पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेललाई पनि प्रतिवादी बनाइएको छ ।
उनलाई सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ । सम्पत्ति जफत प्रयोजनको लागि उनीसहित ५ जनालाई प्रतिवादी कायम गरिएको छ ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पौडेललाई पनि प्रतिवादी बनाएर अभियोग पत्र दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ ।
लामिछानेले यसरी ठगी गरेको रकम निकिताको खातामा जम्मा गरेको अभियोग छ । निकिताका नाममा भएको सम्पत्ति समेत जफत गर्न माग गरिएको हो ।
रास्वपाका सभापति लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा आज मुद्दा दर्ता भएको हो । उनीविरुद्ध कास्की जिल्ला अदालतमा ३ वटा कसुरमा मुद्दा दर्ता भएको हो ।
लामिछाने विरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता भएको छ ।