logo

२०८१ पुष २६ शुक्रबार

logo
  • शुक्रबार, २६ पुष २०८१
  • साढे २८ हजार मेगावाट बिजुली उत्पादन गर्न यसरी जुट्दै छ ४६ अर्ब ५० करोड डलर

    साढे २८ हजार मेगावाट बिजुली उत्पादन गर्न यसरी जुट्दै छ ४६ अर्ब ५० करोड डलर

    322
    Shares
    साढे २८ हजार मेगावाट बिजुली उत्पादन गर्न यसरी जुट्दै छ ४६ अर्ब ५० करोड डलर

    काठमाडौं । आगामी एक दशकमा साढे २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने योजना सरकारले ल्याएको छ । साढे २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने ऊर्जा मार्गचित्र मन्त्रिपरिषदबाट स्वीकृत भइ अब कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।

    कुल लक्ष्यको १३ हजार ५ सय मेगावाट आन्तरिक खपत र बाँकी १५ हजार मेगावाट बिजुली भारत र बंगलादेशमा निर्यात गर्ने महत्वकांक्षी लक्ष्य छ । २०८२ देखि २०९२ सम्म कार्यान्वयन हुने योजना कार्यान्वयनका लागि साढे ४६ अर्ब अमेरिकी डलर लाग्ने अनुमान छ । प्रस्तावित मार्गचित्र कार्यान्वयनका लागि सरकारले विभिन्न पाँच क्षेत्रबाट सो लगानी जुटाउने लक्ष्य लिएको छ ।

    मार्गचित्रमा लिएको लक्ष्य पुरा गर्न सरकारले ६ अर्ब डलर लगानी गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाबाट १० अर्ब डलर, नेपाल विद्युत प्राधिकरणले ८ अर्ब डलर, रि फाइनान्सिङ रि–इन्भेस्टमेन्ट क्लाइमेट फाइनान्सबाट २ अर्ब जुटाउने लक्ष्य छ । यस्तै गैरआवासिय नेपाली, वैदेशिक रोजगारीमा गएकाहरुबाट, वैदेशिक लगानी, अनुदान र ऋणबाट साढे ८ अर्ब डलर जुटाउने योजना सरकारले मार्गचित्रमा लिएको छ ।

    देशको बढ्दो अर्थतन्त्रको अनुपातमा आन्तरिक पूँजी परिचालनका लागि सरकारी तथा निजी क्षेत्रबाट ऊर्जा क्षेत्रले उच्च प्राथमिकता पाउने आधारमा कुल ऋण लगानीको १५ प्रतिशत रकम ऊर्जा क्षेत्रमा लगानी हुने अनुमान गर्दा सन् २०३५ सम्ममा करिब १८ अर्ब अमेरिकी डलर आन्तरिक स्रोतबाट व्यवस्थापन हुन सक्ने देखिन्छ ।

    विद्युत आपूर्तिबापत उपभोक्ताहरुबाट सङ्कलन हुने महसुल, विद्युत उत्पादनका आयोजनाहरुबाट प्राप्त हुने राजस्व र विद्युत उत्पादकहरूले विद्युत विक्रीबापत प्राप्त गर्ने रकमको अनुमानका लागि देहायबमोजिम आधारहरु लिइ गणना गरिएको छ ।

    कुल लगानी मध्ये ८ अर्ब अमेरिकी डलर वित्तीय स्रोतको सुनिश्चितता नेपाल विद्युत प्राधिकरणबाट हुने भएको छ । करिब ४ अर्ब अमेरिकी डलर माथिल्लो अरुण, दुधकोशीलगायत पाइपलाइनमा रहेका आयोजनाहरूको वित्तीय स्रोतको सुनिश्चितता हुने क्रममा रहेको छ । बाँकी ३४.५ अर्ब अमेरिकी डलरका लागि लगानी जुटाउन आवश्यक पहल गर्नुपर्ने देखिन्छ ।

    हरित ऊर्जा उत्पादनका कारण क्लाइमेट फाइनान्सिङमार्फत २ अर्ब अमेरिकी डलरको व्यवस्थापन हुने र सरकारले ऊर्जा क्षेत्रलाई उच्च प्राथमिकता दिइ बजेटमार्फत वार्षिक ५० करोड अमेरिकी डलर विनियोजन गर्ने अनुमान गर्दा सन् २०३५ सम्म कुल ६ अर्ब अमेरिकी डलरको व्यवस्थापन हुन सक्ने मार्गचित्रमा उल्लेख छ ।

    वैदेशिक रोजगारीमा रहेका तथा गैर आवासीय नेपालीबाट ऊर्जा क्षेत्रमा लगानी गर्न हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) र नेपाल इन्फ्रास्ट्रक्चर बैंकलगायत निकायहरूमार्फत पावर बोण्ड र डिबेञ्चर जस्ता वित्तीय उपकरणहरु जारी गरी वार्षिक एक अर्ब अमेरिकी डलर लगानी व्यवस्थापन गर्न सकिने देखिएको छ । यही वित्तीय औजार परिचालन गरेर १२ अर्ब अमेरिकी डलरको स्रोत उपलब्ध हुन सक्ने अवस्था रहेको मार्गचित्रमा उल्लेख छ ।

    अहिले विद्युत उत्पादन बढेर ३२ सय ४३ मेगावाट पुगेको छ । वार्षिक प्रतिव्यक्ति विद्युत खपत औसत ४ सय युनिट पुगेको छ । विद्युत पहुंच बढेर ९८ प्रतिशत जनतामा पुगेको छ । आगामी एक दशमा प्रतिव्यक्ति विद्युत खपत बढेर वार्षिक १५ सय युनिट पुग्ने अनुमान गरिएको छ । त्यसबेलासम्म सबै जनतामा विद्युत सुविधा पुगिसक्ने छ ।

    नेपालले भारतमा १ हजार र बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात गरिसकेको छ । आगामी वर्ष निर्यात बढ्दै जाने आधारमा ऊर्जा विकास मार्गचित्रले यस्तो देखाएको हो । भारतमा १० हजार र बंगलादेश र चीनमा गरि कुल ५ हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य सरकारको छ ।

    २०८/०८१ मा ७०० मेगावाट बिजुली भारतमा निर्यात भए पनि चालू आर्थिक वर्षमा १ हजार मेगावाटसम्म निर्यात भएको छ । आर्थिक वर्ष ०८५/०८६ मा ४ हजार मेगावाट र २०९१/९२ सम्ममा १५ हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य रहेको छ ।

    जलासय आयोजनाबाट ५ हजार ९ सय मेगावाट, अर्धजलासय आयोजनाबाट १० हजार ५ सय मेगावाट र बाँकी नदी प्रवाही आयोजनाबाट उत्पादन हुने बिजुली निर्यात गर्ने लक्ष्य मार्चचित्रमा छ । यसमध्ये ५ देखि १० प्रतिशतसम्म सौर्य र ग्रिन ऊर्जालगायत वैकल्पिक स्रोतको परिचालन गरिने भएको छ । नेपाल र भारतबीच सन २०१४ मा विद्युत व्यापार सम्झौता भएको हो ।

    नेपाल र भारतबीच सम्पन्न विद्युत व्यापार सम्झौतामा आधारित रहेर इनर्जी एक्सचेन्जको डे अहेड मार्केटबाट २०२१ को सुक्खायामदेखि भारतमा बिजुली आयात गर्न थालेको हो । २०२२ देखि वर्खामा बढी भएको बिजुली भारतमा निर्यात गर्न लागेको हो । पहिलो चरणमा ४ सय मेगावाट निर्यात सुरु भएको थियो । गत वर्ष नेपाल र भारतबीच दीर्घकालिन विद्युत व्यापार सम्झौता भएको थियो । १० वर्षमा १० हजार मेगावाटलाई बजार सुनिश्चित भएको छ । यस्तै थप ५ हजार मेगावाटलाई पनि सुनिश्चित हुने अवस्थामा पुगेको छ ।

    १५ हजार मेगावाट बिजुली निर्यात गरेर नेपाल विद्युत प्राधिकरणले वार्षिक १५ खर्ब रुपैयाँ बढी आम्दानी हुने अनुमान गरिएको छ । यद्यपि निर्यातका बेलामा हुने बिजुलीको मुल्यले आम्दानीमा प्रभाव पार्ने छ ।

    गत आर्थिक वर्ष २०८०/०८१ मा १६ अर्ब ९३ करोड रुपैयाँको बिजुली भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षको साउनदेखि असारसम्म १ अर्ब ९४ करोड २६ लाख युनिट बिजुली भारतर्फ निर्यात गरी १६ अर्ब ९३ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ ।

     

    यो पनि :

    ऊर्जा विकास मार्गचित्र : १० वर्षमा १५ हजार मेगावाट बिजुली भारत र बंगलादेश निर्यात गर्ने लक्ष्य


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend