पुस १७ काठमाडौँ, सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन शुक्रबार देखि शुरु हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अपराह्न ४ : ०० बजे बस्ने गरी आह्वान गरेकी हुन् ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिले अधिवेशनको पहिलो दिनको बैठकमा पेश हुने कार्यसूची तयार गरेको छ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठकको शुरुमै अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र बाचन गरेर सुनाइने छ ।
समिति गठन आदेश
अध्यक्ष तिमिल्सिनाबाट जारी भएको राष्ट्रियसभाका समिति गठनसम्बन्धी आदेश, २०७७ सभाबाट अनुमोदनका लागि पेश हुने कार्यसूची छ । बैठकमा अधिवेशन प्रारम्भ भएको अवसरमा उक्त सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले अधिवेशन सफलताका लागि शुभकामना मन्तव्य राख्नुहुनेछ ।
अध्यादेश
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन, गृहमन्त्री रामबहादुर थापाले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन, नेपाल प्रहरी र प्रदेश प्रहरी पहिलो संशोधन तथा सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश बैठकमा पेश गर्नुहुने सम्भावित कार्यसूची छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री दयेश त्रिपाठीले औषधि तेस्रो संशोधन, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्य विधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ पेश गर्नुहुने संसद् सचिवालयले जनाएको छ ।
शोक प्रस्ताव
प्रतिनिधिसभा सदस्यद्वय सानु सिवा र सूर्यबहादुर केसी तथा प्रतिनिधिसभाका पूर्वसदस्य ओमकारप्रसाद गौचन र राष्ट्रियसभाका पूर्वसदस्यद्वय दीपकबहादुर गुरुङ र इन्द्रहाङ लिम्बूको निधनमा शोकप्रस्ताव प्रस्तुत हुने सभाका लागि तयार पारिएको सम्भावित कार्यसूचीमा उल्लेख छ । रासस