काठमाडौं । प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाको ओली समूहका अध्यक्ष केपी शर्मा ओली शुक्रबारदेखि देश दौडाहामा निस्कने भएका छन् ।
शुक्रबार उनी सुदूरपश्चिम प्रदेशमा आयोजना हुने सभालाई सम्बोधन गर्न त्यहाँ जाने तयारी छ ।
नेकपा ओली समूहले प्रदेशस्तरीय सभा गर्ने क्रममा सुदूरपश्चिममा पहिलोपटक सभा गर्न लागेको हो । पार्टी फुटपछि ओलीले सम्बोधन गर्ने राजधानी बाहिरको यो पहिलो सभा हो ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, वन तथा वातावरणमन्त्री प्रेम आले र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना जनसभाको तयारीका लागि खटिएका छन् ।
प्रधानमन्त्री सहभागी हुने कार्यक्रमको सुरक्षाका लागि धनगढीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदेश प्रहरीले सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ ।
पार्टीको सभामा सहभागी हुनेले कालो मास्क लगाउन समेत प्रतिबन्ध लगाइएको बताइएकाे छ । पार्टीको सभाका लागि मोटरसाइकलमा जतिसक्दो बढी मानिस ओसार्न पनि पार्टीका नेताहरूले कार्यकर्तालाई निर्देशन दिएका छन् ।