पुस २१ काठमाडौं, गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज सुरु हुँदै छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले माग गरेपछि बैठक बोलाइएको हो।
अधिवेशनमा कोरोना भाइरसको महामारीका विषयमा छलफल हुने भएको छ।
संविधानको धारा १८३ को उपधारा ३ मा प्रदेशसभाको अधिवेशन वा बैठक चालू नभएको अवस्थामा प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एकचौथाइ सदस्यले लिखित अनुरोध गरेमा विशेष अधिवेशन बोलाउनुपर्ने व्यवस्था गरिएको छ । त्यसैअनुरूप कांग्रेसका १५ र जसपाका दुई सदस्यले दिएको निवेदनका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो एक बजे पोखरा सभागृहमा विशेष अधिवशेन आह्वान गरेका हुन्।
नेकपामा आएको विभाजनले अन्य प्रदेशमा सरकार फेरबदलको कसरत चलिरहेको भए पनि गण्डकीमा भने असर परेको छैन्। ६० सदस्यीय गण्डकी प्रदेशसभामा नेकपाका सभामुखबाहेक ३९ सदस्य छन् । जसमध्ये ओली पक्षका २७ र प्रचण्ड–नेपाल पक्षका १२ जना छन्। त्यस्तै, कांग्रेसका १५, जनमोर्चाका तीन र जसपाका दुई सदस्य छन् । जनमोर्चाले ओली पक्षका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वकै सरकारलाई समर्थन गर्ने भएपछि प्रचण्ड–नेपाल पक्षले सरकार फेरबदलका लागि कसरत नगरेको हो।