काठमाडौँ । ओहो ! नेपालमा यस्तो पनि ठाउँ छ ? मुस्ताङ पुगेपछि झस्याङ्ग भए । सधै हरियाली डाडाँकाडा मात्र देखेका यी आँखाले अचानक मरुभूमि देख्दा मुखबाट गीत फुत्की हाल्यो ‘मरुभूमि बालुवामा सपनाको खेती…’ सँगैका साथीहरुले पनि गीतमा भाका मिलाए ।
आँखाले भ्याएसम्म नाङगा डाँडा देखिन्थ्ये । बल्ततल्ल कतै कतै साना साना रुख देखिए पनि सबै पात झरेका अनि नाङगा डाँडासँग सुहाउँदा ।
काठमाडौैँबाट रात्री बसमा यात्रा गर्दै बिहान करिब ५ बजे पोखरा ओर्लिएका हामीलाई लिन स्करपिओ ७ बजे आइपुग्यो । अनि अघि बढ्यो पर्वतको कुस्मामा रहेको लामो र अग्लो झोलुङे पुल हुँदै बागलुङ कालिका दर्शनपछि हाम्रो मुस्ताङ यात्रा ।
रुप्से झरना
नेपालको प्रमुख झरनाहरु मध्येको एक हो रुप्से । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना क्षेत्रको अन्नपूर्ण चक्रीय पदमार्गमा रहेको यस झरनामा मुस्ताङ भ्रमणमा आउने प्रायः सबै पर्यटकले केही समय बिताउने गर्छन् । पोखराबाटा यात्रा सुरु भएको ९ घण्टापछि हामी रुप्से झरना पुग्यौं । झरनामा उभिएर फोटो र भिडियो खिच्ने आन्तरिक र बाह्य पर्यटनहरुको भीड थियो ।
हामी पनि त्यही भीडमा मिसियौँ र फोटो र भिडियो खिच्यौँ । उसै त चिसो ठाउँ शरीरले जाडो महसुस गर्न थालिसकेको थियो । तर झरनाबाट झरेको पानीका बाछिटा र झरनाको पानीमा रमाइलो गर्न छाडेनौँ । १ घण्टा झरनामा बिताएपछि हाम्रो यात्रा तल्तो मुस्ताङतर्फ अघि बढ्यो ।
तल्लो मुस्ताङ अनि मुक्तिनाथ
तल्लो मुस्ताङ पुग्दा राति ८ बजिसकेको थियो । प्रायः सबै होटल पर्यटकले खचाखच भरिएका थिए । तीन चार वटा होटलमा बुझेपछि बल्ल एउटामा हामीले पनि ठाउँ पायौँ । बिहानीको उज्यालोको पर्खाइमा कतिबेला निधायौँ पत्तै भएन । बिहानको मनोरम दृश्य हेर्न हामी सबेरै उठिसकेका थियौँ । मोतिका दानामा सजिएका हिमालका थुम्का र नांगा पहाडहरु सुर्याैदयमा हिराझै चम्किरहेका थिए ।
मुस्ताङ जिल्लाको हिमाली भूभागमा अवस्थित समुन्द्र सतहदेखि १३ हजार भन्दा माथिको उचाइमा रहेको मुक्तिनाथको मनोरम दृश्य हेर्दै हामी मन्दिर दर्शनका लागि निस्कियौँ । करिब आधा घण्टा हिडेपछि मन्दिर पुग्यौँ । मन्दिरमा दर्शनार्थी भक्तजन आउने क्रम सुरु भैसकेको थियो । मुख्य मन्दिर भने खुलिसकेको थिएन । ७ बजेपछि मात्र मन्दिर खुल्ने भएपछि हामी पनि नुहाउने तरखरमा लाग्यौं । मुक्तिनाथ पुगेर १०८ धारामा नुहाउने र दुईटा पोखरीमा डुबुल्की मार्ने परम्परा रहेकाले हामीले पनि सोही अनुसार कर्म गर्यौं । मन्दिर दर्शन गरेर फोटो खिचायौं । मुक्तिनाथ मन्दिरबाट नजिकै रहेको निरन्तर बलिरहने ज्वाला, अवलोकिकितेश्वरको मूर्ति तथा गुम्वा घुमेपछि सुरु भयो उपल्लो मुस्ताङग अर्थात माथिल्लो मुस्ताङको यात्रा ।
माथिल्लो मुस्ताङ
यात्राको दोस्रो दिन तल्लो मुस्ताङबाट ७ घण्टा यात्रा गरेपछि हामी माथिल्लो मुस्ताङको लोमन्थाङ पुगेर बस्यौँ । वरिपरी डाँडाले घेरिएर बीचमा बसेको वस्ती । वाउ ! हेरिरौँ लाग्ने दृश्य ।
यस्तो लाग्छ, कुनै सिपालु कालिगढले बनाए जस्तो देखिने धर्ती हो यो । माथिल्लो मुस्ताङ प्राकृतिक सौन्दर्य र ऐतिहासिक धरोहरको बेजोड नमुना हो ।
यहाँ उभिएपछि जो कोहिको मन फुरुंग हुन्छ ।
लो निफु गुम्बा
सिजा जोंग गुफा
कोरला नाका
कोरला नाका तिब्बत र माथिल्लो मुस्ताङ बीचको पहाड हो । यो ४६ सय ६० मिटर (१५ हजार २९० फिट) उचाइमा अवस्थित छ । उपल्लो मुस्ताङको लोमन्थाङबाट २ घण्टा यात्रापछि पुगिन्छ कोरला नाका । चीन र नेपालको सिमाना छुटिएको यो स्थानमा नेपालको २४ नम्बरको पिल्लर छ । चीनतर्फ विशाल भवन बनेको छ भने नेपालको भूमिमा संरचना बनेको छैन । यहाँ चीनबाट सामान ल्याएर मुस्ताङका नागरिकहरुले व्यापार गर्दै आएका छन् । उपल्लो मुस्ताङ पुगेका अधिकांश पर्यटकहरु कोरला नाका पनि पुग्ने भएकाले यहाँ पर्यटकको मौसममा सानो बजार लाग्ने गरेको छ । यात्राको तेस्रो दिन हामी कोरला नाका पुगेका थियौँ । त्यहाँ पुग्दा व्यापारीहरु आफूले बेच्न राखेका सामाग्रीहरु आन्तरिक र बाह्य पर्यटकलाई बेच्न व्यस्त थिए । पिलर नम्बर २४ मा नेपालको झण्डा लिएर फोटो खिच्नेहरुको भिड थियो ।
त्यहाँ बेजोडले चिसो सिरेटो चलिरहेको थियो । यात्राका क्रममा मरुभूमिमा पाइने मृगहरु कतै कतै देखिन्थे । चिसो बढिसकेकाले होला गोठालाहरु च्याग्राका बथानहरु बेसी झार्दै थिए ।
स्याउको गाउँ मार्फा
स्याउको गाउँ भनेर चिनिने मुस्ताङको मार्फ पछिल्लो समय पर्यटकको आकर्षकको ‘केन्द्रबिन्दु’ बनेको छ । हिमालको काखमा अवस्थित यो गाउँ र यहाँ रहेको स्याउ बगान निकै लोकप्रिय छ । कोरला नाकाको घुमफिरलाई बिट मार्दै सागुँरो र अफ्ठयारो बाटोका खाल्डा खुल्डी छल्दै छिचोल्दै हामी हिमाल पारिको गाउँ मार्फ पुग्दा बेलुकाको ७ बज्न लागेको थियो । स्कुल र सहकारीबाट टुर आउने आन्तरिक पर्यटक धेरै भएकाले हामीलाई होटल खोज्नै धौ धौ पर्यो । मार्फा गाउँका करिब सबै होटल भरिभराउ थिए । हामीलाई बास पाउन हम्मे हम्मे परिसकेको थियो । एक घण्टा जति पुरै मार्फा गाउँ डुलेपछि बल्लबल्ल एउटा होटलमा हामीले ठाउँ पायौँ । साँझमा झिलिमिलिमा सजिएको मार्फ गाउँ घुम्मे हाम्रो योजना थियो । तर, कोठा खोज्दा खोज्दै राति घर्की सकेकाले हामी कही गएनौँ । सानो गाउँ अनि वरिपरी स्याउका बगैँचा । सबै घर एकनासका । बिहानको उज्यालोसँगै मस्तिष्कमा मार्फा गाउँ कदै भयो ।
जेरी गल्ली र कबड्डी गल्ली यहाँको चर्चित गल्ली । ती गल्लीहरुमा उज्याले भएसँगै भोटे पहिरन, शेर्पा पहिरन लगाएर फोटो खिच्ने, टिकटक र भिडियो बनाउनेको भीड लागि सकेको थियो । ३ सय रुपैयाँ तिरेपछि भाडामा विभिन्न जातजातिको पहिरन पाइने भएकाले हामी पनि ठाउँ अनुसारको भेषमा उत्रियौँ अनि घुम्यौँ मार्फा गाउँ । स्याउ बगैँचामा साना स्याउ मात्र बाँकी थिए । व्यापारीहरुले ठूला स्याउ टिपेर बजारमा पठाइसकेका रहेछन् । साना स्याउ भने टिपी भ्याइ नसकेकाले हामीले पनि बगैँचामा गएर अवलोकन गर्न भ्यायौँ ।
हामी लाग्यौं घान्द्रुक
तातोपानी, बेनी बजार र गुहेश्वरी मन्दिर हुँदै हामी घान्द्रुक पुग्यौँ । अन्नपूर्ण पद यात्रा मार्गमा पर्ने यो ठाउँ स्वदेशी र विदेशी पर्यटकका लागि परिचित भइसकेको छ । घान्द्रुक कास्की जिल्लामा पर्छ । पर्यटक आकर्षित गर्न सफल घान्द्रुक पुग्ने १८ किलोमिटर सडक भने कन्तविजोग ।
त्यस्तै आगन्तुकको मनोरञ्जनको लागि साँझको समयमा लोकगीतमा गरिने नाचगान होमस्टेको अर्को रमाइलो पाटो रहेछ । आफ्नै किसिमको संस्कृतिक र भौगोलिक दृष्टिले अति सुन्दर घान्द्रुककबाट विभिन्न हिम शृङ्खला र सूर्योदय हेर्न पाइन्छ । यहाँबाट माछापुछ्रे, हिमचुली, अन्नपूर्ण हिमाल अवलोकन गर्नसमेत पाइन्छ । नजिकै हिमालको काखमा बसेको अनुभव गराउँछ घान्द्रुकले । ढुंगाले छाएका घरहरु । ढुंगा छापेर बनाइएका बाटो र सिँढीहरु । अनि त्यहाँ पुगेका पर्यटकहरुका लागि विशेष पहिरन भनेर राखिएका गुरुङ पहिरनमा सजिएका हामी ।
बस्ने सुविधा र सडकको अवस्था
अहिले मुस्ताङमा साना ठूला गरी तीन सय २५ भन्दा बढी होटलहरु रहेका छन् । यी होटलमा एक दिनमा सात हजार जनाको हाराहारीमा पर्यटक बस्न सक्ने क्षमता रहेको छ । होटलहरु आकर्षण ढंगले सजाइएका छन् । पर्यटक आगामन बढेसँगै पछिल्लो समयमा यहाँ होटल खोल्ने क्रम बढेको छ । सबै होटल शहर बजारका सुविधा सम्पन्न होटल भन्दा कम थिएनन् । यी होटलहरुमा विभिन्न प्रकारका नेपालीखाना र जडीबुटीबाट बनेका अचारका स्वाद चाख्न पाइन्छ । सुविधायुक्त होटल साथै सडक यातायातको सुविधाका कारण पनि मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटक तानिएका छन् । कात्तिकमा सडकबाट एक लाख ११ हजार ६५५ र हवाईमार्गबाट एक हजार ६४५ जना पर्यटक मुस्ताङ पुगेको सार्वजनिक तथ्याङमा छ । मुस्ताङ घुम्दा एक जना पर्यटकले सरदर न्युनतम १५ हजार देखि २० हजार रुपैयाँसम्म खर्च गर्छन् ।
हवाई मार्ग तथा स्थलमार्ग भएर मुस्ताङ पुग्न सकिन्छ । म्याग्दी हुँदै सडकमार्ग, मुस्ताङको थोराङ्ला भञ्ज्याङ हुँदै पैदलमार्ग र पोखराबाट हवाईमार्ग भएर यहाँ पुगिन्छ । ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङमा धार्मिक र पर्यटकीयस्थल रहेका छन् । समय मिलाएर एक पटक पुग्नु पर्ने पर्यटकी स्थल हो मुस्ताङ ।