logo

२०८१ पुष २१ आइतबार

logo
  • आइतबार, २१ पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    राम जन्मभूमिका प्रमुख अर्चक शाश्वत धामको भ्रमणमा

    राम जन्मभूमिका प्रमुख अर्चक शाश्वत धामको भ्रमणमा

    245
    Shares
    राम जन्मभूमिका प्रमुख अर्चक शाश्वत धामको भ्रमणमा

    काठमाडौं । श्रीराम जन्मभूमि न्यासका प्रमुख अर्चक सन्तोष तिवारी र विश्व हिन्दू परिषद्का विशिष्ट आचार्य दुर्गाप्रसाद गौतमले नेपालको प्रसिद्ध सनातन धार्मिक केन्द्र शाश्वत धामको भ्रमण गरेका छन् ।

    श्रीराम वेद विद्यालय अयोध्या र शाश्वत धामस्थित वैदिक कर्मकाण्ड गुरुकुलबीच भगिनी सम्बन्ध स्थापना गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको बताइएको छ । यस अवसरमा शाश्वत धामकी फाउण्डर सारिका चौधरी र गुरुकुलका प्रधानाचार्य विष्णुप्रसाद घिमिरेबीच छलफलसमेत भएको थियो ।

    दुवै संस्थाका विद्यार्थीहरूको शैक्षिक र आध्यात्मिक विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने, दुई धार्मिक केन्द्रका विद्यार्थीबीच ज्ञान आदान-प्रदान कार्यक्रम, संयुक्त अनुसन्धानका योजनाहरू, वैदिक ज्ञान-विज्ञानको अध्ययन-अध्यापन र सांस्कृतिक आदान-प्रदान जस्ता गतिविधि समावेश गर्ने विषयमा छलफल भएको छ ।

    तिवारीले भ्रमणका क्रममा शाश्वत धामको भव्य परिसर, यहाँको वैदिक शिक्षा प्रणाली र आध्यात्मिक वातावरणको प्रशंसा गरे ।

    ‘शाश्वत धामको शैक्षिक र आध्यात्मिक गतिविधिहरूले वैदिक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने निश्चित छ’, उनको भनाइ थियो ।

    सन् २०१७ मा स्थापित यस शाश्वत धामले स्थापनादेखि नै आध्यात्मिक चेतना जागृत गर्ने र वैदिक ज्ञानको प्रसार गर्दै आएको छ । यस धामले ज्ञान, भक्ति, कर्म र योग मार्फत मानिसहरूको आध्यात्मिक र मानसिक विकासमा विशेष जोड दिँदै आएको छ ।

    हालसम्म ४९ लाखभन्दा बढी दर्शनार्थी एवं धार्मिक पर्यटकहरूले यस धामको भ्रमण गरिसकेका छन् ।

    आगामी दिनमा ५० लाख भ्रमणकर्ताको ऐतिहासिक उपलब्धि हासिल गर्न लागेको अवसरमा शाश्वत धामले विशेष समारोह आयोजनाको तयारी गरिरहेको छ ।

    विश्व हिन्दू परिषद्का आचार्य दुर्गाप्रसाद गौतमले दुवै धार्मिक संस्थाबीचको सहकार्यले सनातन धर्म र वैदिक संस्कृतिको विश्वव्यापी प्रचार-प्रसारमा नयाँ ऊर्जा थप्ने विश्वास जनाए ।

    शाश्वत धाममा नियमित रूपमा वैदिक कर्मकाण्ड, योग शिविर, ध्यान साधना, सत्संग लगायतका कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् । साथै, यहाँको वैदिक गुरुकुलले परम्परागत शिक्षा प्रणालीलाई आधुनिक शिक्षासँग समन्वय गर्दै नयाँ पुस्तामा सनातन मूल्य र मान्यताहरू हस्तान्तरण गर्ने काम गर्दै आएको छ ।

    दुई धार्मिक स्थलबीचको सहकार्यले वैदिक ज्ञान र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा नयाँ अध्याय थप्ने विश्वास गरिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend