पुस २३ काठमाडौं, नेकपा उपाध्यक्ष वामदेव गौतमले आफू सरकारको आलोचक भएको बताएका छन् ।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा उनले ओली आफ्नो ४३ वर्षदेखिको मित्र र सहयोद्धा भएको र आफूले धेरै पटक शैली सुधार गर्न सुझाव दिएको बताए । उनले भने ‘प्रधानमन्त्रीको म कटु आलोचक हो, उहाँको कार्यशैली गर्दा हाम्रो पार्टीमा धेरै विवाद उत्पन्न गराएको छ ।’
गौतमले प्रधानमन्त्री आफू अल्पमतमा परेपछि राजीनामा दिनुपर्ने पनि बताए । उनले आफू त्यो ठाउँमा भएको भए राजीनामा दिने र पार्टी जोगाउने बताए । प्रधानमन्त्री समक्ष पार्टी जाेगाउने अन्तिम विकल्प भए पनि त्यसाे हुन नसकेकाे उनकाे भनाइ थियाे ।
उनले भने ‘पार्टीको जीवन अन्तरपार्टी संघर्षमा हुन्छ । नेता त्यो हुन्छ, जसले देखा परेको विषय सही किसिमले निराकरण गर्न सक्छ ।’
गौतमले पार्टी विभाजनको औचित्य नरहेको भन्दै आफू अहिले कुनै समूहमा नरहेको बताए ।
नेकपाको मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै अदालतबाट निर्णय भएमा नेकपाको एउटा पक्ष एमाले र अर्को पक्ष माओवादी केन्द्र बन्न सक्ने उनकाे अनुमान थियाे । तर आफू भने फेरि पनि एकता कायम गर्न लागिरहेको र त्यसका लागि संगठनको संरचना बनाएर जाने उनकाे भनाइ थियाे ।