काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि संवैधानिक परिषदको बैठक स्थगित भएको छ। बैठक आजै ५ बजे बस्ने गरि स्थगित भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान बस्ने गरि बैठक बोलाएका थिए। तर सभामुख सापकोटा अनुपस्थित भएपछि गणपुरक संख्या नपुगेपछि बैठक स्थगित भएको हो।
प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना भने बैठकका लागि बालुवाटार पुगेका थिए।
प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका उपसभामुख र प्रमुख प्रतिपक्षी दलका नेता गरी ६ जना रहने परिषदमा कम्तीमा पाँचजना उपस्थित हुनैपर्ने प्रावधान छ। उपसभामुख पद अहिले रिक्त छ। यस्तोमा सभामुख सापकोटा नगएपछि बैठकमा कोरम नपुगेको हो।