logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • निजी साझेदारीमा लाइन बनाउदै ग्रिड कम्पनी, लामाबगर–बाह्रबिसे २२० केभीका लागि आशयपत्र माग

    निजी साझेदारीमा लाइन बनाउदै ग्रिड कम्पनी, लामाबगर–बाह्रबिसे २२० केभीका लागि आशयपत्र माग

    658
    Shares
    निजी साझेदारीमा लाइन बनाउदै ग्रिड कम्पनी, लामाबगर–बाह्रबिसे २२० केभीका लागि आशयपत्र माग

    काठमाडौं । सरकार स्वामित्वको राष्ट्रिय ग्रिड कम्पनी लिमिटेडले निजी साझेदारीमा विद्युत प्रसारण लाइन पूर्वाधार बनाउन लागेको छ । ग्रिड कम्पनीले तामाकोसीको सहायक नदी ल्याप्चे खोला र रोल्वालिङ खोला करिडोरमा बन्दै गरेका जलविद्युत आयोजनाहरुका लागि निजी साझेदारीमा प्रसारण लाइन बनाउन लागेको हो ।

    उक्त नदी करिडोरमा विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) लिइ उत्पादन प्रक्रियामा रहेका जलविद्युत प्रवद्र्धकलाई लामाबगरदेखि सिन्धुपाल्चोकको बाह्रबिसे २२० केभी प्रसारण लाइन साझेदारीमा बनाउन आशयपत्र मागेको ग्रिड कम्पनीले जनाएको छ । कम्पनीले १५ दिनभित्र आशयपत्र पेश गर्न निजी जलविद्युत प्रवद्र्धकलाई भनेको छ । आशयपत्रमा जलविद्युत सर्भे तथा उत्पादन अनुमतिपत्र पेश गर्नुपर्ने प्रसारण ग्रिडले जनाएको छ ।

    प्रसारण लाइन निर्माण र सञ्चालनमा विविधकरण गर्न निजी पवद्र्धकसँग लगानीमा सहकार्य गर्न लागेको कम्पनीले स्पष्ट पारेको छ । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी भन्दा माथि एमभी दुगड ग्रुपले २० अर्ब रुपैयाँ लगानीमा १ सय ६० मेगावाटको लाप्चेखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

    यस्तै सानिमा हाइड्रो ग्रुपले जुमखोलामा ५६ मेगावाटको जुमखोला आयोजना अघि बढाएको छ । माथिल्लो तामाकोसीको विकासकर्ता अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले रोल्वालिङ डाइभर्सन परियोजना निर्माण गरिरहेको छ ।

    यस्तै यही पुस २ गते सार्वजनिक निजी साझेदारीमा पहिलोपटक प्रसारण लाइन निर्माण हुनेगरी सम्झौता भएको थियो ।
    ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा तमोर–ढुंगेसाँघु २२० केभी प्रसारणलाइन निजी क्षेत्रसहितको लगानीमा निर्माण हुनेगरी राष्ट्रिय प्रशारण ग्रिड कम्पनी, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) र निजी क्षेत्रका ६ वटा प्रवद्र्धक कम्पनीबीच सम्झौता भएको छ ।

    यो प्रसारण लाइनले ७०० मेगावाट बिजुली वहन गर्नसक्ने बताइएको छ । ७७.५ मेगावाटको घुन्सा खोला र ७०.३४ मेगावाटको सिम्बुवाखोला जलविद्युत आयोजना एचआईडीसीएल, विद्युत उत्पादन कम्पनी लिमिटेड र नेपाल विद्युत प्राधिकरणले साझेदारीमा आगामी वर्षबाट निर्माण लैजाने सम्झौता भएको छ ।

    सार्वजनिक निजी साझेदारीमा प्रसारण लाइन निर्माणको प्रक्रिया धेरै अगाडि भएको भए प्राधिकरणले धेरै लगानी गर्न नपर्ने अवस्था रहेको छ । वसन्तपुरसम्म अहिलेकै मोडालिटीमा आएको भए तमोर–ढुंगेसाँघुसम्मको लगानी प्राधिकरणले गर्नुनपर्ने अवस्था छ । सार्वजनिक निजी साझेदारीमा प्रसारण लाइन निर्माण प्रक्रियालाई सरकारले सहज बनाउने हो भने ठूलो सफलता हुने देखिएको छ ।

    अहिले निजी लगानीकर्तालाई अन्तिम बिन्दु भएसम्म सरकारले प्रसारणलाइन बनाइदिनुपर्ने अवस्था रहेको छ । १६६ मेगावाटको सुपर तमोर निर्माणको तयारी छ । प्रस्तावित आयोजना ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ र ७ भएर बग्ने तमोर नदीमा निर्माण हुनेछ । क्रिष्टल पावर डेभलपमेन्ट प्रालिले निर्माण गर्न लागेको हो । क्रिष्टलपावर, रेमिट हाइड्रो, सिम्बुआ रेमिट हाइड्रोसहित निजी क्षेत्रका ५ प्रवद्र्धक कम्पनीसँग सम्झौता भएको हो ।

    उत्पादन अनुमति पाए पनि अहिलेसम्म निजी क्षेत्रले प्रसारण लाइन निर्माणको अनुमति पाएको छैन । सरकारले २०३० मा १३ हजार मेगावाट र ३०३५ मा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गरी त्यसलाई प्रसारण, वितरण, उपभोग र निर्यातको एकीकृत नीति लिएको छ । २०३० सम्ममा ६ खर्ब, २०३५ सम्ममा ७ खर्ब र २०४० सम्ममा ९.१ खर्ब रुपैयाँ प्रसारण लाइन निर्माणका लागि चाहिने भएको छ ।

    जलविद्युत आयोजनाहरुको उत्पादन मिति तय भएपनि प्रसारण लाइनको अभावमा खेर जाने अवस्था छ । प्रसारण लाइन निर्माणका लागि आवश्यक पुँजी सरकारी स्रोतबाट जुटाउनु चूनौतिपूर्ण छ । निजी क्षेत्रको सहभागिता एक मुख्य विकल्प हो ।

    यो पनि : 

    सार्वजनिक-निजी साझेदारीमा पहिलो पटक प्रशारण लाइन निर्माणको शुरुवात


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend