काठमाडौं । नेपाली राष्ट्रिय टोलीका अलराउन्डर कुशल मल्लले युएईको इन्टरनेसनल लिग टी–२० खेल्ने भएका छन् । उनलाई डेजर्ट भाइपर्सको टिमले तेस्रो सिजनका लागि अनुबन्ध गरेको हो ।
आगामी महिना सुरू हुने सन् २०२५ को सिजनका लागि मल्लसँग डेजर्ट भाइपर्सले सम्झौता गरेको हो ।
मल्ललाई नेदरल्याण्ड्सका अलराउण्डर बास डी लिडेको स्थानमा टिममा भित्र्याइएको हो ।यसअघि टोलीमा रहेका नेदरल्यान्ड्सका अलराउन्डर लिडे घाइते भएपछि उनको स्थानमा मल्लले खेल्ने भएका हुन् ।
भाइपर्सले उनको सम्झौता रकम भने खुलाएको छैन । तर पनि यो लिगको खेलाडीको तलब कम्तिमा पनि २० हजार अमेरिकी डलर रहेको छ ।
कुशल आबद्ध भाइपर्सको टोलीमा एलेक्स हल्स, विनन्दु हसरंगा, लोकी फर्ग्युसन, मोहमद अमिर, ड्यान लाउरेन्स, साम कुरान लगायतका खेलाडी छन् ।
मल्लले भर्खरै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोज टिमको कप्तानी समेत गरेका थिए ।