स्वतन्त्रमा उम्मेदवारी दिएकाहरु सवै पार्टीले मूल्यांकन राम्रो नगरेको भन्दै स्वतन्त्रबाट प्रतिष्पर्धा गरेका थिए । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा पनि नेपाली कांग्रेस, एमाले र माओवादी तीनै दलमा असन्तुष्ट नेताहरु छन् ।

    उनीहरुले निर्वाचनमा प्रभाव पार्ने स्थानीय नेताहरुको दावी छ । उम्मेदवारको टुङ्गो लागेसँगै असन्तुष्टको मत आफ्नो पक्षमा पार्न तीनवटै दलका नेता कार्यकर्ता लागि परेका छन् ।

    वडामा एमाले बलियो

    ७ वटा वडा रहेको ग्रामथानमा एमालेका ५ वटा वडाध्यक्ष छन् । गाउँपालिका उपाध्यक्ष सहित एमाले पालिकामा बलियो छ ।

    ०७४ को निर्वाचनमा एउटा मात्रै वडाध्यक्ष जितेको एमालेले ५ वर्षमा ४ वटा वडाको थप नेतृत्व लिन सफल भएको छ । एमालेले ग्रामथान २ मा २०७४ र ०७९ दुवै निर्वाचनमा विजयी भएको थियो ।

    त्यसबाहेक ४, ५, ६ र ७ नं वडामा आफ्नो प्रभाव पार्न सफल भएको छ । वडागत निर्वाचनमा एमालेले सातवटै वडामा ६ हजार ७६३ मत ल्याएको छ ।

    अध्यक्षका उम्मेदवारले वडाध्यक्षले पाएको भन्दा ६७० मत कम पाएका थिए । एउटा मात्रै वडा जितेको नेपाली कांग्रेसले वडागत रुपमा ५ हजार ६२७ मत ल्याएको थियो । तर उसले गाउँपालिका अध्यक्षमा १ हजार ९७८ मत थप्न सफल भएको थियो ।

    वडास्तरको अंक गणित

    ७ वटा वडा रहेको ग्रामथानमा २०७४ को तुलनामा एमालेले उल्लेखनीय मत बढाएको छ । कांग्रेस र माओवादी केन्द्रको तुलनामा एमालेको मत बढेको छ । तत्कालिन फोरम लोकतान्त्रिक र नेपाली कांग्रेसवीच एकीकरण भएपछि तुलनात्मक रुपमा कांग्रेसको मत बढ्नुपर्ने हो । एकीकरणको असर स्थानीय तह निर्वाचनमा देखिएन ।

    २०७४ मा फोरम लोकतान्त्रिकले ४ वटा, कांग्रेसले २ र एमालेले एउटा वडा जितेका थिए । २०७९ मा एमालेले ५ वटा वडामा जित हाँसिल गर्दा कांग्रेसले एउटा वडा गुमायो भने माओवादी केन्द्रले एउटा थप गर्न सफल भयो ।

    वडा नं. १ मा २०७४ मा एमालेको मत ५१८ थियो ०७९ मा ७०९ पुग्यो । कांग्रेसको ३६४ बाट बढेर ७१८, माओवादीको २९० बाट घटेर २२७ भयो । वडा नं. २ मा एमालेको अघिल्लो निर्वाचनमा ९१५ थियो । ०७९ मा १३९५ भयो । कांग्रेसको ६७३ बाट बढेर १ हजार १९९ भयो ।

    माओवादी केन्द्रको १३३ थियो ३६६ पुग्यो । वडा नं. ३ मा ५ वर्ष अघि एमालेको १८१ थियो ५ वर्ष पछि ४५१ भयो । कांग्रेसको ४५५ थियो ४७८ पुग्यो ।

    वडा नं. ४ मा २०७४ मा एमालेको मत ५६५ थियो । २०७९ मा १ हजार ९३ पुग्यो । कांग्रेसका ६४३ बाट बढेर ८७३ पुग्यो । माओवादी केन्द्रको ४४९ बाट बढेर ५९७ पुग्यो । वडा नं. ५ मा ०७४ मा एमालेको ५३५ थियो ५ वर्षपछि १ हजार १५९ पुग्यो । कांग्रेसको ६२४ बाट बढेर ६३७ भयो ।

    माओवादी केन्द्रको १५७ बाट बढेर ४५० पुग्यो । वडा नं.६ मा एमालेको ०७४ मा ५३० थियो । ०७९ मा ८८३ भयो । कांग्रेसको ७५२ बाट बढेर ८६५ पुग्यो । वडा नं. ७ मा ०७४ मा एमालेको मत २४६ थियो । ०७९ मा १ हजार ७३ पुग्यो । कांग्रेसको ४३८ बाट बढेर ८५७ हुँदा माओवादी केन्द्रको ७७ बाट बढेर १३५ पुग्यो ।

    २०७४ को आधारमा ०७९ मा नेपाली कांग्रेसको मत उल्लेख्य बढ्नुपर्नेमा त्यो अवस्था देखिदैन । तत्कालिन फोरम लोकतान्त्रिकसँग एकीकरणले कांग्रेसमा कुनै प्रभाव परेको देखिदैन । वडागत रुपमा कांग्रेसको मत अपेक्षित छैन । ५ वर्षको अवधिमा एमालेले उल्लेख्य मत बढाएको छ । माओवादी केन्द्रले एउटा वडा बाहेक अन्य वडामा सामान्य बृद्धि गर्न सफल भएको देखिएको छ ।

    नेपालको जनसंख्या २०७८ अनुसार ग्रामथानको जनसंख्या ३६ हजार २६ छ । ५४ जातजातीको बसोबास रहेको ग्रामथानमा कुल जनसंख्याको ५५ प्रतिशत थारु समुदायको बसोबास छ । ११ प्रतिशत ब्राम्हण/क्षेत्री, ८ प्रतिशत बाँतर÷सरदार, ५ प्रतिशत मुसहरको बसोबास छ । २१ प्रतिशत अन्य ४९ जातजाती छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend