logo

२०८१ पुष २१ आइतबार

logo
  • आइतबार, २१ पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    अबैध उत्खननले ग्रामथानमा विवाद, उत्खनन रोक्न प्रहरीलाई पत्र लेखेका प्रसाशकीय अधिकृतलाई अध्यक्षको स्पष्टीकरण

    अबैध उत्खननले ग्रामथानमा विवाद, उत्खनन रोक्न प्रहरीलाई पत्र लेखेका प्रसाशकीय अधिकृतलाई अध्यक्षको स्पष्टीकरण

    672
    Shares
    अबैध उत्खननले ग्रामथानमा विवाद, उत्खनन रोक्न प्रहरीलाई पत्र लेखेका प्रसाशकीय अधिकृतलाई अध्यक्षको स्पष्टीकरण

    मोरङ । गैर कानुनी रूपमा नहरको शाखाबाट माटो निकालेर बेच्नेहरूलाई कारबाही गर्न अनुरोध गर्दा मोरङको ग्रामथान गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई अध्यक्षले स्पष्टीकरण सोधेका छन् । मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर २ को बिर्ता जाने नहरको शाखाबाट अवैध रूपमा माटो निकालेर बेचेको भेटिएपछि प्रमुख प्रशासकीय अधिकृत राजाराम पौडेलले प्रहरीलाई रोकी दिन भन्दै पत्र पठाएका थिए ।

    पौडेलले पुस ९ गते सोमबार ग्रामथानमा रहेको झोराहाट प्रहरी चौकीलाई पत्र लेखेका थिए । उनले प्रहरीलाई गैर कानुनी रूपमा उत्खनन रोक्ने सम्बन्धमा पठाएको पत्रमा भनिएको छ, ग्रामथान अन्तरगतका विभिन्न नहर र सडकबाट गैर कानुनी रूपमा उत्खनन भइरहेको सुचना आएको र गाउँपालिकाले अनुगमन गर्दा समेत उत्खनन भइरहेको पाइएकाले गैर कानुनी उत्खनन रोकी सवारी साधन नियन्त्रणमा लिइदिन अनुरोध छ ।

    गाउँपालिका कार्यालय स्रोतका अनुसार पालिका उपाध्यक्ष, वडाध्यक्ष र अरु जनप्रतिनिधिहरुसमेत सहभागी टोलीले अनुगमन गरेको थियो । त्यसक्रममा नहरको छेउमा रहेको शाखा पैनी प्रभावित हुने गरी जथाभावी माटो उत्खनन् गरिएको भेटिएको अनुगमन टोलीले बताएका छन् । अनुगमन टोलीले तत्कालै प्रहरीलाई पत्र लेख्न भनेपछि अधिकृतले प्रहरीलाई पत्राचार गरेका थिए ।

    प्रमुख प्रशासकीय अधिकृतले प्रहरीलाई उत्खनन कार्य रोक्न पत्र पठाएको भन्दै ग्रामथान गाउँपालिकामा नव निर्वाचित अध्यक्ष नमोनारायण माझीले ११ गते स्पष्टीकरण सोधेका हुन् । अध्यक्ष माझीले प्रहरीलाई पत्र किन लेखेको कारण पेश गर्न भन्दै प्रशासकीय अधिकृतलाई स्पष्टिकरण पत्र लेखेका हुन् ।

    अध्यक्षले मागेको स्पष्टीकरण पत्रमा भनिएको छ ‘यस ग्रामथान गाउँपालिकाबाट मिति २०८१/०९/०८ गतेको दिन च. नं. १०१५, मिति २०८१/०९/०८ को गैरकानूनी उत्खनन् कार्य रोक्का गर्ने सम्बन्धमा प्रहरी चौकी, झोराहाटलाई काटिएको पत्र के–कति कारणले काटिएको हो ? स्पस्ट खुलाई दिन हुन जानकारीको लागि अनुरोध छ ।’

    माझी भरखरै सम्पन्न उप निर्वाचनमा विजयी भएका हुन् । पत्रको विषयमा चर्किएको पत्राचार श्रृंखलाले गाउँपालिकामा असामान्य अवस्था सिर्जना भएको कर्मचारीहरु बताउँछन् । प्रमुख प्रशासकीय अधिकृत पौडेलले यसबारे थप कुरा गर्न अस्वीकार गरेका छन् ।

    ‘सवै कुरा दुईवटै पत्रमा हेरेपछि थाहा हुन्छ, भएको कुरा पत्रमै उल्लेख छ’ उनले भने ।

    उत्खनन् भएको स्थान ग्रामथान १ र २ को सीमाना क्षेत्र हो । वडा नम्बर १ का वडाध्यक्ष सुरेशकुमार माझीले आफू पनि अनुगमनमा सहभागी भएको बताए । अनुगमनका क्रममा नहर र रोड नै जोखिममा पर्ने गरी माटो निकालिएको बताए ।

    ‘नहरको माटो निकालिएको रहेछ, रोडको पनि निकालेको छ, यसले त नहर पनि, रोड पनि जान्छ’ वडाध्यक्ष माझीले भने, ‘उपाध्यक्ष, हामी जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतसहितको टोलीले अनुगमन गरेको हो, अनुगमन गर्दा स्पष्टिकरण सोधेको हो भने त्यसलाई राम्रो मान्न सकिंदैन ।’

    गाउँपालिकाको अनुगमन समितिको संयोजक समेत रहेकी उपाध्यक्ष गुणावतीदेवी थारुले आफूसहित गएर अनुगमन गरेको बताइन् । उनले अनुगमनमा जाँदा नहरको दुवैतिर सडक भासिने गरी खनेको पाइएको बताइन् ।

    ‘गहिरो गरी खनेको छ, तपाईहरूले हेर्दा पनि हुन्छ, दुवैतिरबाट खन्दा त सडक नै भासिन्छ, नहर खनिरहेको छ भनेर अनुगमनमा जाँदा तीनवटा टिफर र डोजर भागिहालेछ, रोक्नुपर्छ भनेर नै अनुगमन गरेको हो’ उपाध्यक्ष थारुले भनिन् । ‘अनुगमनको संयोजक त म हो नि, सवै वडाध्यक्षसहित मैले गएर अनुगमन गरेको हो भनेर अध्यक्षलाई पनि भनेको छु, सोध्ने भए मलाई स्पष्टिकरण सोध्नु भनें, तर मेरोमात्रै पालिका भन्ने अध्यक्षको कुरा आयो ।’

    यता, गाउँपालिका अध्यक्ष माझीले भने आफू जनताबाट अनुमोदित भएको भन्दै दम्भ प्रदर्शन गरेका छन् । उनले नहर र पैनी छेउमा अवैध उत्खनन् भएको विषयमा आफ्नो विमति नभए पनि आफू काठमाडौं भएका बेला प्रहरीलाई पत्र काटिएको र त्यसबारे जानकारी नदिएकाले स्पष्टीकरण मागेको बताए ।

    ‘म ग्रामथानको अभिभावक हो, यहाँ हुने सबै गतिविधिको दायित्व मेरो हो’, अध्यक्ष माझीले भने ‘मलाई जानकारी किन दिएन त ? जनताले यसबारे सोध्यो भने मलाई थाहा छैन भन्नुपर्दा लाज हुँदैन ? यो ठूलो कुरा हो ।

    पुस १६ गते मंगलबार पत्रकार सम्मेलन समेत गरेका अध्यक्ष माझीले नहरमा अवैध उत्खनन् भएको चाहिँ स्वीकारेका छन् । अवैध उत्खनन् रोक्न प्रमुख प्रशासकीय अधिकृतले प्रहरीलाई पत्र लेख्दा के बिग्रियो ? भन्ने प्रश्नमा माझीले थपे ‘यसमा धेरै सुनियोजित कुरा छ । म काठमाडौं भएका बेला नै किन पत्र लेखियो ? मलाई फोनबाट जानकारी गराउँदा के हुन्थ्यो ?’

    अध्यक्ष माझीको भनाईले नहरबाट माटो उत्खननमा उनकै संलग्नता रहेको बुझ्न सकिन्छ । तपाईको भनाई अनुसार अबैध उत्खनन् गर्न पाउनुपर्छ भन्ने हो ? भन्ने प्रश्नमा माझीले पाउनुपर्छ भन्ने आशयको उत्तर दिएका थिए । निर्वाचनमा सघाउनेहरुलाई बाटो खन्न दिएको आरोप अध्यक्षलाई लागेको छ । पछिल्लो समयको गतिविधि हेर्दा पनि त्यस्तै देखिएको अनुगमन टोलीले बताएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend