मुम्बई । बलिउड अभिनेत्री कंगना रनावत आफ्नी बहिनी रंगोली चन्देलसँग मुम्बईको बान्द्रा प्रहरी चौकीमा बयान दिन पुगेकी छिन् । यी दिदीबहिनीविरुद्ध अदालतको आदेशमा १७ अक्टुबरमा बान्द्रा प्रहरी चौकीमा देशद्रोहको मुद्दा दर्ता भएको थियो ।
कंगनालाई सोधपुछका तीनपटक सम्म सूचना दिएको थियो। तर उनले भाइको विवाहको कारण देखाउँदै प्रहरी चौकी उपस्थित भएकी थिइनन् । उनले हिन्दु–मुस्लिमको बीचको सहिष्णुता खलल पारेको आरोप लागेको छ । कंगनाविरुद्ध यस्तै किसिमको मुद्दा कर्नाटकमा पनि दर्ता भएको छ ।
उनलाई किसानहरुको अपमान गरेको आरोप पनि छ । यसभन्दा अगाडि मुम्बईको उच्च अदालतले कंगना र उनी बहिनी रंगोलीको अपिलमा सुनुवाई गर्दै दुवैलाई ८ जनवरीमा बान्द्रा प्रहरी चौकीमा हाजिर हुन आदेश दिएको थियो ।
वकिल साहिल असरफ अली सैयदले बान्द्रा अदालतमा दायर गरेको निवेदनमा कंगना रनावतले ‘नेपोटिज्म र फेवरेटिज्मको हब’ भन्दै बलिउडको अपमान गरेको उल्लेख गरेका छन् ।
सामाजिक सञ्जाल तथा टिभी अन्तर्वार्तामा हिन्दु र मुस्लिम कलाकारबीच विभाजन गर्न खोजेको आरोपसमेत उनले लगाएका छन् ।
बान्द्राको मेट्रोपोलिन मजिस्ट्रेट जयदेव घुलेले कंगनाको विरुद्ध सिआरपिसीको धारा १५६ (३) बमोजिम एफआइआर दर्ता गरेर अनुसन्धान गर्न आदेश दिएका थिए ।
यही आदेशअनुसार प्रहरीले कंगना र बहिनी रंगोलीमाथि मुद्दा दर्ता गरेको हो । भाषा धर्म, जाति आदिका आधारमा मानिसहरुबीच घृणा फैलाउने प्रयास गरेमा तीन वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुन सक्ने इन्डियाको पेनल कोर्डमा उल्लेख छ ।
यस्तै सरकारको विरोधमा सामाजिक असहिष्णुता फैलाउने गतिविधि गर्ने कुनै पनि व्यक्तिलाई देशद्रोही मानिन्छ ।