काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ सालभित्र सडक बालबालिकाको व्यवस्थापन गरिसक्ने घोषणा गरेका छन् । मंगलबार ललितपुर महानगरपालिकाको १०६ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बाधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो घोषणा गरेका हुन् ।
उनले २०८२ सालभित्र सडक मानव र सडक बालबालिकको व्यवस्थापन गर्दै सरकारले अभिभाकत्व दिने बताए । उनले सडक बालबालिकाहरुको व्यवस्थापन गर्दै उनीहरुलाई यथोचित आहार र उपयुक्त शिक्षा दिएर सुयोग्य नागरिक बनाउने गरी काम गर्ने प्रतिवद्धता जनाए ।
वर्तमान सरकार जनताप्रति उत्तरदायी र जिम्मेवार रहेको उनको दाबी छ । उनले मानवीय वृत्तमा केही समस्याहरु रहेको उल्लेख गर्दै त्यस्ता समस्याहरुलाई शिक्षा र नविनतम प्रविधिहरुको प्रयोग गर्दै समाधान गर्ने बाटोमा सरकार रहेको बताए ।
उनले भने, ‘पहिले पहिले बाढीले बगाएको खण्डमा हेर्ने कुनै सरकार हुन्थ्यो ? कसैले हेर्दैन थियो । बगायो त बगायो । अहिलेको सरकार त अभिभावक जस्तो भएर प्रस्तुत भएको छ । अहिलेको सरकार जनताप्रति उत्तरदायी र जिम्मेवार भएको छ । सक्नेले खाउ नसक्ने मर भन्ने होइन । नसक्नेका लागि सरकार छ भन्ने खालको सरकार बनेको छ अहिले । पहिलेको लागि कर उठाउनका लागि मात्र होइन नगरपालिका र महानगरपालिकाहरु सेवा गर्नको लागि बनेका छन् ।
मानवीय वृतमा समस्याहरु होलान् । त्यसलाई हामी शिक्षा दिक्षाको माध्यमबाट आधुनिकिकरण र उन्नत प्रविधिको माध्यमबाट विकृतिहरुलाई हटाउने र राम्रो कल्चर स्थापना गर्दैछौं । सरकारको काम मुख्य रुपमा साशन होइन सेवा दिने हो । अभिभावकबिहिन बालबालिकाहरु खाते भएर सडकमा हिँड्न सक्दैनन् भनेर हामीले बालिकाबालिकाहरुलाई सडकमा कुकुरसँग सुत्ने र कुकुरको खोसेर खाने हुन दिँदैनौं भनेर हामीले व्यवस्था गर्न थालेका हौं ।
सडकमा मानव अलपत्र पर्न दिँदैन भनेर हामी जिम्मेवार भएर लाग्यौं । अब हामी २०८२ सालभित्र सडकमा बालबालिकाहरुको उद्धार गरेर व्यवस्थापन गरिसक्छौं । २०८२ सालसम्म हामी सडक मानव रहन दिँदैनौं । त्यस अवस्थालाई अन्त्य गर्छौं । बालबालिकाहरुलाई राख्ने र बचाउने मात्र होइन । तिनीहरुलाई यथोचित आहार दिएर उपयुक्त शिक्षा दिएर सुयोग्य नागरिक बन्ने गरेर सरकारले व्यवस्था गर्छ । सबैसँग प्रतिष्पर्धा गर्ने नागरिककै रुपमा अभिभावक बिहिनलाई सरकारले अभिभाकत्व दिएर अगाडि बढाउँछ ।’
व्यवस्था बद्लिएपनि नागरिकको अवस्था बद्लिएन भन्ने गरेको भन्दै नागरिकको अवस्थामा समेत बिस्तारै सुधार भइरहेको बताए । प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले तीन वर्षको अवधीमा नौ लाख नागरिकलाई गरिबीको रेखामुनिबाट मथि उठाएको दाबी गरे । विकासको क्रमसँगै केही नकारात्मक प्रवृत्तिहरु देखिएपनि आम रुपमा देशको अवस्था र जनताको अवस्था पहिलाको जस्तो नभएको समेत उनले बताए ।
उनले पूर्वपश्चिम राजमार्गहरु निर्माण, उद्योगहरुको स्थापना र स्थास्थ्यको क्षेत्रमा समेत उल्लेखनीय कामहरु भएको उनको भनाइ छ । उनले मुलुकमा सुशासन कायम गर्ने सवालमा सरकारले भ्रष्टचारीहरुको मुख नहेरी अपराधका आधारमा कारबाही गर्ने बताए ।