काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफू ज्यान मार्दै हिँड्ने नभएर नेपाली जनताको अनुहारमा मुस्कान ल्याउनको लागि तत्पर भएको बताएका छन् ।
ओली समूहको शनिबार काठमाडौंमा आयोजित प्रदेश १ का कार्यकर्ता भेलामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
गत बुधबार (प्रचण्ड- नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई ‘पोलिटिकल जोकर’ को संज्ञा दिएपछि जवाफमा प्रधानमन्त्री ओलीले आफू कसैको ज्यान मार्ने, विधवा बनाउने, घरवारविहीन बनाउने, टुहुरा बनाउने, जस्ता अराजक गतविधि गर्दै नहिँड्ने र आफ्नो प्रयास सदैव जनताको मुहारमा मुस्कान ल्याउने, जनतालाई खुशी बनाउने रहेको बताएका हुन् ।
उनले भने, ‘म हाम्रा बालबालिका, किशोर, युवा, बाआमा, मजदूर – किसानहरुको अनुहारमा मुस्कान ल्याउन चाहन्छु।’ उनले थपे, ‘मैले हँसाए भनेर पिर पर्यो रे। जोकरै भएछ रे। नेपाली जनता हाँसेकामा किन पीर परेको होला?’