पुस १२ काठमाडौँ, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लागू गर्नुपर्ने वताएका छन् ।आइतबार मन्त्रालयमा पदभार ग्रहण गरेपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नवनियुक्त उर्जामन्त्री रायमाझीले कुनैपनि वैदेशिक लगानीलाई अस्वीकृत गर्न नहुने भन्दै एमसीसीलाई लागू गरेर अगाडि बढ्नुपर्ने बताएका छन्।
एमसीसी सम्झौतामा देशको स्वाभिमान कमजोर पार्ने विषय भएमा सच्याएर भएपनि कार्यान्वयनमा लैजानु पर्ने बताउदै उनले भने ‘एमसीसीमा कतिपय सम्झौता गर्दाखेरी देशको स्वाभिमानलाई कमजोर पार्ने खालका बुँदाहरु छन भने त्यसलाई सुधार गर्न सकिन्छ तर हामीले विदेशी लगानीलाई ल्याउन हुन्न भन्ने कुरा, यो अपराध नै हो, यो हाम्रो देश कोल्याप्स हुन्छ, हाम्रो देशमा आक्रमण हुन्छ भन्ने कुराहरुमा मलाई विश्वास छैन ।
’पछिल्लो समयका हरेक सरकारले एमसीसीलाई अनुमोदन गर्दै आएकोले पनि पास गरेर अगाडि बढ्नुपर्ने बताए । एमसीसी लागू गर्न नसक्ने हो भने भारतसँग जोडने ट्रान्समिसन लाइन निर्माण हुन नसक्ने र यसले देशको उर्जा उत्पादनमा ठूलो नोक्सानी पुग्छ उनले भने। साथै टोपबहादुर रायमाझीले देशको राजनीतिक प्रणालीलाई बचाउन मन्त्री पद स्वीकार गरेको बताएका छन् ।
आइतबार ऊर्जा, जलस्रोत तथाा सिंचाइ मन्त्रालयमा पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री रायमाझीले देशलाई अराजकतातर्फ जान नदिन र प्रणालीलाई बचाउन मन्त्री पद स्वीकार गरेको बताए ।मन्त्री रायमाझीले सरकारलाई बेवारिसे हुन नदिने र विकास निर्माण तथा समृद्धिका कामलाई गम्भिरतापूर्वक लिई जिम्मेवारी पूरा गर्ने बताए । ‘देश असाध्यै विषम परिस्थितिमा छ । यदि हामीले सिस्टमलाई बचाउनको निम्ति मेहनत गरेनौं भने यो सिस्टम नै कोल्याप्स भएर, धरासायी भएर, अराजकता फैलने दिशातर्फ अघि जाने सम्भावना भएको हुँदा एकातर्फ त्यो सिस्टमलाई बचाउन मध्यावधि चुनावमा जाँदैछौ ।
त्यो चुनाव सम्पन्न गर्नुछ । सरकारलाई सडकमा लगेर लावारिस गर्नुभएन । सरकारलाई सम्हाल्नुपर्यो । देशको विकास निर्माण, समृद्धिको काम, भइरहेका कामलाई निरन्तरता दिने र नयाँ कामलाई अगाडी बढाउने कामलाई हामिले गम्भीरतापूर्वक लिनुपर्छ । दुवै जिम्मेवारी सम्हाल्नुपर्छ ।’ मन्त्री रायमाझीले राजनीतिक प्रणालीलाई निरन्तरता दिन र देशमा स्थिरताका लागि मध्यावधि निर्वाचनमा जानुको विकल्प नरहेको पनि बताए। देशको विकास र समृद्धिलाई अवरुद्ध हुन नदिने लक्ष्य सहित आफू सरकारमा उपस्थित भएको पनि मन्त्री रायमाझीले बताए । उहाँले मन्त्रालयमा रहेर ऊर्जा क्षेत्रलाई क्रमश निर्यात हुने तर्फ अगाडी बढाउने बताए ।