logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • निकासी पैठारी संघमा अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति

    निकासी पैठारी संघमा अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति

    77
    Shares
    निकासी पैठारी संघमा अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति

    काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा शिवकुमार अग्रवाल चयन भएका छन् । आइतबार काठमाडौंमा सम्पन्न संघको ४४औं वार्षिक साधारणसभाबाट आगामी कार्यकालका लागि अग्रवालको नेतृत्वमा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन भएको हो ।

    नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा अनिलकुमार अग्रवाल, द्वितीय उपाध्यक्षमा गौरव शारदा र महासचिवमा जयन्तकुमार अग्रवाल चुनिएका छन् । त्यसैगरी प्रथम सचिवमा स्वाती रुंगटा अग्रवाल, द्वितिय सचिवमा विष्णुकुमार जोशी र कोषाध्यक्षमा ऋषिराज मोर चुनिएको संघले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

    कार्यसमितिमा आकाश गोल्छा, कुमारबहादुर कार्की, गोविन्दलाल संघई, दिपेश खेतान अग्रवाल, निर्मल पौडेल, प्रदीप राजगाढिया, प्रभातकुमार सर्राफ, बसन्त अग्रवाल, मदन मित्तल, मयंक केडिया, रामचन्द्र खेतान, विमल सिद्धार्थ वैद, सुमितकुमार वंशल र संजय अग्रवाल सर्वसम्मतिबाट चुनिएका छन् ।

    नवनिर्वाचित कार्यसमितिको परामर्शमा अध्यक्ष शिवकुमार अग्रवालले अभिनव चुरिवाल, पंकल जालान, रुपाली सिकारिया र डिल्लीरत्न तुलाधरलाई कार्यसमितिमा मनोनीत गरेका छन् । संघको विधानमा कार्यसमितिमा २० जना सदस्य प्रत्यक्ष निर्वाचनाबाट र चारजना सदस्य अध्यक्षले निर्वाचित कार्यसमितिको परामर्शमा मनोनीत गर्ने प्रावधान छ । निवर्तमान अध्यक्ष र त्यसअघिका अध्यक्ष कार्यसमितिमा पदेन सदस्यका रुपमा रहने व्यवस्था संघको विधानमा छ ।

    नवनिर्वाचित अध्यक्ष अग्रवालले ‘सशक्त व्यवसाय, समृद्ध राष्ट्र निर्माण’ नारालाई निर्देशक सिद्धान्त मानेर व्यवसायमैत्री वातावरणलाई अझ मजबुत बनाउने र व्यवसायीको हकहितको पक्षमा पैरवी गर्नेतर्फ नयाँ कार्यसमितिको प्रयास केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    संघको ४४औं वार्षिक साधारणसभा उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीका आर्थिक एवं विकास सल्लाहकार तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. युवराज खतिवडाले पछिल्लो ५÷६ वर्षमा सरकारले लिएको नीतिले नै अर्थतन्त्रको अवस्था बिग्रिएको भन्दै त्यसलाई सही बाटोमा ल्याउन वर्तमान सरकार लागिपरेको बताए । संघले उठाएका थुप्रै मुद्दामा आफ्नो सहमति रहेको भन्दै डा. खतिवडाले त्यसमा सुधार गरिने तर सुधार प्रक्रियाले समय लिन सक्ने बताए ।

    उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्ने क्रममा संघका अध्यक्ष विनोद सेठियाले आयातनिर्यात व्यापार एवं समग्र अर्थतन्त्रका विविध विषयहरु उठाएका थिए । त्यसैगरी कार्यसमिति सदस्य जयन्तकुमार अग्रवालले व्यवसायको वर्तमान अवस्था र सुधारका लागि चाल्नुपर्ने कदमबारे सशक्त प्रस्तुति दिएका थिए । नीतिगत र प्रक्रियागत कमजोरीका कारण व्यावसायिक क्षेत्रले भोग्नुपरेका समस्यालाई मिहिन ढंगले उतारिएको प्रस्तुतिमा समस्या समाधानको उपायसमेत सुझाइएको छ ।

    उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा सहभागी भएका प्रधानमन्त्रीका सल्लाहकार डा. युवराज खतिवडाले अध्यक्ष सेठिया र कार्यसमिति सदस्य अग्रवालले प्रस्तुतिकरणमार्फत उठाएका विषयमा सहमति जनाउँदै ती सबै मुद्दाहरु लिखित रुपमा आफूलाई उपलब्ध गराउन आग्रह गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend