मङ्सिर १५ काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ का कारण अर्थतन्त्रमा परेको असर न्यूनीकरणका लागि सरकारले अग्रभागमा रहेर भूमिका खेल्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २३ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोभिड-१९ का कारण अर्थतन्त्रमा परेको असर न्यूनीकरणका लागि सरकार अग्रभागमा रहेर भूमिका निर्वाह गर्न तयार रहेको बताए । तर यसका लागि निजी क्षेत्रले साथ दिनुपर्ने उनले बताए । सरकार अग्रभागमा रहने भए पनि एक्लै केही गर्न नसक्ने भन्दै निजी क्षेत्रसँगको सहकार्य महत्वपूर्ण हुने अर्थमन्त्री पौडेलको भनाइ थियो ।
सरकार, निजी क्षेत्र र सार्वजनिक क्षेत्रबीचको सहकार्यमा कोरोनाले निम्त्याएका चुनौतीलाई सामना गर्दै लगानी वृद्धि गर्ने, उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने विषयमा ध्यान केन्द्रित गर्नुपर्ने बेला आएको उनले स्पष्ट पारे । अर्थतन्त्रलाई अहिलेको स्थितिबाट माथि उकास्न र चलायमान बनाउन अहिले उत्पन्न भएका समस्याहरुको सामना गर्दै लगानी, उत्पादन र रोजगारी वृद्धिमा केन्द्रित भएर सरकार अगाडि बढिरहेको पनि अर्थमन्त्री पौडेलले बताए ।