काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत दुई दर्जन कम्पनीले सेयरधनीलाई अहिलेसम्म लाभांश दिएका छैनन् । ती कम्पनीहरुको वित्तीय अवस्था हेर्दा अझै केही वर्ष लाभांश दिन सक्ने अवस्था देखिएको छैन् ।
वित्तीय अवस्था राम्रो नभए पनि ति कम्पनीहरुको सेयर मूल्य भने उचाइमा पुगेको छ । सेयरधनीलाई लाभांश नदिनेमा १३ वटा जलविद्युत कम्पनी, ४ वटा वित्त कम्पनी, २ विकास बैंक तथा लघुवित्त, व्यापार र निर्जीवन बिमा समूहका १ १ वटा कम्पनीहरु रहेका छन् । नेप्सेमा २ सय ६७ कम्पनी सूचीकृत छन् । कम्पनीबाट पाउने लाभांश हिसाव हेर्दा बैंकको ब्याजदर भन्दा कम छ ।
एक ताका लगानीकर्तामाझ हटकेक बनेको जलविद्युत कम्पनीहरुको वित्तीय अवस्था खस्किएपछि लाभांश दिन नसक्ने अवस्था देखिएको छ । विद्युत उत्पादन ढिलो सुरु भएको र त्यसमाथि अधिकांशको आम्दानीको ठूलो हिस्सा कर्जाको ब्याज तिर्दै सकिने हुँदा यिनीहरुको खुद नाफा निकै कम हुन्छ । जसकारणले यी संस्थाहरुले लाभांश दिन नसकेको लगानीकर्ताको भनाई छ ।
पछिल्लो समयमा जलविद्युत निर्माण सामाग्रीको भाउ आकासिएको, डलरको मूल्य बढेको र समयमा आयोजना सम्पन्न नहुँदा लागत बढेको नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडका अध्यक्ष कुमार पाण्डे बताउँछन् । झण्डै कोमामा पुगेको नेसनलले पछिल्लो समयमा वित्तीय सुधार गरी बैंक तथा वित्तीय संस्था र सेयरधनीहरुको विश्वसनियता जिते पनि लाभांश दिन अझै केही समय लाग्ने उनको भनाई छ ।
नेसनलले लगानी गरेका आयोजनाबाट बिजुली उत्पादन हुन थालेपछि प्राप्त हुने लाभांश सेयरधनीलाई वितरण हुने उनको भनाई छ । नेसनले दुई वर्षअघि सञ्चित नाफाबाट सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर वितरण गरेको थयो ।
१४ जलविद्युत आयोजनाले दोस्रो बजारमा कारोबार सुरु भएको ५ वर्ष बिते पनि सेयरधनीलाई प्रतिफल दिन सकेका छैन् ।
बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा अनुपात बढ्दा त्यसको असर लाभांशमा परेको हो । निष्क्रिय कर्जा अनुपात ५ प्रतिशतभन्दा धेरै भएको बैंक तथा वित्तीय संस्थाले लाभांश दिन नपाउने व्यवस्था छ । नाफा जति सबै प्रोभिजनमा राख्नुपर्ने हुन्छ ।
यसैगरी नारायणी डेभलपमेन्ट बैंक, ग्रामीण विकास लघुवित्त वित्तीय संस्ता लिमिटेड र समृद्धि फाइनान्सले पनि हालसम्म सेयरधनीलाई लाभांश दिएका छैनन् । नारायणी समस्याग्रस्त घोषणा भइ केही वर्षदेखि पुनः सञ्चालनमा आएको विकास बैंक हो । समृद्धि फाइनान्स पनि समस्याग्रस्त भएर पुनः सञ्चालनमा आएको हो ।
वेस्ट फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०६७/६८ को नाफाबाट लाभांश दिएको थियो । वेस्ट पनि समस्याग्रस्त घोषणा भइ नयाँ व्यवस्थापनले जिम्मेवारी लिएर सञ्चालनमा आएको छ । विकास बैंकबाट घटुवा भएको गोर्खाज फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७१/७२, नेपाल फाइनान्स लिमिटेडले २०६७/०६८ मा लाभांश दिएको देखिएको छ ।
नेपाल फाइनान्स पनि समस्याग्रस्ता घोषणा भइ पुनः सञ्चालनमा आएको हो । सरकार स्वामित्वको राष्ट्रिय बिमा कम्पनी लिमिटेडले २०६२/०६३ र कर्णाली डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७२/०७३ मा अन्तिम पटक लाभांश दिएको पाइएको छ ।
४१ प्रतिशत निष्क्रिय कर्जा पुगेपछि नेपाल राष्ट्र बैंकले गत मंसिरमा निक्षेप संकलन र कर्जा लगानीमा प्रतिवन्ध लगाएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकले २०७५/०७६ मा लगानीकर्तालाई ६ प्रतिशत बोनस सेयर वितरण दिएको थियो । त्यसपछि बैंकका सेयरधनीले प्रतिफल पाएका छैनन् । कर्पोरेट डेभलपमेन्ट बैंकले २०७८/७९ मा सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । त्यसयता बैंकले लाभांश दिएको छैन ।
सूचिकृत कम्पनीहरुले लाभांश नदिँदा लगानीकर्तालाई निकै घाटा भएको छ । कम्पनीको सञ्चालक तथा व्यवस्थापकहरुमाथि समेत गम्भीर नैतिक प्रश्न खडा भएको देखिन्छ । ५ वर्षदेखि लाभांश नदिने २२ वटा कम्पनी रहेका छन् ।
वित्तीय अवस्था कमजोर भए पनि केही सिमित लगानीकर्ता तथा समूहले यस्ता कम्पनीको मूल्य उचाल्ने गरेको पाइएको छ । उसरी उचालिएर लगानी गर्दा सोझा लगानीकर्ता डुब्ने गरेको पाइएको छ ।
आम लगानीकर्ता पनि त्यसैको पछि लागेर वित्तीय सूचकहरु अध्ययन नगरीकनै दोस्रो बजारमा सेयर किन्ने गरेको पाइएको छ ।
नेप्सेमा सूचीकृत जलविद्युत कम्पनीको संख्या ९१ छ । पछिल्लो दुई वर्षमा थपिएका जलविद्युत कम्पनीलाई समेत गणना गर्ने हो भने लगानीकर्ताको हात रित्तो पार्ने कम्पनीको संख्या अझ धेरै हुने देखिएको छ । एक ताका सस्तो भनेर चर्चा कमाएको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई लाभांश दिन सकेको छैन् । रोल्वालिङ डाइभर्सन बनेपछि मात्र अपर तामाकोसीले लाभांश दिने बताइएको छ ।
सात वर्षअघि नेप्सेमा सूचीकृत भएका खानीखोला, दिव्यश्वरी र हिमालयन पावर पार्टनरले लगानीकर्तालाई अहिलेसम्म सेयरधनीलाई लाभांश दिएका छैनन् ।
२०६० असारमा नेप्सेमा सूचीकृत भएको नेसनल हाइड्रोपावरले अहिलेसम्म जम्मा एक पटक अर्थात २०७७/७८ मा मात्र लाभांश बाँडेको छ ।
छ्याङदी हाइड्रोपावरले नेप्सेमा सूचीकृत भएपछि २०७५/७६ र २०७६/७७ मा ५/५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।