logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदै

    सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदै

    4.7K
    Shares

    सुदूरपश्चिम पुस १५ । सुदूरपश्चिम प्रदेशमा आज पुस १५ गते ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ । डोटीसहित  बझाङ, बाजुरा, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर, कैलाली, डडेल्धुरा जिल्लामा ‘पुसे पन्ध्र’ पर्व धुमधामका साथ मनाइन्छ । 

    हरेक वर्ष पुस १५ गते  स्थानीय तहका गाउँका सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहेको छ । यस क्रममा १५ हात लामो मुढाको आगो ताप्दै दन्त्यकथा भन्दै रात काट्ने गरिन्छ । पुस १५ का दिन विशेषगरी तरुल, सक्खरखण्ड, फर्सी, पिँडालुलगायतका माटोमुनि उम्रिने चिजलाई उसिनेर खाने चलन छ । माटोमुनि उम्रिने पदार्थ खाँदा जाडो भाग्ने र शरीरमा स्फूर्ति, तागत बढ्ने भएकाले खाने गरेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीयवासी रामबहादुर विष्टले बताए । उहाँले भन्नुभयो, ‘माटोमुनि उम्रिने चिज खाँदा जाडो भाग्ने र शरीरमा स्फूर्ति आउने भएकाले आजका दिन प्रायः सबैले खाने चलन छ, आजको दिन यहाँ रमाइलो गरिन्छ ।’

    आजको दिन यहाँका नागरिकले वन जङ्गलमा काम नगर्ने र बञ्चरो, हँसिया, घाँसपात, दाउरा बान्ने डोरी आदिको पनि पूजा गर्ने चलन रहेको अर्का स्थानीयवासी शिवबहादुर कामीले जानकारी दिए । उनका अनुसार आजको दिन यहाँका प्रायः सबै नागरिक घरमा लगाएको र जङ्गलमा पाइने तरुल खनेर उसिनेर खान्छन् । आज तरुल खानैपर्ने मान्यताअनुरूप यहाँका शहरबजार क्षेत्रमा तरुल किन्नेको घुइँचो समेत लाग्दछ । पूर्वजका पालाका पौराणिक कथाहरूलाई एक पिँढीबाट अर्को पिँढीमा सम्झिँदै अनि सम्झाउँदै र सुन्दै वा सुनाउँदै यो पर्व मनाउँने चलन छ । 

    पूर्वजका पालादेखि चल्दै आएका चाडपर्व र यी चाडपर्व मनाउने तिथिमितिलाई मनन गर्दा मान्छेले फुर्सदको समयमा मनोरञ्जन लिने र दिने सोचका साथ तय गरेको पाइएको डोटी उद्योग वाणिज्य सङ्घका पूर्व केन्द्रीय सदस्य तथा दिपायलका स्थानीयवासी डम्बर भण्डारीको बुझाइ छ । उनले भने, ‘आजको दिन यहाँका नागरिकले रातभर जाग्राम बसी पुराना किंवदन्ती सुन्ने र सुनाउने चलन छ, जसलाई सुदूरपश्चिममा ‘बातै’ भन्ने चलन छ ।’

    आजको दिन यहाँका नागरिक कसैले पनि काम नगर्ने तथा आफ्नो फुर्सद निकाली खानेकुरो कन्दमुख लाने तथा रमाइलो गर्ने चलन छ । गहुँ छरिसकेपछि गाउँघरतिर पुस महिनालाई पूर्ण फुर्सदिलो महिनाका रूपमा हेरिन्छ । पुस पन्ध्रको लामो रातलाई कतै कतै कुनिकेउली खाने पर्वका रूपमा पनि लिइने गरिन्छ । सुदूरपश्चिममा मनाइने पुसे पन्ध्रलाई स्वतन्त्रताको प्रतीकका रूपमा लिने चलन पनि छ । 

    पछिल्ला दिनमा यो पर्व मात्र औपचारिकता निभाउने ढङ्गले मनाइँदै आएको स्थानीयवासी बताउँछन् । कोरोना कहरका कारण यो वर्ष पहिले जस्तो गरी मनाउन गाह्रो हुने कतिपय स्थानीयवासीको भनाइ छ ।  यहाँका गाउँघरमा आजको दिन शालिन र भद्र ढङ्गले दिनभरि देउडा खेल्ने तथा महिला पुरुषले सवाल जवाफसमेत फर्काउने गर्दछन् । आजको दिन परापूर्वकालदेखि नै महिला पुरुषसँगै देउडा खेल खेल्ने चलन कायमै रहेको सायल गाउँपालिकाका स्थानीयवासी शिद्धराज जोशीले जानकारी दिए । रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend