logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • आठ वर्षदेखि ‘प्लान होलिडे’ मा बस्दा लोडसेडिङ पुनः बल्झियो

    आठ वर्षदेखि ‘प्लान होलिडे’ मा बस्दा लोडसेडिङ पुनः बल्झियो

    875
    Shares
    आठ वर्षदेखि ‘प्लान होलिडे’ मा बस्दा लोडसेडिङ पुनः बल्झियो

    नेपाल विद्युत् प्राधिकरणले नै माग र आपूर्तिबीच सन्तुलन मिलाउन समस्या भएको भन्दै औद्योगिक क्षेत्रमा ‘पिक आवर’मा विद्युत् भार कटौती (लोडसेडिङ) गर्ने सूचना प्रकाशित गरेको छ । आम सर्वसाधारणको बुझाई आफ्नो घरमा बत्ति बलुन्जेल त्यो लोडसेडिङ होइन । र, प्राधिकरणको नेतृत्वको बुझाई पनि तालिका निकालेपछि मात्र त्यो लोडसेडिङ भयो । अन्य बेलाको भनेको प्राविधिक समस्या भन्ने बुझिन्छ ।

    २०७२ सालमा सरकारले लोडसेडिङ हटाउन ल्याएको ९९ बुँदे कार्यक्रममा विद्युत् संकट निवारणकाल र ऊर्जा विकास दशक कार्ययोजना थियो । त्यसमा हामीले १० वर्षे खाका बनाएका थियौँ । १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गर्ने र एक वर्षभित्र सुक्खायामको लोडसेडिङ आधारभूत रुपमा र वर्खायामको लोडसेडिङ पूर्णतः अन्त्य हुन्छ भनेर लेखिएको थियो । तत्कालिन प्रधानमन्त्रीले त्यसलाई घोषणा पनि गर्नुभयो । सोही कार्ययोजनाअनुसार आधारभूत रुपमा लोडसेडिङ न्युनिकरण भएको हो ।

    आर्थिक वर्ष २०७२/०७३ र २०७३/०७४ को तथ्यांक हेर्दा मूलतः हामीसँग माग भन्दा वितरण पक्षमा समस्या थियो । त्यसकारण वितरण बढ्दै गएपछि लोडसेडिङ झर्दै जाने कुरा थियो ।

    आर्थिक वर्ष २०७२/०७३ को तथ्यांक हेर्ने हो भने ३ अर्ब ७२ करोड युनिट बिजुली हाम्रो विद्युत प्रणालीमा उपलब्ध भएको देखिन्छ । विद्युत् प्राधिकरणले प्रकाशित गरेको आधिकारिक डकुमेन्टहरुमा यो कुरा उल्लेख छ । २०७३/०७४ मा आएर ४ अर्ब ७७ करोड युनिट बिजुली प्रणालीमा गएको छ । यसको अर्थ १ अर्ब ५ करोड युनिट बिजुली २०७२/०७३ बाट २०७३/०७४ पुग्दासम्म वृद्धि भयो । त्यो भनेको ३० प्रतिशत वृद्धि हो । ३० प्रतिशत बिजुली आपूर्ति वृद्धि हुँदा त्यसबेला लोडसेडिङ अवश्य न्युनिकरण भयो ।

    अब यहाँ कुरा आयो बिजुली कहाँबाट थपियो भन्ने । बिजुली थपिनुमा भारतबाट हुने आयात र हाम्रो आन्तरिक उत्पादन बढ्नुमा मुख्य भूमिका रह्यो । विद्युत्का ग्राहक संख्या पनि बढ्दै गए । विद्युत् उत्पादन पनि बढ्दै बढ्दै गयो । त्यो बेला जडित क्षमता हजार मेगावाट भन्दा तल थियो । अहिले ३४ सय मेगावाट पुगेको तथ्यांक छ । तर, दुर्भाग्यवश हजार मेगावाट हुँदाको जुन परिस्थिती थियो, अहिले ३४ सय मेगावाट हुँदा पनि प्रणालीमा त्यही अवस्था देखिन्छ ।

    २०७३/०७४ मा पनि औद्योगिक क्षेत्रलाई लोडसेडिङमा राखेर ग्राहस्थतर्फको बिजुली आपूर्ति बढाइयो । भारतबाट पनि आयात बढाउँदै लगेका छौँ । हाम्रो आन्तरिक क्षमता पनि बढ्दै गएको छ । त्यतिखेर १४ सय १५ सय मेगावाटको पिक डिमाण्ड थियो भने अहिले जम्मा १८ सय १९ सय मेगावाटको हारहारीमा पिक डिमाण्ड छ । यो बीचमा कहाँ के उपलब्धि भयो ? कहाँ के काम भयो ? त्यसैले आठ वर्षसम्म त्यहाँभित्र के भएछ भनेर खोज्ने बेला आएको छ ।

    मूलतः दुई वटा कुरामा आठ वर्षको अवधिमा ऊर्जा क्षेत्रमा केही नभएको देखियो । लोडसेडिङ अन्त्य हुन सबैभन्दा पहिलो चाहिने भनेको बिजुली हो । बिजुली नभई बाँकी कुरा गर्नुको कुनै अर्थ छैन । दोस्रो भनेको बिजुलीलाई अन्तिम प्रयोगकर्तासम्म पुर्याउने प्रसारण र वितरण पूर्वाधार त हामीलाई चाहियो । आठ वर्षको ‘रिभ्यू’ हेर्ने हो भने चमेलिया आयोजना प्रणालीमा जोडिसकेपछि विद्युत् प्राधिकरणको आफ्नो कुनै पनि आयोजनाहरु आएनन् ।

    आठ वर्षदेखि प्राधिकरणले एक मेगावाट बिजुली उत्पादन गरेको छैन । यसबीचमा विद्युत प्राधिकरण ‘प्लान होलिडे’ मा रहेको छ । प्लान होलिडेमा रहेपछि बिजुलीको माग तात्विक रुपमा नबढे पनि जलासय (स्टोरेज) आयोजनाहरु प्रणालीमा नथपिँदा समस्या भयो । नदी प्रवाही (आरओआर) ले त कति नै धान्छ र । यहाँ आन्तरिक उत्पादनबाट सुक्खायामको माग धान्न नसक्दा हामीले आयात गर्नुपरेको छ । आयात गर्ने पनि त्यही एउटा लाईन छ ।

    भारतसँग तीन मोडमा विद्युत् आयात गर्छौं । ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट इण्डियन एक्सचेन्ज मार्केटमा बिडिङ प्रक्रियामार्फत हामी बिजुली आयात गर्छौँ । अर्को हाम्रो पावर एक्सचेन्जअन्तर्गत आयात हुन्छ भने तेस्रो भनेको टनकपुरबाट आयात हुने गरेको छ । त्यो आयातमा पनि खुल्ला पहुँच छैन । त्यसैले हरेक वर्ष नविकरण गर्नुपर्ने हुन्छ ।

    विगत वर्षदेखि भारतले पनि बिजुली निर्यातमा कटौति गरेको देखिन्छ । गतवर्ष पनि भारतले राष्ट्रिय चुनावलाई देखाएर सोलार आवरमा मात्र बिजुली आपूर्ति गरेको हामी सबैलाई थाहा छ । यस वर्ष पनि सुक्खायामका निम्ति मार्च १५ देखि मे सम्मको अवधिमा सोलार आवरमा मात्र बिजुली उपलब्ध गराउने र अहिलेको अवधिमा पिक आवरका लागि स्वीकृति प्राप्त भएको छैन । जम्मा परिमाण पनि डिफाइन गरेको छ । ६ सय मेगावाट ढल्केबर–मुजफ्फरपुर डिएम लाईनबाट पावर एक्सचेन्ज मार्केटबाट किन्न सकिने, ५४ मेगावाट टनकपुर महेन्द्रनगर १ सय ३२ केभिबाट आयात गर्न सकिन्छ ।

    यद्यपि, बिहारबाट पावर एक्सचेन्जअन्तर्गत आयात गर्न सकिने प्रावधान खुल्ला भए पनि अहिले विद्युत् प्राधिकरणले त्यो विकल्पलाई प्रयोग नगरिकन केवल भारतले बिजुली दिएन भन्ने बाहना बनाएको छ ।

    माथिल्लो तामाकोसी जटिल पूर्वाधार पनि होइन । जटिल पूर्वाधार त अहिले पनि ढल्केबर–मुजफ्फरपुर प्रसारण लाईन नै हो । त्यो लाईन कुनै तरिकाले बिग्रियो भने तीन महिना बन्द भयो भने यहाँ ठूलो समस्या नै हुन्छ । अहिले पनि त्यसैले नै धानेको छ । तामाकोसी बन्द हुँदा आपूर्ति व्यवस्थापना केही बिग्रिएकै छ । तर, त्यसलाई बहाना बनाएर लोडसेडिङ नै गर्नुपर्ने अवस्था भने देखिँदैन । किनभने गत वर्ष माथिल्लो तामाकोसी चालू भएकै अवस्थामा पनि उद्योगहरुमा लोडसेडिङ त भएकै थियो ।

    हामीले आयातको परिमाण बढाउँदै गयौँ र त्यसले गर्दा बिजुलीमा भारतसँगको परनिर्भरता बढ्दै गयो । मूल चिन्ताको विषय के हो भने हाम्रो आन्तरिक उत्पादन बढाउँदै जाँदा आत्मनिर्भरतातर्फ बढ्दै जानुपर्नेमा त्यसो हुन सकेको छैन । विगतमा पनि समस्या वर्खायाममा भन्दा सुख्खायाममा नै हो । सुख्खायाममा पनि हामी भारतबाट हुने आयातमा नै भर पर्यौं । परिमाण घट्दै जानुपर्नेमा बढ्दै गएको देखिन्छ, यो ठूलो चिन्ताका विषय हो । अहिले एक हजार मेगावट आयात गरे पनि प्रणालीमा सन्तुलन कायम राख्न गाह्रो भएको देखिन्छ । अझै १० वर्ष विद्युत्को क्षेत्रलाई पछाडि धकेल्ने काम भयो ।

    अहिले १८ सय मेगावाट बिजुली माग छ, तर आपूर्ति १४ सय मेगावाट मात्र छ । अब चार सय मेगावाट बिजुली त जहाँ काटे पनि काट्नु त पर्यो । किनकी माग र आपूर्तिको सन्तुलन त मिल्नु पर्यो । तर, पछिल्लो समय जसको पनि निशाना भनेको औद्योगिक क्षेत्र भयो । उद्योगको बिजुली काटेपछि लोडसेडिङ पनि भएन, प्राविधिक समस्या भन्न पनि पाइयो । यसका बहसका आफ्नै पाटाहरु छन् । अहिले उद्योगको पक्षमा बोल्ने वातावरण पनि छैन । तर, वास्तविकता के हो भने प्रणालीमा ४ सय मेगावाट बिजुली कम छ, त्यो कहिँ न कहिँ काटेर सन्तुलन मिलाउनु पर्छ । अहिले मात्र होइन विगत ७/८ वर्ष देखि नै उद्योगको लाइन काटेर ग्राहस्थमा दिएको देखिन्छ ।

    एक, दुई वर्षसम्म त यो सिद्धान्त ठिकै लाग्ला तर सधैँ यसरी चलाउने हो ? हामीले ऊर्जाको क्षेत्रमा गर्ने विकास यही हो ? जब कि हाम्रो राष्ट्रिय लक्ष्य भनेको जलविद्युत् विकास गरेर गरिवी निवारण गर्ने लक्ष्य हो । त्यसैले यसले कूल ग्राहस्र्थ उत्पादन (जिडिपी) मा योगदान गर्नुपर्ने हुन्छ । उत्पादनशील क्षेत्रमा बिजुली काट्ने र उत्पादन नहुने ठाउँमा केन्द्रित हुँदा कुन लक्ष्य पूरा हुन्छ ? यसो भनिरहँदा आम ग्राहकलाई प्राथमिकता दिनु हुँदैन भन्ने होइन । जनताका घरमा बिजुली हुनुपर्छ । तर, उद्योगीहरु जनता भन्दा बाहिरका हुन् भन्ने परिभाषामा राखिदिँदा समस्या अहिले बल्झियो ।

    यस्तो अवस्थामा पनि देशका पूर्वप्रधानमन्त्रीहरु देश लोडसेडिङ मुक्त भनेर तालि ठोकेर हिँड्ने ? यो सोच नै दरिद्र हो कि ? हामीले जे बोले पनि तालि पिट्ने मानिसको कमी छैन भन्ने बुझाई हो कि ? हामीले विकास गर्न खोजेको पद्धती र प्रणाली के हो ? हामी समग्रमा नेपालीहरु, देश गरिव छ भन्छौँ, तर हाम्रो देश गरिब होइन । यति सुन्दर देश छ, यति धेरै स्रोत साधन छन् । हाम्रो सोच चाहिँ गलत हो । यो सोचबाट माथि उठ्न हामीले सिक्नुपर्छ ।

    ‘ग्लोबल भिलेज’को दुनियामा के भइरहेको छ भनेर पनि हामीले सोच्नुपर्छ । मपाईँत्व गरेर आफ्नो कुरा ‘हुक एण्ड क्रुक’ ठीक भन्ने यो सोच त निरंकुश हो । मान्छे हो कमी कमजोरी हुन्छन् तर सत्यलाई सत्य भन्न किन डराउन पर्यो ? तर, यहाँ त्यो चिज देखिएको छैन । आफ्नो कुरा जताबाट पनि ठीक र अरुले त्यस्तो कुरा गर्यो भने मतियार ? यो खालको भाष्य निर्माण गरेर हामी समाजलाई कता डोहर्याउन खोज्दैछौँ ? यहाँ मात्र होइन अन्य क्षेत्रमा पनि यो चरित्र रहेको देखिन्छ । यो रहेसम्म देश अगाडि बढ्न सक्दैन ।

    रणनीतिक प्रसारण लाईनहरु अगाडि बढ्न सकेन । ८ सय मेगावाट डिएम लाईनलाई क्यापिङ गरेको छ । भारतबाट आयात बढाउँदै गयौँ । अहिले भारतले हामीलाई दुई हजार मेगावाट बिजुली बर्खायाममा निर्यात गर्न स्वीकृति दियो भने लाने बाटो खोई ? १० वर्ष भईसक्यो डिएम लाईन बनेको, त्यहाँ काम गर्नुपर्ने थिएन ? न्यू बुटवल गोरखपुरको प्रसारण लाईनको कुरा उठेको ११ वर्ष भयो, त्यो लाइन अझै चार वर्ष त्यो पूरा हुनेवाला छैन । त्यो पूरा गर्नु पर्दैनथ्यो ? समयले हामीलाई पर्खिँदैन नि !

    २०७२ मा हामिले ऊर्जा विकास दशक भनेर लक्ष्य निर्धारण गरेका थियौँ, अहिले २०८२ आउन लाग्यो । फर्केर मूल्यांकन गर्दा हामी १० वर्षको अवधिमा १० हजार मेगावाटको लक्ष्यमा थियौँ, जुन राष्ट्रिय लक्ष्य थियो । त्यो कुनै पार्टी विशेषको को मन्त्री थिए, को के थिए भन्ने कुरा त गौण हो । त्यो त राज्यले आत्मसाथ गरेको नीति थियो । त्यो नीतिलाई पछि आउनेले काम देखाउने नाममा बढाउँदै लगे । अब प्रगति कति भयो भनेर मूल्यांकन गर्दा जम्मा ३४ सय मेगावाट बिजुली प्रणालीमा जोडिएको छ । ऊर्जा सुरक्षाको लागि भनेर त्यसमा पनि ब्रेक डाउन गरिएको छ । ऊर्जा सुरक्षाको लागि जेनेरेशन मिक्सको प्रपोसन हेड डिफाइन गरिएको थियो ।

    त्यसमा के भनिएको छ भने स्टोरेज र पम्प स्टोरेजको ४० देखि ५० प्रतिशत हुनुपर्छ, अर्धजलासय (पिआरओआर) १५ देखि २० प्रतिशत हुनुपर्छ, आरओआर २० देखि २५ प्रतिशत हुनुपर्छ र वैकल्पिक इनर्जी ५ देखि १० प्रतिशत हुनुपर्छ । जबको ३४ सय मेगावाटको स्थापित क्षमतामा भएको स्टोरेज प्लान्ट कुलेखानीको १ सय ६ मेगावाट मात्र छ । त्यो भनेको शून्य दशमलम ०३ प्रतिशत पनि होइन । त्यो इनर्जी मिक्सको लक्ष्यमा माइनस एक प्रतिशतभन्दा पनि तल हाम्रो प्रगति छ । आरओआरमा हामी लक्ष्यभन्दा धेरै प्रगति गरिहेका छौँ तर आरओआर मात्र बढाउँदा के हुन्छ भन्ने त देखियो नि ! आरओआर मात्र बढाउँदै जाँदा फेरि पनि सुख्खायामको माग र आपूर्तिको चक्रमा असन्तुलन हुने रहेछ भन्ने देखियो ।

    अहिले माथिल्लो अरुण, दूधकोसी, उत्तर गंगा, तमोर र बुढी गण्डकी आयोजना हो, अहिले पाईप लाईनमा भएको । यो कुनै पनि आयोजना सुरु गर्न सकिराखेका छैनौँ । अब कम्तिमा पनि दुई वटा आयोजना तुरुन्त सुरु नगर्ने हो भने यसले भविष्यमा ठूलो समस्या ल्याउने देखिन्छ । अहिले सुरु गरेको आयोजना सम्पन्न हुनका लागि कम्तिमा पनि एक दशक लाग्छ । अब लाग्नुपर्ने बेला आइसकेको छ ।

    यो प्लान होलिडेमा हामी अझै पनि बस्यौँ भने भविष्य साँच्चिकै अन्धकार हुने देखिन्छ । त्यसैले नेतृत्व भनेको दीर्घकालीन रुपमा प्रभाव पार्न सक्ने खालको हुनुपर्छ । साना कुराहरुमा अल्झिनु भन्दा राष्ट्रिय विद्युत् प्रणालीलाई सुरक्षित बनाउन र भविष्यका निम्ति दिगो विकासमा ध्यान दिनु अपरिहार्य छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस :

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend