logo

२०८१ पुष ७ आइतबार

logo
  • आइतबार, ७ पुष २०८१
  • नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्स बन्यो च्याम्पियन (तस्बिरहरु)

    नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्स बन्यो च्याम्पियन (तस्बिरहरु)

    336
    Shares
    नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्स बन्यो च्याम्पियन (तस्बिरहरु)

    काठमाडौं । ओपनरद्वय लाहिरु मिलन्था र आसिफ शेख चम्कँदा जनकपुर बोल्ट्सले शनिवार नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि उचालेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै उपाधि उचालेको हो । सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा भेट्टायो ।

    यससँगै जनकपुरले यसअघि दुई भेटमा व्यहोरेको हारको बदला पनि लियो । च्याम्पियन जनकपुरले एक करोड १० लाख र उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपैयाँ प्राप्त गर्यो । लिगमा र पहिलो क्वालिफायरमा सुदूरपश्चिमले सहजै हराएको थियो ।

    फाइनलमा भने जनकपुर हाबी भयो र उपाधि नै उचाल्यो । शुरुदेखि नै आक्रामक ब्याटिङ गर्दै ओपनरद्वय मिलन्था र शेखले सुदूपश्चिमका बलरमाथि दबाब बनायो । यी दुईबीच पहिलो विकेटका लागि ७३ रनको साझेदारी भयो । पावर प्लेमा नै जनकपुरले ७१ रन जोड्यो ।

    तर, ६.६ ओभरमा स्पिनर सैब जैबले आसिफलाई ३३ रनमा आउट गर्दै साझेदारी तोडे । आसिफले १९ बलमा चार चौका र दुई छक्का हिर्काए । अर्का ओपनर मिलन्थाले आक्रामक ब्याटिङ जारी राखे । तर ईशान पाण्डेले मोहम्मद मोहसिनलाई ९ रनमै बोल्ड गर्दै दबाब बनाउने प्रयास गरे ।

    त्यसपछि आएका हर्ष ठाकरले पनि आक्रामक ब्याटिङ गर्दै मिलन्थालाई साथ दिए । तेस्रो विकेटका लागि यी दुईबीच ६१ रनको साझेदारी भयो । १५.३ ओभरमा स्कट कुग्गेलिनले मिलन्थालाई ८७ रनमा कट एन्ड बोल्ड गरे ।

    मिलन्थाले ४९ बलमा ९ चौका र चार छक्का हिर्काए । तेस्रो विकेट पतन भए पनि जनकपुर जितनजिक थियो । सात विकेट हातमा हुँदा जनकपुरलाई २७ बलमा १९ रन आवश्यक थियो । तर, सुदूरपश्चिमले थप दुई विकेट लिँदै कसिलो बलिङ गरे पनि जनकपुरले चार बलअगावै जित सुरक्षित गर्यो । यस क्रममा सुदूरपश्चिका कप्तान दीपेन्द्रसिंह ऐरीले जिमी निसामलाई ४ रनमा बोल्ड गरे । आकाश त्रिपाठी २ रनमा रनआउट भए । तर, ठाकर ३० रनमा र मायन यादव २ रनमा अविजित रहे ।

    ठाकरले २४ बलमा दुई छक्का हिर्काए । सुदूरपश्चिमले अतिरिक्त १८ रन पनि दियो । सैब, ईशान, स्कट र दीपेन्द्रले समान एक विकेट लिए । सैबले तीन ओभरमा १४ रन मात्र दिए । अन्य बलर भने महँगा साबित भए । राम्रो ब्याटिङ गरे पनि बलिङमा साथ नपाउँदा सुदूरपश्चिम उपाधिविमूख रह्यो । त्यसअघि टस जितेर ब्याटिङ गर्ने सुदूरपश्चिमको निर्णय सही साबित भयो ।

    निर्धारित ओभरमा ९ विकेट गुमाउँदै सुदूरपश्चिमले १८४ रनको योगफल बनायो । ओपनरद्वय विनोद र सैब चम्कँदा सुदूरपश्चिमले विशाल योगफल बनाएको हो । पहिलो विकेटका लागि यी दुईले ११७ रनको साझेदारी गरे ।
    विनोद र सैब ब्याटिङ गरिरहँदा सुदूरपश्चिम दुई सय रनको आँकडातर्फत अग्रसर थियो ।

    सुदूरपश्चिमले पावर प्लेमा पनि ४८ रन जोड्यो । त्यसपछि पनि ओपनरद्वयले आक्रामक ब्याटिङ जारी राखे ।

    सुदूरपश्चिमले १०.१ ओभरमा १०० रन पार गर्यो । १२औं ओभरमा किशोर महतोले साझेदारी तोड्दै ठूलो सफलता दिलाए । किशोरले सैबलाई ६९ रनमा ललित राजवंशीद्वारा क्याच गराए । यससँगै सुदूरपश्चिम ११.६ ओभरमा ११७÷१ को अवस्थामा पुग्यो । तर, थप रन नजोड्दै अर्का ओपनर विनोद पनि आउट भए ।

    अर्को ओभरमा ललितले विनोदलाई ४१ रनमा बोल्ड गरे । सैबले ४३ बलमा ८ चौका र दुई छक्का हिर्काए । विनोदले ३१ बल खेल्दै एक चौका र तीन छक्का प्रहार गरे ।

    दुई विकेटसँगै सुदूरपश्चिमको रन गतिमा अंकुश लाग्यो । बाँकी ७.४ ओभरमा सुदूरपश्चिमले सात विकेट गुमाउँदा ६७ रन जोड्यो । यस क्रममा सुदूरपश्चिमका ब्याटरबाट ६ बाउन्ड्री मात्र निस्कियो । हरमित सिंह र ब्रेन्डन म्याकमुलन समान १४ तथा स्कट १३ रनमै आउट भए । अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा सुदूरपश्चिम दुई सय रनको आँकडानजिक नै पुग्न असफल भयो ।

    जनकपुरको बलिङमा किशोर र मोहसिनले समान तीन तथा निसम र ललितको नाममा समान एक विकेट रह्यो । ललित मात्र किफायती बने । उनले चार ओभरमा एक मेडनसहित १५ रन मात्र दिए । ललितसँगै हर्ष ठाकरले पावर प्लेमा समान एक मेडन राखेका हुन् ।

     

    तस्बिरहरु : निशान मगर/सुनौलो नेपाल

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend