काठमाडौं । नेपाली कांग्रेसका नेताहरु विभिन्न बाहना बनाएर जिल्ला दौडाहामा निस्कन थालेका छन् । आसन्न १५ औं महाधिवेशनमा नयाँ नेतृत्व चयन हुने भएकोले यसैका लागि उनीहरुको यो दौडधुप शुरु भएको जानकारहरु बताउँछन् ।
नयाँ नेतृत्वका आकांक्षीमध्येका एक डा.शेखर कोइरालाले कोशी प्रदेशस्तरीय भेला गरेको केही दिनमै पार्टी सभापति शेरबहादुर देउवा पूर्वका कार्यकर्ताहरुलाई भेट्ने क्रममा कोशी प्रदेशस्तरीय पार्टी सम्मेलनका लागि विराटनगर पुगेका छन् ।
उनीसँगै पार्टी सभापतिमा नेतृत्वका आकांक्षी मध्येका एक पूर्व महामन्त्री डा.शशांक कोइराला, कृष्ण सिटौला प्रवक्ता डा. प्रकाशशरण महत तथा गृहमन्त्री रमेश लेखक र ज्ञानेन्द्र कार्की लगायतका नेताहरु पनि पूर्वतिर देउवासँगै देखिएका छन् ।
कार्यक्रममा बोल्दै सभापति देउवाले राजनीतिक स्थायित्वका लागि एमालेसँग मिलेर सरकार बनाउनु परेको र प्रधानमन्त्री ओलीले राम्रो काम गरिरहेको आफ्नो धारणा पनि प्रस्तुत गरेका छन् । उनले भने ‘झूठा बोल्ने कुरै छैन, ओलीले राम्रो गरिरहनुभएको छ । चीनको भ्रमणमा गएर पनि उहाँले निकै महत्वपूर्ण काम गरेर आउनुभएको छ ।’पार्टीमा सबैलाई समेटेर लैजाने धारणा पनि उनले राखे ।
पार्टीको आधिकारिक पार्टी सम्मेलन कोशी प्रदेशस्तरीय कार्यक्रममा शेखर कोइराला भने सहभागी भएनन् । सम्मानजनक पद नपाएपछि असन्तुष्ठि जनाउँदै उनी चितवनतिर लागेका छन् । महामन्त्री गगन थापाले भने सम्मेलनमा सहभागिता जनाउँदै शेखरलाई आवश्यक मान र ठाउँ दिनुपर्ने र पार्टीभित्र वृहत् एकता हुनुपर्ने बताएका छन् ।यि घटनाक्रमहरुले काँग्रेसभित्र नयाँ नेतृत्वका लागि दौडधूप शुरु भएको देखाउछ ।
नेतृत्वका आकांक्षीहरु देश दौडाहामा सक्रिय देखिएकोले पार्टीभित्र चुनावी अडकलबाजी पनि शुरु भएका छन् । प्रत्येक चार वर्षमा हुनुपर्ने नयाँ नेतृत्व चयन गर्ने १५ औं महाधिवेशन आउन करिव एक वर्ष बाँकी छ । विधानमा एकदेखि डेढ वर्ष समय थप्न सकिने व्यवस्था पनि छ ।
सभापति देउवाको दुई कार्यकाल पूरा हुन लागेको र विधान संशोधन गरेर तेस्रो कार्यकाल नेतृत्व लिन अनिच्छा व्यक्त गरेपछि नेतृत्व हत्याउन र देउवाको आशिर्वाद लिन नेताहरुबीच होडबाजी स्पष्टै देखिन्छ । नेतृत्वका लागि आश गर्नेहरु थुप्रै भए पनि कसैलाई आश्वासन नदिएर देउवाले चलाखी गरिरहेका छन् ।
तर, उनको उत्तराधिकारी को हो त ? देउवा नजिकको स्रोत भन्छ, यो विषयमा अझै पनि टुंगो लागेको छैन । देउवाले आफू अहिलै नै केही नबोल्ने बताइरहेका छन् । देउवा पक्षबाट डा. शशांक कोइराला, डा. प्रकाशशरण महत र पूर्णबहादुर खड्का मध्ये एकको संभावना छ ।
देउवा र कोइराला दुवैतर्फ आगामी नेतृत्वका लागि सभापतिका आकांक्षीहरुको संख्या बढ्ने देखिन्छ । पार्टीको नेतृत्व लिन डा. शशांक कोइराला, डा. शेखर कोइराला, गगन थापा, पूर्णबहादुर खड्का र डा.प्रकाशशरण महतले तयारी गरिरहेको देखिन्छ ।
यिनीहरु गम्भीरतापूर्वक इच्छुक देखिएका मात्र नभै देश दौडाहमा क्रियाशील पनि छन् । यसअघिको चुनावमा सभापतिका उम्मेद्वार देउवाले करिव ६० प्रतिशत मत ल्याएर दोस्रो राउण्डमा जितेका थिए भने प्रतिस्पर्धी डा.शेखर कोइरालाले ४० प्रतिशत मत ल्याएका थिए ।
करिव ७ प्रतिशत मत ल्याएका अर्का प्रत्याशी उपप्रधानमन्त्री प्रकाशमान सिंहले दोस्रो राउण्डमा देउवालाई सघाएका थिए । यसले गर्दा देउवाको जीत निश्चित भएको थियो । देउवासँगको उनको निकटता कायम रहेको बताइन्छ । श्रीमतीले काठमाडौंको मेयरमा टिकट पाएको र अहिले उपप्रधानमन्त्रीसहित सरकारमा कांग्रेसको नेतृत्व गर्दै कार्यभार सम्हालिरहेका छन् ।
सिंह निकटअनुसार स्वस्थ्य स्थिति कमजोर रहेको भन्दै उनले यसपटक सभापतिमा चाहना नरहेको तर आफ्नो हैसियत पार्टीमा राम्रै हुनुपर्ने माग राखिरहेका छन् ।
देउवालाई सहयोग गर्ने पूर्व उपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला देउवातिरै रहेकोले यो पक्ष अहिले पनि बलियो देखिन्छ । निकट नेताहरु भन्छन्, देउवा अहिलेसम्मका पार्टी सभापतिहरुमध्ये सर्वशक्तिमान देखिएका छन् । पार्टी पूरै नियन्त्रणमा लिएका छन् ।
डा.कोइराला अघिल्लो पटक आफ्नो पक्षबाट सभापतिको एक्लो उम्मेद्वार थिए । तर, यसपटक महामन्त्री गगन थापा सभापतिमा कसैलाई नछोड्ने गरी तयारी गरिरहेका छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्मा र हालका स्वास्थ्यमन्त्री प्रदीप पौडेलको सहयोगमा सभापतिमा चुनाव लड्ने तयारी गरिरहेको बुभिएको छ ।
महामन्त्री थापा पछिल्लो समय सभापति देउवासँग पनि नजिकिन थालेको चर्चा छ । युवाहरुबीच प्रिय थापालाई पुराना नेताहरुले अझै केही समय पार्टीको पदाधिकारी तहमा बसेर खारिनुपर्ने सुझाव पनि दिइरहेका छन् । तर, उनको पार्टी सभापति बन्ने महत्वाकांक्षा तीव्र छ ।
युवाहरुमध्ये खरो एवं प्रखर वक्ताको रुपमा स्थापित थापा पार्टीबाहिर आम जनतामा पनि निकै लोकप्रिय छन् । पछिल्लो समय महामन्त्रीको रुपमा उनको भूमिकालाई लिएर पार्टीभित्र आलोचना पनि हुने गरेको छ ।
आफ्नो गुटबाट बाहिर ननिस्किएको, महामन्त्री भएर पनि संगठन निर्माणमा देशभर सक्रिय नभएको, देउवाको विरोध मात्र गरिरहेको र कांग्रेस महामन्त्री भएर पनि विद्यार्थी नेताको जस्तो भूमिकामा मात्र रहेको भनी आलोचना हुने गरेको छ ।
तथापि, बोलेको कुरा सकेसम्म पूरा गर्नैपर्छ भन्ने पहिचान बनाएका थापाले सभापतिको उम्मेद्वारी घोषणा गरिसकेका छन् र उनी आगामी महाधिवेशनमा सभापतिमा चुनाव लड्ने निश्चित जस्तै छ ।
यता उमेर बढ्दै गएको, भाषणमा तर्क देखिए पनि विषयवस्तुको गहिराईमा पुग्ने क्षमताको अभाव, भाइको असहयोग र एकपटक मात्र सभापतिमा उठ्ने बचन दिएका डा शेखर पहिलाभन्दा कमजोर देखिएका छन् ।
प्रविधिमा विकास र सामाजिक सञ्जालको रुपान्तरणका कारण इतिहास एवं कोइराला परिवारको ‘लिगेसी’ भन्ने शब्दले त्यति अर्थ राख्न छोडिसकेको पृष्ठभूमिमा उनले व्यक्तिगत औकातका आधारमा सभापतिमा जोडबल लगाउनुपर्ने चुनौती छ । यस्तो बदलिएको आधुनिक समाजमा दक्षिणको कृपा भए पनि डा.शेखरलाई अगाडि आउन पहिलाभन्दा निकै सकस देखिन्छ ।
अल्छी स्वभावका र अध्ययन नगर्ने बानीका राजकुमार जस्ता मात्र देखिने डा शशांक बीपी पुत्र भए पनि नेपालका कम्युनिष्टसँग जुझारु ढंगले प्रस्तुत हुनसक्ने क्षमता राख्दैनन् । उनी डा. शेखरलाई नेतृत्वमा आउन नदिन अघिल्लो अधिवेशनदेखि नै देउवासँग नजिकिन पुगेका छन् र अहिलेसम्म देउवासँगै नजिक छन् ।
कोइराला परिवार एक भैहाल्नेछन् भनेर धेरैले लख काटे पनि यिनीहरुको दुस्मनीको गहिराई निकै रहेको कार्यकर्ताहरुले समेत बुझ्न थालेका छन् । धेरैको अनुमान छ, उनीहरु कुनै हालतमा मिल्दैनन् । देउवा समूहबाट डा शशांक सभापतिको उम्मेद्वार बन्ने संभावना त छ ।
उनको निष्कृय जीवन, महामन्त्रीमा निर्वाह गरेको कमजोर भूमिका देखेका कार्यकर्ताहरु कांग्रेसप्रति चौतर्फी आक्रमण भैरहेको र चुनौती आइरहेको पछिल्लो विरोधी समाजमा बलियो नेतृत्वको चाहना राख्छन् । देउवा दोस्रो पटक चुनाव जितेपछि कमजोर होइन कि झन बलियो देखिएपछि उनको आशिर्वाद प्राप्त नेता नै पार्टीको सभापति हुन सक्ने बलियो संभावना छ ।
अर्को संभावना पनि के छ भने स्वास्थ्यले साथ दिएमा विधान संशोधन गरेर देउवा नै पनि तेहरिन सक्छन् । देउवा अघि नसरेको अवस्थामा उपसभापति पूर्णबहादुर खड्का र प्रवक्ता डा प्रकाशशरण महतबीच सहमति कायम गरी एकजना अघि बढ्न सक्ने एकथरिको विश्लेषण रहेको छ ।
केही समय अगाडिदेखि देउवासँग केही दुरी बढाएका खड्का कृष्णप्रसाद भट्टराई समूहको नेतृत्व आफूले गरिरहेको र देउवा पछि आफ्नो समूहमा जोडिन आएको बताउँदै उनको उत्तराधिकारी आफै हुनुपर्ने बताइरहेका छन् । साथै देउवाले पार्टी उपसभापति भएको र आफ्नै क्षेत्रको भएकोले पूर्णबहादुरलाई अगाडि बढाउन सक्ने विश्लेषकहरुको अनुमान रहेको छ ।
नेतृत्व गरिहाल्ने गरी उनको व्यक्तित्व निर्माण नभएको पार्टीवृतमा चर्चा छ । खड्का समूहले डा.महतलाई महामन्त्रीमा असहयोग गरेको निकटहरुबीच स्पष्ट भैसकेपछि देउवा रिसले चूर भएका थिए र कतिपय नेताहरुलाई गाली नै गरेका थिए ।
देउवाका अत्यन्तै विश्वासपात्रको रुपमा देखिएपछि खड्का, अर्का नेता बालकृष्ण खाँड, ज्ञानेन्द्र कार्की, एनपी साउदहरुले डा. महतलाई असहयोग गरेको विश्लेषण देउवा निकटहरुको छ ।
त्यसैले पढेलेखेको र अरुभन्दा बढी क्षमतावान र आफ्नो विश्वासपात्र पनि भएकोले देउवाले पछिल्लो समय डा.महतलाई अगाडि बढाउन थालेको चर्चा छ । दाई डा.रामशरण महतका कारण डा. प्रकाशशरणको व्यक्तित्व ओझेलमा परेको तर पछिल्लो पटक आफ्नो राजनीतिलाई नै दाउमा राखेर जथाभावी राज्यकोष दुरुपयोग गर्न चाहने तत्कालीन सरकार प्रमुख पुष्पकमल दाहाललाई रोक्ने, दाई महतले अघि सारेका आर्थिक नीति तथा सुधारका कार्यक्रमहरुलाई अगाडि बढाएर अर्थ मन्त्रालयको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेपछिको प्रकाशशरणको व्यक्तित्वको उचाई केही बढेको देखिन्छ ।
यसले डा महतलाई नेतृत्वमा आउन हौस्याएको मात्र नभै देउवाको थप विश्वास जित्ने अवसर पनि दिलाएको जस्तो देखिन्छ । त्यसैले पछिल्लो समय देशभित्रको सांगठानिक अनुकुलता बढाउँदै लगेका डा. महत कांगे्रसमा पुरानो र नयाँ दुवै पुस्तालाई जोड्ने उपयुक्त पात्र भएको दाबी गर्दै देशव्यापीरुपमा कार्यकर्ताहरुमाझ गएर स्वीकार्यता बढाउँदै लगेको देखिन्छ ।