काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर बस्न नसक्ने बताएका छन् ।
नेपाली काँग्रेसले शनिबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता सिंहले प्रधानमन्त्रीले संविधानमाथि प्रहार गर्दा काँग्रेस चुप लागेर नबस्ने बताएका हुन् ।
सिंहले विश्वासको मत लिन नसकेर संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मत लिन निर्वाचन गर्छन् भनेर पत्याउन नसकिने पनि बताएका छन् ।
उनले भने ‘दुई तिहाइ मत पाएको प्रधानमन्त्री भन्ने । तर संसदमा विश्वासको मत लिन नसक्नेले निर्वाचन कसरी गराउँछ । निर्वाचन हुने ग्यारेन्टी कसले लिन्छ । त्यसैले संसद विघटनको असंवैधानिक कदम सच्चाउनुको विकल्प छैन ।’
ओली कदमकाे विरोधका लागि काँग्रेसले विभिन्न चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेकाे छ । त्यसअनुसार शनिबार देशका ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध र्याली र सभा भइरहेको पनि उनले बताए ।