काठमाडौं । एनपिएलमा कर्णाली याक्ससँंग पराजित भएपछि चितवन राइनोजका अलराउण्डर रवि बोपराले नेपाली खेलाडीमा हिटिङ पावर कमी रहेको बताएका छन् ।
खेलपछिको पत्रकार सम्मलेनमा रविले स्कोर गर्न नेपाली क्रिकेटरले हिटिङ पावरमा संघर्ष गरिरहेको बताए । यसका लागि पावर ट्रेनिङ गर्नुपर्ने उनको सुझाव छ ।
उनले टस हारेर पहिले ब्याटिङ गर्न सहज नभएको बताए । बिहानको पिचमा खेल्न गाह्रो भएको र त्यो पिचमा १३० रनको योगफल राम्रै बनाएको उल्लेख गरे । पिचअनुरूप यो लक्ष्य रक्षा गर्न पर्याप्त नै रहेको उनको भनाई छ । रविले आफ्ना बलरले पनि राम्रै बलिङ गरेको बताए ।
उनले आफू युएइबाट आएको उल्लेख गर्दै नेपालका मानिस र खाना धेरै राम्रो रहेको भन्दै प्रशंसा पनि गरेका छन् । उनले कप्तान कुशल मल्ल धेरै रमाइलो रहेको बताए । साथै कुशल राम्रो क्रिकेटर पनि रहेको उल्लेख गरे ।
कर्णालीका अलराउण्डर जिसान मक्सुदले स्लो पिचमा टस जित्नु सुखद् पक्ष रहेको बताए । आफूहरुले टस जित्नु र राम्रो बलिङ नै जितको माध्यम रहेको उनले उल्लेख गरे । अन्तिम ओभरमा चितवनले राम्रो बलिङ गरेको बताए । तर त्यो बलमा जित निकाल्नु सहज नभएको उल्लेख गरे ।
पहिलो दुई खेलमा हार व्यहोर्दा धेरै दबाबमा नरहेको उल्लेख गर्दै मक्सुदले अनुभवी शिखर धवन र अन्य सिनियर खेलाडीलाई एक अर्काले प्रोत्साहन गरेको बताए ।