पुस १७ काठमाडौं: प्रधानमन्त्री केपी ओलीले प्रचण्ड( नेपाल समुहका गतिविधिले आम कार्यकर्ताको मन दुखेको बताएका छन्। अंग्रेजी नयाँ बर्षका अवसरमा प्रवासी नेपाली समुदायका अगुवाहरूलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
‘प्रचण्ड माधवहरु निर्वाचन आयोग, अदालत, सडक, मिडियामा गएर तमासा देखाउनु भएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरुका गतिविधिले दुःख गरेर पार्टी निर्माण गरेका कार्यकर्ताको मन दुखेको छ।’
प्रधानमन्त्री ओलीले पार्टी विभाजन नभएको र हुन पनि नदिने भन्दै केही व्यक्तिलाई आफूले रोकेर राख्न नसकेको जिकिर गरे। पद नपाएर सडकमा गएका मान्छेहरुको पदको हतारो सम्बोधन आफुले गर्न नसकेकोले यो अवस्था आएको उनको भनाई थियो।
आफुहरुनै वैधानिक नेकपा भएको भन्दै ओलीले आफ्नो पार्टी पहिलेनै आयोगमा दर्ता भएको हुनाले नयाँ पार्टी दर्ता गर्न जानु नपर्ने बताए। संविधानको रक्षाका लागि ताजा जनादेशमा जाने निर्णय लिएको ओलीको भनाई थियो।