logo

२०८१ माघ १ मंगलबार

logo
  • मंगलबार, १ माघ २०८१
  • कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन कांग्रेस-एमाले सहमत

    कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन कांग्रेस-एमाले सहमत

    1.4K
    Shares
    कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन कांग्रेस-एमाले सहमत

    काठमाडौँ । निजामती कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमाले सहमत भएका छन् । बिहीबार राज्य व्यवस्था समितिको बैठकमा संघीय निजामती सेवा विधेयकमाथिको छलफलमा कर्मचारीका ट्रेड युनियनबारे दुई दलका प्रमुख सचेतकले समान धारणा राखेका हुन् ।

    विधेयकका सम्बन्धमा पार्टीका प्रमुख सचेतक तथा सचेतकहरूसँगको छलफलमा बोल्दै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कर्मचारीहरूलाई दलगत ट्रेड युनियन खोल्न दिन नहुने बताए । उनले कानुनमा समेत सरकारी संस्थामा आबद्ध व्यक्तिले कुनैपनि पार्टीको सदस्यता लिन नपाउने व्यवस्था गरेको बताए ।

    उनले कर्मचारीहरूको एउटा मात्र ट्रेड युनियन राख्नुपर्ने बताए । निजामती कर्मचारीका लागि एउटा मात्र ट्रेड युनियन राख्नुपर्ने र अधिकृतभन्दा माथिल्लो दर्जाका कर्मचारीले त्यसको सदस्यता लिन नपाउने व्यवस्था गर्नुपर्ने बताए ।

    उनले भने, ‘यो पार्टीगत ट्रेड युनियन त खोल्न दिनै हुँदैन । नेपालको कानुनले पनि सरकारी पेरोलमा रहेकाहरूले कुनैपनि पार्टीको सदस्यता लिन पाइँदैन भनेर व्याख्या गरेको छ । त्यसैले हामीले यो ट्रेड युनियनहरू हामीले चाहिँ बोर्ड जम्मै झुन्ड्याएर घर बनाइदिएर राखेका छौँ । यो सबै पार्टीले गरेका छौँ । यो पार्टीकै धारणा हो ।’

    बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कर्मचारीको ट्रेड युनियनलाई व्यवस्थित बनाउन जरुरी रहेको बताए । उनले कर्मचारीमा पेसागत प्रवर्द्धनको हितसँग जोडिएका कुराहरूमा हामीले बन्देज लगाउन उपयुक्त नभएपनि ट्रेड युनियनहरू राजनीतिक क्रियाकलापमा संलग्न हुने गरेको बताए । उनले कर्मचारीको लागि एक मात्र टे«ड युनियन राख्नुपर्ने बताए । उनले राज्यको नीतिगत निर्णयमा सहभागी हुने कर्मचारीले कुनैपनि ट्रेड युनियनको सदस्यता लिन नपाउने व्यवस्था गर्नुपर्ने बताए ।

    उनले भने, ‘विधेयकमा ट्रेड युनियनको सन्दर्भमा व्यापक छलफलहरू भएको छ । ट्रेड युनियनलाई व्यवस्थित बनाउँदै लैजानुपर्छ भन्ने कुरा आएको छ । नेपालको लोकतन्त्र उपलब्धिमा ट्रेड युनियनले असाधारण योगदान पुर्‍याएको छ । यो यथार्थ हो । यसका लागि उहाँहरूप्रति हामीले सम्मान गर्नुपर्दछ ।’

    दुवै राजनीतिक दलहरूले कर्मचारीको एउटै ट्रेड युनियन बनाउनुपर्ने र उक्त युनियनमा नीतिगत निर्णयमा सहभागी हुने कर्मचारी आबद्ध हुन नपाउने व्यवस्था गर्नुपर्ने धारणा राखेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend