ब्युनस आयर्स । अर्जेन्टिनाको संसदले १४ हप्तासम्मको गर्भ पतन गर्न पाउने गरी बुधबार बहुमतले गर्भपतनसम्बन्धी विधेयक पारित गरेको छ । योसँगै गर्भपतनलाई कानुनी अधिकार दिने चौथो दक्षिण अमेरिकी मुलुक बनेको छ ।
त्यहाँका महिलाले गर्भपतनको अधिकारका लागि दशकौंदेखि संघर्ष गर्दै आइरहेका थिए । सदनमा मंगलबार करिब १२ घण्टा चलेको बहसपछि भएको मतदानमा विधेयकको पक्षमा ३८ जनाले मतदान गरेका थिए भने विपक्षमा २९ जना सिनेटर थिए ।
बलात्कार वा गर्भवती महिलाको ज्यान खतरा रहेको अवस्थामा १४ हप्ताभन्दा बढीको गर्भ पनि पतन गर्न सकिने भएको छ । संसदको तल्लो सदन च्याम्बर अफ डेप्युटिजले यस विधेयकलाई पहिला नै पारित गरिसकेको थियो र राष्ट्रपति अल्बर्टो फर्नान्डिजले यसको समर्थन गरेका थिए । महिला अधिकारकर्मीहरुले लामो समयदेखि गर्भपतनको अधिकारका लागि आन्दोलन गर्दै आएका थिए ।
हाल क्याथोलिक चर्चले यस कानुनको विरोध गरिरहेको छ । विधेयकलाई राष्ट्रपति अल्बर्टोको पार्टीले समर्थन गरेको थियो। यस निर्णयसँगै अब धार्मिक रूपमा अति रूढीवादी ल्याटिन अमेरिकामा परिवर्तन देख्न सकिने अपेक्षा गरिएको छ । दक्षिण अमेकिकी देश क्युबा, उरुग्वे र मेक्सिकोमा मात्रै गर्भपतनको अधिकार थियो। अर्जेन्टिना क्याथोलिक देश भएकै कारण यहाँ गर्भपतनको विरोध गरिएको छ।