logo

२०८१ पुष २५ बिहिबार

logo
  • बिहिबार, २५ पुष २०८१
  • मुगु कर्णाली र किमाथांका अरुणमा पर्याप्त वित्तीय प्रस्ताव नपरेपछि १५ दिन थप

    मुगु कर्णाली र किमाथांका अरुणमा पर्याप्त वित्तीय प्रस्ताव नपरेपछि १५ दिन थप

    476
    Shares
    मुगु कर्णाली र किमाथांका अरुणमा पर्याप्त वित्तीय प्रस्ताव नपरेपछि १५ दिन थप

    काठमाडौं । मुगु कर्णाली र किमाथांका जलासय जलविद्युत आयोजनामा पर्याप्त वित्तीय लगानी प्रस्ताव नपरेपछि १५ दिन समय थप भएको छ । सरकार स्वामित्वको विद्युत उत्पादन कम्पनी लिमिटेड (भियुसिएल) ले गत मंसिर २३ गते आइतबार १५ दिन समय दिएर आर्थिक प्रस्ताव मागेको छ । पर्याप्त प्रस्ताव नपरेपछि समय थप गरिएको भियुसिएलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बखतबहादुर शाहीले सुनौलो नेपाललाई बताए ।

    प्रस्ताव पेश गर्ने अन्तिम दिन यही पुस २३ गतेलाई तोकिएको उनले जानकारी दिए । यसअघि पुस ९ गते प्रस्ताव पेश गर्ने अन्तिम दिन तोकिएको थियो ।

    दुई आयोजनाको जडित क्षमता २३ सय ५६ मेगावाट छ । जसअनुसार मुगु कर्णालीको जडित क्षमता १९ सय २ मेगावाट र किमाथांका अरुणको ४ सय ५४ मेगावट रहेको कम्पनीले जनाएको छ । पहिलो चरणमा आयोजना बोलकबोलबाट नेपाली निजी क्षेत्रलाई दिन लागेको हो । दुई आयोजना बनाउन ५ खर्ब ५३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान भियुसिएलको छ ।

    दुई आयोजना लगानी साझेदारीमा निजी क्षेत्रमार्फत बनाउन विद्युत उत्पादन कम्पनीले वित्तीय लगानी प्रस्ताव आब्हान गरेको हो । कम्पनीका अनुसार दुई आयोजना स्वदेशी लगानीकर्तामार्फत सार्वजनिक निजी साझेदारी ढाँचामा लगानी जुटाउने प्रक्रिया अघि बढाएको छ । स्वदेशी क्षमता अभिवृद्धिका साथै स्थानीय लगानीलाई प्रोत्साहित गर्न यि दुई ठूला जलासय आयोजना अघि बढाएको कम्पनीले जानकारी दिएको छ ।

    कम्पनीका अनुसार स्वपुँजी (इक्विटी) को ५१ प्रतिशत लगानी गर्न साझेदारी चाहिने भएको छ ।
    आयोजना बनाउन स्वदेशी लगानीकर्ता, नेपाली आयोजनाको स्वपुँजी र ऋण लगानी अनुपात २५ः७५ प्रतिशत हुनुपर्ने कम्पनीले जनाएको छ । प्रस्तावकले ५१ प्रतिशत सेयर लगानीको प्रस्ताव गर्नुपर्ने भएको छ ।

    नेपाली लगानीकर्ता नआए विदेशीलाई खुला गर्ने सिइओ शाहीले जानकारी दिएका छन् । ‘पहिलो चरणमा नेपालीलाई आयोजनामा लगानी गर्न मौका दिएका छौं’ उनले भने ‘नेपालीले चासो नदेखाए विदेशी लगानीकर्तासँग मनसापत्र माग्ने छौं ।’

    किमाथांका जलविद्युतका लागि न्यूनतम् कबोल मूल्य ९० करोड ८१ लाख ९ हजार ३ सय २ रुपैयाँ तोकिएको छ । यस्तै मुगु कर्णालीलाई ४८ करोड ७२ लाख ४३ हजार ४ सय २३ रुपैयाँ तोकिएको उत्पादन कम्पनीले जनाएको छ ।

    प्राविवधिक प्रस्तावमा न्यूनतम् ६० प्रतिशत प्राप्त गर्ने प्रस्तावको मात्र प्रस्ताव खोलिने कम्पनीले स्पष्ट पारेको छ ।

    मुगु कर्णाली नेपालमा हाल अध्ययन भइरहेकामध्ये सबैभन्दा ठूलो जलाशययुक्त जलविद्युत आयोजना हो । आयोजनाले वार्षिक ५ अर्ब ८८ करोड ३१ लाख युनिट बिजुली उत्पादन गर्ने संभाव्यता अध्ययनले देखाएको छ । कर्णाली नदीमा पहिचान भएको यो आयोजना सबैभन्दा माथि निर्माण हुनेछ ।

    आयोजनाको बाँध करिब २८५ मिटर उचाइको हुने अनुमान छ । यो आयोजनाले कर्णालीका कालिकोट, मुगु, हुम्ला र जुम्ला गरी चार जिल्ला र सुदुरपश्चिमको बाजुराका विभिन्न क्षेत्रहरु प्रभावित हुनेछ ।

    किमाथांका अरुण अर्धजलाशययुक्त आयोजना संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका नेपाल–चीन सीमानजिक पर्छ । आयोजनाको परामर्शदाता नेपाल विद्युत प्राधिकरणको एनइए इन्जिनियरिङ कम्पनी लिमिटेड रहेको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

    बिजुलीको अधिकतम माग हुने समयमा आयोजनाबाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको कम्पनीले जनाएको छ । भोटखोलाको वडा नम्बर २ स्थित छुम्सुर गाउँनजिक नदीको सतहदेखि ७० मिटर अग्लो बाँध बनाउने प्रस्ताव गरिएको छ ।

    आयोजनाबाट वार्षिक २ अर्ब ६५ करोड ५१ लाख २० हजार युनिट बिजुली उत्पादन हुने गरी आयोजनाको डिजाइन गरिएको छ ।
    सुक्खायाममा आयोजनाबाट १ अर्ब ५ करोड ११ लाख ३० हजार युनिट बिजुली उत्पादन गर्ने अनुमान छ । यस्तै बर्खामा १ अर्ब ८७ करोड ३५ लाख ६० हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ ।

    यो पनि :

    मुगु कर्णाली र अरुण किमाथांका निजी साझेदारीमा बनाउन सरकारले माग्यो प्रस्ताव, ५ खर्ब ५३ अर्ब लाग्ने

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend