logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • बिपिसी र चिनियाँको १६२ अर्ब लगानी, मर्स्याङ्दीबाट ६०१ मेगावाट बिजुली उत्पादन हुँदै

    बिपिसी र चिनियाँको १६२ अर्ब लगानी, मर्स्याङ्दीबाट ६०१ मेगावाट बिजुली उत्पादन हुँदै

    588
    Shares
    बिपिसी र चिनियाँको १६२ अर्ब लगानी, मर्स्याङ्दीबाट ६०१ मेगावाट बिजुली उत्पादन हुँदै

    काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी) ले तीन चिनियाँ कम्पनीहरुको साझेदारीमा मर्स्याङ्दी वेसिनमा ६ सय १ मेगावाटका तीन ठूला अर्धजलासय आयोजना बनाउन लागेको छ ।

    अर्धजलासय आयोजना बनाउन १ अर्ब २० करोड अमेरिकी डलर (करिव १ खर्ब ६२ अर्ब रुपैयाँ) लगानी हुने भएको छ । बिपिसीले चिनियाँ कम्पनीमार्फत बनाउन लागेको आयोजनाहरुमा ३ सय २७ मेगावाटको माथिल्लो मर्स्याङ्दी–२, १ सय ३९ मेगावाटको तल्लो मनाङ मर्स्याङ्दी १ सय ३५ मेगावाटको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजना हुन् । तीन आयोजनाको क्षमता ६ सय १ मेगावाट छ । तीनवटै आयोजना शृंखला (क्यासकेड) खाकामा निर्माण हुने भएको छ ।

    यस मध्ये १ सय ३५ मेगावाटको मनाङ–मर्स्याङ्दी क्यास्केड जलविद्युत आयोजनालाई लगानी जुटेको छ । चीनको निर्यात–आयात (एक्जिम) बैंकले ऋण आयोजनामा लगानी सम्झौता गरेको छ । अन्य दुई आयोजनाको काम प्रक्रियामा रहेको बिपिसीले जनाएको छ । मनाङ मर्स्याङ्दी आगामी चार वर्ष २०२८ मा सम्पन्न हुने भएको छ ।

    तीन ठूला आयोजना बनाउन चीन र नेपाली साझेदारमा ठूलो लगानी हुन लागेको बिपिसीका अध्यक्ष पद्म ज्योतिले बताएका छन् ।

    एक्जिम बैंक, बिपिसी र चिनियाँ कम्पनीबीच ऋण लगानी सम्झौता भएको छ । आयोजना मनाङ–मर्स्याङ्दी हाइड्रोपावरले निर्माण गर्न लागेको छ । आयोजना बनाउन कूल ३३ अर्ब ३७ करोड रुपैयाँ (३२ करोड ३० लाख डलर) लागत अनुमान गरिएको छ । अहिलेसम्म जलविद्युतमा आउन लागेको ठूलो चिनियाँ लगानी हो ।

    आयोजना आउँदो सन् २०२८ मा सञ्चालनमा ल्याउने योजना रहेको बिपिसीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) उत्तरकुमार श्रेष्ठले बताएका छन् । होल्डिङ कम्पनीमार्फत आउँदो केही वर्षमा थप १ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य छ ।

    जलविद्युतमा लगानी गर्न बिपिसी र ३ वटा चिनियाँ कम्पनीले एससीआइजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्रालि स्थापना गरेका छन् । तीन आयोजना बनाउन एससिआइजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट इन्भेस्टमेन्ट कम्पनी प्रालि स्थापना भएको छ । एससिआइजीमा बिपिसीको अतिरित्त जिचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी लिमिटेड, क्युआइइसी इन्टरनेसनल कम्पनी लिमिटेड र एससिआइजी इन्टरनेसनल लिमिटेडको लगानी रहने भएको छ ।

    एससिआइजीमा बीपीसीका २० प्रतिशत र बाँकी चिनियाँको छ । जसअनुसार सिचुवान इन्भेष्टमेन्ट ग्रुप कम्पनी लिमिटेडको ५१, चेन्दु सिच्याङ इन्भेष्टमेन्ट ग्रुप कम्पनी लिमिटेडको १७ र क्विङयाङ इन्जिनियरिङ कन्सल्टिङ कम्पनी लिमिटेडको १२ प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । १ अर्ब ९० करोड रुपैयाँ पुँजी रहने होल्डिङ कम्पनीमा स्वपुँजी लगानी रहेको छ ।

    माथिल्लो मर्स्याङ्दी–२ र तल्लो मनाङ मर्स्याङ्दी आयोजनाको सरकार र एससिआइजीबीच आयोजना विकास सम्झौता (पिडिए) हुन बाँकी छ । नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता (पिपिए) पनि हुन बाँकी छ । पिडिए र पिपिए भएपछि आयोजनामा लगानी जुटाउन थालिने भएको छ । १ सय ३५ मेगावाटको आयोजनामा चाइना एक्जिम बैंकको ऋण लगानी हुने भएको छ । अन्य आयोजनामा चाइना एक्जिमको ऋण लगानी नहुन पनि सक्ने सिइओ श्रेष्ठको भनाई छ ।

    बिपिसीले नेपालमा १ हजार मेगावाट बिजुली उत्पादन गर्न २ खर्ब रुपैयाँ बढी वैदेशिक लगानी ल्याउन २०१८ मा लगानी चिनियाँसँग सम्झौता गरेको हो । मनाङ मस्र्याङदीको काम अघि बढेकाले दुई आयोजनालाई पिडिए र पिपिए गर्न समस्या नहुने देखिएको छ । यस्तै अमेरिकाको फिच रेटिङ्स लिमिटेडले नेपालको सार्वभौम शाख (कन्ट्री रेटिङ) डबल बी माइनस स्कोर दिएको छ । यसले गर्दा पनि जलविद्युतमा विदेशी लगानी ल्याउन सहज हुने देखिएको छ ।

    पिपिएअनुसार सुक्खायामको ६ महिनामा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र बखायामको ६ महिनामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा पिपिए भएको छ । वार्षिक ३ प्रतिशतका दरले ८ पटक मूल्यवृद्धि पाउनेछ ।

    आयोजना मनाङको नासो र चामे गाउँपालिकामा निर्माण हुने भएको छ । आयोजनाबाट उत्पादित बिजुली मनाङको धारापानीस्थित प्राधिकरणको २ सय २० केभी धारापानी सबस्टेसनमा जोड्ने गरी प्रसारण सम्झौता (कनेक्सन एग्रिमेन्ट) भएको छ ।

    बिपिसीले ३० मेगावाटको न्यादी, १२ मेगावाटको झिम्रुक र ९ मेगावाटको आँधीखोला आयोजना सञ्चालन गरिरहेको छ । बिपिसीले साढे ३७ मेगावाटको काबेली–ए आयोजना निर्माण गरिरहेको छ । मर्स्याङ्दी बेसिनमा रहेको चिनो खोलाबाट ७.९ मेगावाट बिजुली उत्पादनको तयारी बिपिसीले गरेको छ । यसमा चिनियाँ लगानी नहुने सिइओ श्रेष्ठले जानकारी दिए ।

    अहिले बिपिसीले १ सय ७४ मेगावाट क्षमताको मुगु कर्णाली जलविद्युत आयोजनाको संभाव्यताको अध्ययन सकिएको बिपिसीले जनाएको छ । यस्तै आयोजनाको जडित क्षमता पनि फिक्सड भएको छ ।

    बिपिसीको चुक्ता पुँजी ३ अर्ब ४० करोड ९० लाख रुपैयाँ छ । यस्तै चिनियाँ कम्पनी जिचेङ राज्य स्वामित्वको कम्पनी हो । कम्पनी रियलइस्टेटमा लगानी र विकासमा संलग्न छ । कम्पनीको कूल सम्पत्ति १८ अर्ब १० करोड डलर सम्पत्ति रहेको छ ।

    यो पनि :

    १३५ मेगावाटको मनाङ–मस्र्याङ्दीलाई जुट्यो लगानी, चार वर्षमा सक्ने


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend