पुस २१ काठमाडौं, प्रचण्ड- नेपाल समुहको नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीमा आफ्नो विरोध गर्नेलाई एकएक गरि सिध्याउने नियत रहेको आरोप लगाएका छन्। मंगलबार जनता समाजवादी पार्टीले राजधानीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ओलीमाथि यस्तो आरोप लगाएका हुन्।
केपी ओलीले आफ्नो विरोध गर्नेलाई एकएक गरि सिध्याउनुहुन्छ, नेपालले भने, ‘अहिले पार्टीभित्रबाट सुरु गर्नुभएको छ, अरुलाई पनि सिध्याउनतिर लाग्नुहुन्छ।’
अध्यक्ष नेपालले ओली संघीयता, गणतन्त्र र समावेशिताको पक्षमा नभएको आरोप लगाए। ‘उहाँलाई लोकतन्त्र मात्र होइन गणतन्त्र मन परेको छैन, उहाँ गणतन्त्र, संघीयता समावेशिता प्रेमी होइन’, उनले भने, ‘तर विडम्बना उहाँ अध्यक्ष पदमा आशीन हुनुभयो, हामी सबै टुलुटुलु हेर्न विवश भयौं।’
प्रधानमन्त्री ओलीको मुखबाट देशभित्र र बाहिर के प्रभाव पर्छ भन्नेसमेत नसोची बोल्ने गर्दा आफूहरूको शीर झुक्ने गरेको उनले बताए। आफैले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्री अहिले घाँडो भएको उनको भनाई थियो।