काठमाडौँ । मुलुकको पश्चिमी क्षेत्रबाट मौसममा फेरि बदली सुरु भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनले यतिखेर पश्चिम नेपालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रको माथिल्लो भूभागबाट बदली सुरु भइसकेको बताउँदै क्रमशः फैलिने क्रममा रहेको जानकारी दिइन् ।
उनका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण बदली सुरु भएको हो । आज सबै प्रदेशका उच्च र हिमाली क्षेत्रमा हिमपात हुने बताउँदै मौसमविद् महर्जनले दिउँसोतिर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिइन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै आज राती कोशी, मधेस र बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
केही दिनअघि भएको बदली जस्तै देखिने भए पनि ठूलो पानी पार्ने ‘स्ट्रङ’ प्रणाली भने नदेखिएको बताउँदै उहाँले सोमबारदेखि मौसम सुधार हुने जानकारी दिए । तराईका कतिपय क्षेत्रमा क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ । पछिल्ला दिनमा देशभरको चिसो बढिरहेकाले ठाउँठाउँमा जनजीवन प्रभावित भएको छ ।