काठमाडौं । सहास ऊर्जा लिमिटेडले बनाउन लागेको ३ सय ४१ मेगावाटको बुढीगण्डकी अर्धजलासय जलविद्युत आयोजनामा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआइएमबी) को अगुवाइमा ऋण लगानी हुने भएको छ । एनआइएमबीको अगुवाइमा ५२ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी हुने भएको सहास ऊर्जाका अध्यक्ष हिमप्रसाद पाठकले सुनौलो नेपाललाई बताए । लिड बैंक एनआइएमबी भए पनि कन्र्सोर्टियममा अन्य बैंकसँग छलफल चलिरहेको उनले सुनाए ।
आयोजना बनाउन कूल ७० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये ७५ प्रतिशत बैंकको ऋण र बाँकी २५ प्रतिशत संस्थापकको स्वपुँजी हुने गरी लगानी संरचना तयार पारिएको छ । ५२ अर्ब ५० करोड रुपैयाँ बैंकको ऋण र बाँकी १८ अर्ब ५० करोड रुपैयाँ संस्थापकको स्वपुँजी खर्च हुने अध्यक्ष पाठकले बताए । आयोजनामा ५१ प्रतिशत हिस्सा सहास ऊर्जाको हुनेछ । प्रतिमेगावाट लागत २० करोड ५३ लाख रुपैयाँ हुने अनुमान गरिएको छ ।
आयोजनाले आउँदो तीन महिनाभित्र निर्माणपूर्वको काम सुरु गर्न लागेको छ । अडिट सुरुङलगायत आवास र क्याम्प निर्माण सुरु गर्ने तयारी कम्पनीको छ । निजी लगानीमा बन्न लागेको बुढीगण्डकी हालसम्मकै ठूलो जलविद्युत आयोजना हो ।
छिट्टै लगानी जुटाएर आगामी २०८२ भदौदेखि आयोजना निर्माण सुरु गर्ने योजना रहेको सहास ऊर्जाका अध्यक्ष पाठकले बताए । उनले निर्माण सुरु भएको पाँच वर्षमा आयोजनाबाट बिजुली बाल्ने योजना रहेको बताए । आयोजनाको काम २०८७ पुस १५ मा सक्ने लक्ष्य रहेको छ ।
नेपाल विद्युत प्राधिकरण र टाइम्स इनर्जीबीच ३० वर्षका लागि विद्युत खरिदबिक्री सम्झौता (पिपिए) भइसकेको छ । अर्धजलासय आयोजना भएकाले मुख्य सुक्खा समयमा प्रतियुनिट १०.५५, सामान्य सुक्खायाममा ८.४० र वर्खायाममा ४.८० रुपैयाँमा पिपिए भएको सहास ऊर्जाले जनाएको छ । आयोजनाको १३.६७ र स्वपुँजीमा १६.९९ प्रतिशत प्रतिफल हुने देखिएको छ ।
सुक्खायाममा पनि आयोजना दैनिक ५ घन्टा पूर्णक्षमतामा सञ्चालन गर्न सकिने छ । दैनिक ५ घन्टा पिकिङ हुने गरी आयोजना डिजाइन गरिएको छ ।
यस्तै सरकारले पनि आयोजनाबाट बिजुली उत्पादन गर्न अनुमतिपत्र (लाइसेन्स) दिइसकेको छ । वातावरणीय प्रभाव मुल्यांकन (इआइए) स्वीकृती अन्तिम चरणमा रहेको, पहुँच मार्ग विस्तार भइसकेको, वित्तीय व्यवस्थापन अन्तिम चरणमा रहेको छ ।
आयोजनाबाट वार्षिक १ अर्ब ८६ करोड ७७ लाख ७० हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको अध्ययनले देखाएको छ ।
आयोजनाको मुल सुरुङको लम्बाइ ६.८ किलोमिटर हुने भएको छ । यो बूढीगण्डकी अर्धजलासय युक्त परियोजना हो ।
आयोजना साहस ऊर्जाको मुख्य लगानी रहेको र टाइम्स इनर्जीले निर्माण गर्न लागेको हो ।
सहास ऊर्जाले ५ मेगावाट क्षमताको रुरु जलविद्युत परियोजना र ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविद्युत परियोजना सफलता पुर्वक सम्पन्न गरी राष्ट्रिय प्रसारणमा जोडिइसकेको छ ।
परियोजनाको बाँध क्षेत्र गोरखाको चुमनुब्री गाउँपालिकाको वडा नं ३ र विद्युत गृह धार्चे गाउँपालिकाको वडा नं ३ मा पर्दछ । बाँध क्षेत्र र विद्युत गृहबीच १० किलोमिटर सडक रहेको आयोजना राजधानी काठमाडौंबाट १ सय ७० किलोमिटरको दुरीमा छ ।
सहास ऊर्जाले आयोजना बनाउन १ सय प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ । गत कात्तिक ४ गते सम्पन्न साधारणसभाले हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गरिसकेको छ । विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति हुन बाँकी रहेको अध्यक्ष पाठकले बताए ।
बोनस सेयरपछि साहस ऊर्जाको चुक्ता पुँजी बढेर ३ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी दोब्बर भई ७ अर्ब ५६ करोड रुपैयाँ पुग्ने छ ।
आयोजनाबाट उत्पादन हुने बिजुली २ सय २० केभी प्रसारण लाइन हुँदै ४५ किलोमिटर दुरीमा रहेको नुवाकोटमा बन्ने ४ सय केभी क्षमताको रातमाटे सबस्टेसनमा समाहित हुनेछ ।
यो पनि :
७० अर्बमा ३४१ मेगावाट बुढीगण्डकी आयोजना बनाउँदै सहास ऊर्जा, निर्माणपूर्वका काम सुरु हुँदै