काठमाडौं । मंगलबार युएईको सारजाह क्रिकेट मैदानमा भएको एसिसी यु-१९ एसिया कपमा नेपालले अफगानिस्तानलाई एक विकेटले पराजित गरेको छ।
अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ रोजेको थियो। अफगानिस्तानले ३५.४ ओभरमा सबै विकेट गुमाउँदै १२३ रन बनाएको थियो।
नेपालले ४१.३ ओभरमा ९ विकेटको क्षतिमा १२४ रन बनाएको हो। एसिसी यु-१९ एसिया कपमा नेपालको यो पहिलो जित हो।
नेपालका लागि नरेन साउँदले सर्वाधिक २६ रन बनाए। कप्तान हेमन्त धामीले २२ रन र अर्जुन कुमालले २१ रन बनाए।
त्यस्तै, अफगानिस्तानका फैसल खानले अर्धशतक प्रहार गरे।
नेपालका कप्तान हेमन्त धामीले अफगानिस्तानका ओपनर तथा कप्तान महबुब खानलाई शून्यमा बोल्ड गरे। अभिषेक तिवारीले अर्का अफगान ओपनर उजाइरुल्लाह निएजाइलाई पनि शून्यमै बोल्ड गरे।
समूह ‘बी’ मा रहेका दुवै टोली यसअघि नै समूह चरणबाट बाहिरिसकेका छन्।