logo

२०८१ पुष ७ आइतबार

logo
  • आइतबार, ७ पुष २०८१
  • गिरिराजको कृषि कर्म : बेचे ३४ लाखको अलैँची

    गिरिराजको कृषि कर्म : बेचे ३४ लाखको अलैँची

    483
    Shares
    गिरिराजको कृषि कर्म : बेचे ३४ लाखको अलैँची

    इलाम । नेपालमा केही गर्न सकिएन । राज्यले केही पनि गरेन भन्ने जमात उस्तै छ । तर गर्नसके कसैको मुख नताकी वार्षिक लाखौँ रुपैयाँ कमाउनेको सङ्ख्या पनि नेपालमा उत्तिकै मात्रामा पाइन्छ । पछिल्लो समय कृषि पेशा छाड्नेको सङ्ख्या त बढ्दै गएको छ । तर कृषि पेशा गरेर मनग्य कमाउने किसान गाउँमा नै रमाइरहेका छन् ।

    कृषि पेशाबाट नै गर्न सके स्वदेशमै बसेर विदेशमा भन्दा बढी आम्दानी गर्न सकिन्छ भन्ने उदारहणको पात्र बनेका छन् इलामको सन्दकपुर गाउँपालिका–२ का गिरीराज खनाल । उनले यसै वर्ष ३४ लाख रुपैयाँभन्दा बढीको अलैँची उत्पादन गरेका छन् । उनी पूर्व वडाध्यक्षसमेत हुन् ।

    सन्दकपुर–२ माइमझुवाका किसान खनालले मकैबारी मासेर लगाएको खेतीबाट ३० मन अलैँची उत्पादन गरेको बताए। अलैँचीको मूल्य हाल १२ वर्षयताकै उच्च अर्थात् प्रतिमन एक लाख १५ हजार रुपैयाँ छ । तीस मन अलैँचीको प्रतिमन एक लाख १५ हजार रुपैयाँको मूल्यले पनि ३४ लाख ५० हजार रुपैयाँ पर्न जान्छ । यो उनको एकै वर्षको आम्दानी हो ।

    गाउँगाउँमा पुगेका व्यापारीले महँगो मूल्य लगाउने गरेका छन् । बजारमा व्यापारीले अलैँची प्रतिमन एक लाख १० हजार रुपैयाँमा खरिद गर्ने गरेका छन् । खनालले लामो समयदेखि अलैँचीखेती गर्दै आएका छन् । बिचमा किसानले लगाएको अलैँची मासिँदा पनि आफूले सो खेती नछाडेको उनले बताए । बिचमा दानाबाट समेत अलैँची उत्पादन गरेर जिल्ला तथा जिल्ला बाहिरका किसानसमक्ष बिरुवा पुर्याएको खनालले बताए ।

    धेरै मेहनत नलाग्ने अलैँचीखेतीबाट मनग्य आम्दानी लिन सकिन्छ । सुरुमा बिरुवा रोप्दा बारी फडानी गर्न र बिरुवा लगाउन धेरै खर्च हुने भए पनि त्यपछि अलैँची उत्पादन भएपछि टिप्न र छोडाउन बढी खर्च हुने गरेको किसान खनालको भनाइ छ । बीचमा गोडमेल, मलजल र पानी लगाउनुपर्ने हुन्छ । सो कार्यमा खास खर्च नलाग्ने उनले बताए ।

    हाल खनालले ३३ रोपनी र २४ रोपनीका दुई प्लटमा अलैँची खेती गरेका छन् । हिउँदको समयमा तुसारो पर्ने भएकाले यसबाट जोगाउन ‘ग्रीन नेट’ लगाउने गरिन्छ । आगामी वर्षदेखि उत्पादन बढ्ने उनले बताए । अलैँची लगाएको तीन वर्षदेखि उत्पादन सुरु हुन्छ । गएको वर्ष लगाएको नयाँ बिरुवाबाट पनि उत्पादन बढ्ने उनले बताए ।

    राजनीति गर्ने मान्छेले केही न केही काम गर्नुपर्ने खनाल बताउछन् । राजनीति गर्न खर्च आवश्यक पर्ने भएकाले पनि केही काम गर्नुपर्ने भएकाले आफूले कृषि पेशा गर्ने गरेको उनी बताउछन् । खनाल जस्तै जिल्लाका अन्य किसानले समेत यस वर्ष अलैँचीबाट मनग्य आम्दानी गरेका छन् ।

    व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार बर्सेनि चार अर्ब १५ करोड रुपैयाँ बराबरको अलैँची निकासी भइरहेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा सात सय ८३ दशमलव ७५ मेट्रिक टन अलैँची मेची भन्सारबाट निर्यात भएको छ । यो अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशत कम हो । आव २०८०/८१ मा एक हजार पाँच सय २५ दशमलव ९६ मेट्रिक टन अलैँची निर्यात भएको तथ्याङ्कमा उल्लेख छ ।

    अलैँची औषधीय गुण भएको नगदेबाली हो । यसबाट विशेषगरेर औषधिजन्य वस्तु निर्माण हुने गरेका छन् । गर्मीमा अलैँचीलाई शीतलता प्रदानका लागि प्रयोग गर्ने गरिन्छ । मसलाका रूपमा पनि अलैँचीलाई प्रयोग गर्ने गरिन्छ । गाउँघरमा विशेष गरेर मासु पकाउँदा अलैँचीलाई जिरासँग मिसाएर पकाइने गरिन्छ । सर्वत पानीमा समेत यसलाई प्रयोग गरिन्छ । तर नेपालबाट विदेश निर्यात हुने अलैँचीबाट अत्तर (पर्फ्युम) समेत निर्माण हुने गरेको छ ।

    भारतको बाटो भएर विदेश निर्यात हुने अलैँची धेरै मात्रामा चाहिँ औषधिका रूपमा प्रयोग हुने गरेको छ । नेपालमा अलैँची प्रशोधन नहुँदा पनि समस्या भइरहेको छ । झापामा एउटा प्रशोधन केन्द्र भए पनि यो पर्यात नभएको व्यवसायीको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend