काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुनैपनि राजनीतिक दलहरु कहिल्यै पनि स्वतन्त्र हुन नसक्ने बताएका छन् । बिहीबार कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै यस्तो बताएका हुन् ।
उनले २०७९ को निर्वाचनपछि अहिलेसम्म आइपुग्दा केही मानिसहरुको नारा नै पुरानाको दिन गए भन्ने विषयले आम मानिसहरुमा दलहरुकै दिन गए भन्ने मनोविज्ञान भएको बताए । उनले दलको नाम स्वतन्त्र राखेर मानिसहरुको असन्तुष्टिलाई क्याच गरेर ठगी गरेको टिप्पणी गरे । उनले यस्तो भाष्यले दलहरुले वर्षौंदेखि शासन गरे, अब मानिसहरु स्वतन्त्र हुनुपर्छ भन्दै राजनीतिक दलहरुप्रति केही असन्तुष्टि बाहिर आएको बताए ।
उनले मुलुकमा दलको विकल्प दल नै हुने र लोकतन्त्रको विकल्प फेरि पनि लोकतन्त्र नै भएको बताए । उनले स्वतन्त्र मनोविज्ञानलाई क्याच गर्नको लागि एउटा दलले आफ्नो नाम नै स्वतन्त्र राखेको बताए । उनले देशमा हरेक नागरिकलाई स्वतन्त्र नेपाली कांग्रेस पार्टीले बनाएको दाबी गरे ।
उनले कुनै दललाई नरोज भन्ने अभिव्यक्ति मानिसहरु माथिको हुकुम भएको बताए । उनले पुरानोका दिन गए भनेर दलगत पद्धतीको विरोध गर्ने मनोविज्ञानसँग नेपाली काग्रेस सहमत नभएको बताए । उनले कुनैपनि पार्टी जन्ममितिको आधारमा पुरानो नहुने बताए । उनले राजनीति दर्शन, आर्थिक दर्शन, सामाजिक दृष्टिकोण पुरानै बोक्ने अनि जन्म मिति निर्वाचन आयोगमा दर्ता गरेको कारणले मात्रै नयाँ भन्ने खालको मनोविज्ञान बनाउनु उचित नभएको बताए ।
उनले नेपाली कांग्रेस अहिलेको विद्यमान सरकारलाई बलियो बनाउनको लागि पनि उपनिर्वाचनमा मत दिनुपर्ने बताए । उनले उपनिर्वाचनमा कांग्रेसले जित्दैगर्दा नेपाली कांग्रेसका सरकारमा सहभागि मन्त्रीहरुको आत्मबल उच्च हुने बताए । उनले सरकार र सविधान बलियो बनाउन मात्रै नभएर सहकारी ठगी समस्या समाधानका लागि पनि नेपाली कांग्रेसलाई मत आवश्यक परेको बताए ।
उनले कांग्रेसले संसदमा सहकारी ठगी विषयमा लिएको अडानको कारण सहकारीमा ठगीमा मजदुर, किसानहरुले न्याय पाउने अवस्था बनेको बताए ।