– लारा ओड्की
कोभिड – १९ को सन्दर्भमा प्रयोगमा आएका सामाजिक दुरी, कर्फ्यु तथा ट्रयाक एण्ड ट्रेस का प्रविधिहरु विश्व भरीका देशहरुमा मानव अधिकार रक्षक तथा अरु अभियन्ताहरुको खेदो खन्नका लागि प्रयोग भईरहेका थिए । तर त्यसले विरोध प्रर्दशनको विश्वब्यापी लहरको निरन्तरतालाई निस्तेज पार्न भने सकेन ।
बर्लिन । ठिक एक वर्ष अगाडी कोभिड – १९ सुरु हुँदा उदारवादी प्रजातन्त्र संकटमा थियो । सन् २००१ पछि पहिलो पटक विश्वमा लोकतन्त्र भन्दा धेरै निरंकुशतन्त्र हावि भएको थियो । राईट विङ लोकप्रियतावादीहरुले ध्यान तानिरहेका थिए ।
यसका अलवा, चाईना, रसिया, डोनाल्ड ट्रम्पको संयुक्त राज्य अमेरीका समेतका सरकारहरुबाट सर्वब्यापी तथा अपरीहार्य मानव अधिकारको मान्यताहरुमाथि प्रहार भएको थियो । अधिकांश देशहरुमा नागरिक समाजमाथिको दमन, विधिको शासन, स्वतन्त्र प्रेस र मानव अधिकारप्रतिको खतरा बेलगाम चलिनै रहेको थियो । केही लोकतान्त्रिक पद्दतीद्वारा निर्वाचित प्रतिनिधिहरु (जस्तो हंगेरीका प्रधानमन्त्री भिक्टर ओरबान अथवा टर्किस राष्ट्रपति रेक्याप ताईप एरदोगन) आँफुहरु नै उदारवादी लोकतन्त्रलाई कमजोर बनाउन उद्यत भईरहेका थिए । जसलाई केहीले ‘तानाशाहीकरणको तेस्रो लहर’ को संज्ञा दिने गरेका छन् ।
तर लोकतन्त्र विरोधि लहरले काउन्टर ट्रेण्डको सामना गर्यो । २०१९ मा धेरै देशका धेरै मानिसहरुले अभूतपूर्व रुपमा आफ्ना मतभेद तथा असन्तुष्टि प्रस्तुत गरे । अल्जेरीया, बोलिभिया, ईराक, लेवनान र सुडानका सरकारहरुलाई बाध्यकारी रुपमा हटाईयो । चिलि र फ्रान्स मा विवादास्पद विधानलाई उल्ट्याईयो ।
त्यसपछि विश्वलाई सार्वजनिक स्वास्थ्य संकट र अपूर्व आर्थिक संकुचनको भुमरीमा धकेल्दै महामारी सुरु भयो र २०१९ अंकित आन्दोलनहरु केही अवधिका लागि रोकिन पुगे ।
विश्वमा यसको प्रभाव ऐतिहासिक तथा अद्दितिय रुपमा परेतापनि जब गुनासोहरु संंवोधन भएनन् अनि असन्तोस फेरी सुरु भया । अधिकांशका लागि यो महामारी जीवनमा आइपर्ने धेरै संकटहरुको सूचीमा एउटा संकट थपिएको मात्र भयो । सुरुसुरुमा मानिसहरु प्रत्यक्ष नभेटेर नै रचनात्मक तरिकाले विरोध प्रदर्शन गरे । ‘अनलाईन ह्याज ट्याग’ देखि घरमा थुनिएर बसेकाहरुलाई प्रतिनिधित्व गर्न सार्वजनिक स्थानमा जुत्ता राखेर होस् जनताले संक्रमण फैलिने जोखिम विना आफ्ना असन्तुष्टिहरु ब्यक्त गरे ।
तत्पश्चात पुराना अनि नयाँ आन्दोलन तथा विरोध प्रर्दशनहरु सडकमै देखिन थाले । मे महिनामा अमेरीकाको मिनियापोलिस राज्यमा भएको जर्ज फ्लोईडको हत्याले अमेरीकामा मात्र होईन विश्वब्यापी रुपमा, ६० भन्दा धेरै मुलूकमा पुलिस हिंसा र प्रणालीगत नश्लवादका विरुद्द हप्तौ लामो विरोध प्रदर्शनहरु भए । चिलिले महिनौको विरोध पछि नयाँ संविधानका लागि जनमत संग्रह नै गर्यो । हङकङमा मानिसहरु प्रजातन्त्रका लागि निरन्तर लडि नै रहे । २०२० मा बेलारुस देखि थाईल्याण्ड ह्ँदै भारत सम्म शान्तिपूर्ण प्रदर्शनहरु सुरु हुन थाले ।
उही अभिप्रायले धेरै ठाउँका सरकारले महामारीका बाहानामा फरक मतलाई निस्तेज पार्ने, लोकतान्त्रिक उपलब्धीहरुलाई फिर्ता लिने, आलोचक र प्रतिपक्षहरुको घाँटि निमोठ्ने, मानव अधिकारका मान्यताहरुको धज्जीया उडाउने र नागरिक समाजलाई दमन गर्ने कार्य गरे । ‘ईन्टरनेशनल फाउण्डेशन फर इलेक्टोरल सिस्टम’ ले ६९ वटा चुनाव सारिएको तथ्य प्रस्तुत गर्यो । ‘कोभिड– १९ सिभिक फ्रिडम ट्रयाकर’ले १३० देशहरुमा सामुहिक भेला हुनमा कडाई गरेको पायो जहाँकी ५० देशमा अभिब्यक्ती स्वतन्त्रतालाई असर पार्ने उपायहरु रहेको भेटियो ।
निश्चयनै, केही मानवाधिकार संगठन र आधिकारिक निकायहरुलाई सार्वजनिक स्वास्थ्य संकटका बखत अधिकार तथा स्वतन्त्रतामा कटौती गर्नु सरकारको वैधानिक प्रतिक्रया हो भन्ने लाग्यो । तर कन्ट्याक ट्रेसिङका प्रविधि या आपतकालिन कानूनहरुको स्वचालित रुपमा तिनीहरुको वैधताको समय र दायरा सीमित गरेर निश्चित अवधि तोकिनुपर्दछ । चाहे प्रदर्शन गर्न होस या पुजा गर्न, भेला हुन पाउने अधिकारलाई सीमित पार्ने सामाजिक दुरी आवश्यक त पर्छ तर त्यो अस्थाई, समानुपातिक र भेदभावरहित हुनुपर्दछ । सरकारहरुले ती अधिकारबीचका समानतालाई स्वीकार गर्नु पर्छ र तिनीहरुबिच पारदर्शी, सद्भावपूर्ण र बुद्दीमतापूर्ण ढङ्गले सन्तुलन कायम गर्नु पर्छ ।
हंगेरीलाई उदाहरणको रुपमा लिँदा, गलत सूचना सम्प्रेषण रोक्ने प्रयासले पनि स्वास्थ्य संकट लाई लिएर सरकारले गरेका कार्यसम्पादन प्रति जनताले वैधानिक रुपमा आवाज उठाउने क्षमतालाई असर गर्ने रहेछ भन्ने प्रमाणीत हुन्छ ९किनकी तीनिहरु महामारी–सम्बन्धि आपतकालिन नितीहरुका आधारमा थुनिएका छन । २८ देशहरुमा वेभसाईटहरु ब्लक गरिएको थियो अथवा प्रयोगकर्ताहरुलाई संवेदनशिल तथा प्रतिकुल भनिएका सामाग्रीहरु बाध्यकारी रुपमा हटाउन लगाईएको थियो । कम्तिमा पनि १३ देशहरुमा महामारीका दौरान आवश्यक सूचना तथा जीवन–रक्षा सेवाहरु बाट आम मानिसहरुलाई बेवास्ता गर्दै २०२० जनवरी देखि ईन्टरनेट तथा फोन सेवा बन्द गरिएको छ ।
जब राज्य सामाजिक दुरीका नियमहरु, कर्फ्यु तथा ट्रयाक एण्ड ट्रेसका प्रविधिहरु अगुवा तथा आलोचकहरुलाई दुख दिनका लागि प्रयोग गर्छ, हामीलाई अझ बढी सशक्त शान्तिपूर्ण प्रदर्शनको आवश्यकता पर्दछ । यसै कारणले विश्वब्यापी विरोध प्रदर्शनहरु निरन्तर उठिरहेका हुन् । यी आन्दोलनले युवा, महिला, र चेपिएकाहरुलाई जागरुक बनाईरहेको छ । र यी आन्दोलनहरुले एक आपसमा ऐक्यबद्दता जनाउँदै, परिचालन र उत्प्रेरित गर्दै पाठ सिकिरहेका छन् ।
लोकतन्त्र निर्वाचन र संस्थाहरु मात्र होईन । यो शक्तिको पुनर्सम्झौता र वितरणको निरन्तर प्रक्रिया हो । यो महामारी पछिको सबैका लागि न्यायपूर्ण विश्व प्राप्त गर्ने सम्भावित सबैभन्दा उत्तम विकल्प पनि हुन आउछ । आजका दिनमा यो गम्भीर रुपमा दबेको छ । किनकी वास्तवमा अहिले अस्तित्वमा रहेको उदारवादी लोकतन्त्रले हामी सबैका लागि गरेको वाचा पुरा गर्न सकेको छैन । तर विश्वब्यापी प्रदर्शनले त्यसमा सहभागी सबैको समान तथा साझा बुझाईलाई प्रतिविम्बित गर्दछ । त्यो साझा बुझाई होः लोकतन्त्रको कमिकमजोरी सुधार्ने सबैभन्दा उम्दा विकल्प लोकतन्त्रकै अभ्यास हो ।
(हेनरिक बोल फाउन्डेसनको अन्तर्राष्ट्रिय लोकतान्त्रिक कार्यक्रम प्रमुख ओड्कीको प्रोजेक्ट सिण्डीकेटमा प्रकाशित लेख हिमाल पौडेलले अनुवाद गरेका हुन । नेपालको पछिल्लो राजनीतिक अवस्थासँग सान्दर्भिक देखिएकाले यो लेख प्रस्तुत गरिएको हो – प्रधान सम्पादक ।)