logo

२०८१ पुष १ सोमबार

logo
  • सोमबार, १ पुष २०८१
  • सरकारको आम्दानी र खर्च दुवै कमजोर : ५ महिनामा पुँजीगत खर्च ११ प्रतिशत, २८ प्रतिशत राजस्व संकलन

    सरकारको आम्दानी र खर्च दुवै कमजोर : ५ महिनामा पुँजीगत खर्च ११ प्रतिशत, २८ प्रतिशत राजस्व संकलन

    175
    Shares
    सरकारको आम्दानी र खर्च दुवै कमजोर : ५ महिनामा पुँजीगत खर्च ११ प्रतिशत, २८ प्रतिशत राजस्व संकलन

    काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को शुरुआती पाँच महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । मङ्सिर मसान्तसम्म सरकारले वार्षिक लक्ष्यको २८ प्रतिशत राजश्व उठाएको छ भने करिब ३० प्रतिशत बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

    कार्यालयको तथ्याङ्कअनुसार सरकारको विकास खर्च कमजोर देखिएको छ । चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ विनियोजन भएकोमा हालसम्म ११ दशमलव ५८ प्रतिशत अर्थात् ४० अर्ब ८० करोड छ लाख रुपैयाँ मात्रै खर्च भएको छ ।

    चालुगत शीर्षकमा मङ्सिर मसान्तसम्मको खर्च ३१ दशमलव ८७ प्रतिशत छ । यो वर्ष चालु शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रुपैयाँ विनियोजन भएकोमा हालसम्म तीन खर्ब ६३ अर्ब ५५ करोड १४ लाख रुपैयाँ बराबर खर्च भएको हो ।

    त्यस्तै, वित्तीय व्यवस्था शीर्षकमा छुट्याइएको बजेट वार्षिक लक्ष्यको ४१ दशमलव ३२ प्रतिशत खर्च भएको छ । मुख्यगरी सार्वजनिक ऋणको साँवा र ब्याज तीर्न खर्च हुने वित्तीय व्यवस्था शीर्षकमा चालु आर्थिक वर्षका लागि तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रुपैयाँ विनियोजन भएको थियो । उक्त शीर्षकमा हालसम्म एक खर्ब ५१ अर्ब ७६ करोड ५७ लाख रुपैयाँ बराबर खर्च भएको हो ।

    मङ्सिर मसान्तसम्ममा वार्षिक लक्ष्यको २७ दशमलव ५७ प्रतिशत अर्थात् चार खर्ब पाँच अर्ब ७७ करोड ३० लाख रुपैयाँ राजश्व सङ्कलन भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ ।

    त्यस्तै, यसवर्ष ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले हालसम्म कुनै पनि अनुदान लिएको देखिँदैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend