काठमाडौं । निजी लगानीमा स्थापना भएको समृद्धि इनर्जी लिमिटेडले २ सय १६ मेगावाटको बझाङ माथिल्लो सेती अर्धजलासय जलविद्युत आयोजना बनाउने भएको छ ।
अर्धजलासय आयोजना बनाउन ४१ अर्ब ६० करोड ९० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । अनुमानित लागतलाई आधार मान्दा प्रति मेगावाट १९ करोड २६ लाख रुपैयाँ पर्ने देखिएको छ । आयोजनामा ७० प्रतिशत बैंकको ऋण र ३० प्रतिशत स्वपुँजी अनुपात हुने गरि लगानी संचना बनाइएको छ । यस्तै सर्वसाधारणलाई प्राथमिक सेयर (आइपिओ) निष्कासन गरेर जुटाउने योजना समृद्धिको छ ।
२९ अर्ब ९० करोड रुपैयाँ बैंकको ऋण लगानी हुने भएको छ । समृद्धिले ऋणको रेटिङ गराएको छ । इन्फोमेरिक्सबाट समृद्धिले डबल बि माइनस स्कोर पाएको छ । बाँकी लगानी स्वपुँजीबाट जुटाउने तयारी कम्पनीको छ । लक्ष्मी सनराइज बैंकको अगुवाइमा अन्य बैंकसँगको सहवित्तीयकरणमा ऋण लगानी हुने भएको छ । यद्यपि, वित्तीय व्यवस्थापन हुन बाँकी छ ।
अहिलेसम्म आयोजना प्रारम्भीक चरणमा रहेको छ । २ प्रतिशत वित्तीय र ८ भौतिक प्रगति भएको विकासकर्ता कम्पनी समृद्धिले जनाएको छ । आयोजना आगामी २०८८ असार ३१ गते (सन् २०३१ जुलाई १५) सक्ने लक्ष्य राखेको विकासकर्ता समृद्धि इनर्जीले जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले आयोजनाबाट बिजुली उत्पादन गर्न समृद्धिले अनुमतिपत्र (लाइसेन्स) पाइसकेको छ । नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता (पिपिए) पनि भइसकेको छ ।
अर्धजलासय आयोजनाबाट वार्षिक १ अर्ब २२ करोड ९६ लाख युनिट विद्युत ऊर्जा उत्पादन हुने कम्पनीले गरेको अध्ययनले देखाएको छ । जसअनुसार वर्खामा ८३ करोड ४५ लाख ३० हजार र सुक्खामा ३९ करोड ५० लाख ७ हजार युनिट बिजुली उत्पादन हुनेछ ।
कम्पनीले सेतीको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) र वातावरणीय प्रभाव मूल्याँकन (इआइए) तयार पारिसकेको छ । आयोजनाको विद्युतगृहमा ५५.७ मेगावाट क्षमताका ४ वटा भर्टिकल एक्सिस पेल्र्टन टर्वाइनबाट २ सय १६ मेगावाट बिजुली उत्पादन हुनेछ ।
विद्युतगृहबाट उत्पादन हुने बिजुली १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत १ सय २६ किलोमिटर दुरीमा रहेको विद्युत प्राधिकरणको कैलालीको लम्कि सबस्टेशनमा जोडिने छ । आयोजनाको सबै संरचना बझाङको साइपाल गाउँपालिकामा पर्छ ।
विद्युत प्राधिकरणले आयोजनाबाट उत्पादन हुने बिजुली वर्खामा युनिटको ४.८० रुपैयाँ तय गरेको छ । यस्तै सुक्खायाममा आयोजनाको पिकिङ क्षमताअनुसार न्यूनतम ८.५० देखि अधिकतम् १०.५५ रुपैयाँ तोकेको छ ।
यो पिकिङलाई आधार मानेर पिपिए दर तय गरिएको हो । सुक्खायाममा दैनिक ४ देखि ६ घण्टासम्म पिकिङ भएमा युनिटको १०.५५ रुपैयाँमा पिपिए दर तोकिएको छ । आयोजनाले ५ लाख ५२ हजार ४ सय २० घनमिटर पानी भण्डारण गरी अधिकतम् ४.५ घण्टा विद्युत उत्पादन हुने समृद्धिले जनाएको छ । आयोजनाले वर्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म मूल्यवृद्धि पाउने छ ।
आयोजना सुदुरपश्चिम प्रदेशको बझाङ साइपाल गाउँपालिकामा रहेको सेती नदीको पानीलाई उपयोग गरेर बिजुली उत्पादन हुने भएको हो । विद्युतगृह र सेती–इङ्गल्दारको दोभानमा बाँध बन्ने ठाउँमा प्रारम्भिक परीक्षणका काम गरिरहेको छ । आयोजनको ग्रस हेड ७ सय ५० मिटर रहेको छ ।
आयोजना निर्माण हुने ठाउँ इङ्गल्दार र सेती खोलाको वरिपरी ५८ दशमलव १५ हेक्टर वन नोक्सान हुनेछ । आयोजनाको बाँध साइपालको वडा नम्बर ४ र ५ मा रहने भएको छ । अन्य संरचना सेती नदीको बाँया किनारमा रहने छ । नदीको पानी फर्काउन ४० मिटर लामो र १४ मिटर अग्लो बाँध निर्माण प्रस्ताव गरिएको छ ।
समृद्धि इनर्जी सन् २०१६ मा स्थापना भएको हो । आइपिओ निष्कासन गर्न २०२२ मा पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो ।