नेकपाका प्रचण्ड-नेपाल पक्षले आज काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरूद्ध शक्ति प्रदर्शन गर्ने भएको छ।
प्रचण्ड-नेपाल पक्षले लगभग ५० हजार कार्यकर्ता सडकमा आउने दाबी गरेको छ। त्यसको लागी काठमाडौं बाहिरका जिल्लाहरुबाट पनि नेता, कार्यकर्ता आउने कार्यक्रम छ।
सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुरका कार्यकर्ता बानेश्वर चोकमा भेला भएर प्रदर्शन सुरू गर्ने कार्यक्रम तय भएको छ।
मकवानपुर, धादिङका कार्यकर्ता कुलेश्वर टेकुबाट, नुवाकोट र रसुवाका कार्यकर्ता लैनचौर, ललितपुरका कुपनडोलमा ११ बजे भेला हुने प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
उक्त पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायत शीर्ष नेताहरू प्रदर्शनमा सहभागी हुँदैछन्।
सडक प्रदर्शन गर्दै उनीहरू भृकुटीमण्डपसम्म पुग्नेछन्। त्यहाँ शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।
काठमाडौंका टेकुचोक, लैनचौर, नक्साल, घण्टाघर, रत्नपार्क र बागबजार क्षेत्रबाट पनि प्रदर्शन हुने नेकपा केन्द्रीय समितिले जनाएको छ।
प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभा भंग गरेपछि नेकपाभित्र विवाद बढेको छ।