logo

२०८१ माघ २ बुधबार

logo
  • बुधबार, २ माघ २०८१
  • आर्थिक अनुशासनको विषयमा तलमाथि भएको थाहा पाए कसैलाई जोगाउँदिन : मन्त्री पाठक

    आर्थिक अनुशासनको विषयमा तलमाथि भएको थाहा पाए कसैलाई जोगाउँदिन : मन्त्री पाठक

    315
    Shares
    आर्थिक अनुशासनको विषयमा तलमाथि भएको थाहा पाए कसैलाई जोगाउँदिन : मन्त्री पाठक

    बागलुङ । गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले आर्थिक सुशासनको विषयमा कुनै कम्प्रोमाइज नहुने बताएका छन् । धौलागिरि अस्पताल बागलुङको ६६ वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित एक समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    मन्त्री पाठकले डाक्टर, नर्स र कर्मचारीलाई अभिभावकत्व प्रदान गर्न आफु हरदम तयार रहेको बताए ।

    उनले भने, ‘म तपाईंहरुको पक्षको मान्छे हो, संरक्षण गर्छु, तर, आर्थिक अनुशासनको विषयमा तलमाथि भएको थाहा पाए भने कसैलाई जोगाउँदिन, म कहाँ नआए हुन्छ ।’

    बिरामीलाई सेवा प्रदान गर्ने समयमा बाहिर गएर बिरामी जाँच गर्ने, बिरामीहरुलाई गरिने व्यवहारमा तलमाथि गर्ने विषयमा कहिल्यै कम्प्रोमाइज नहुने बताउँदै तत्काल एक्सन हुने मन्त्री पाठकले बताए ।

    स्वास्थ्यकर्मी र कर्मचारीको स्तरोन्नति, वृत्तिविकास र क्षमता वृद्विको लागि कुनै कसर बाँकी नराख्ने मन्त्री पाठकले प्रतिवद्वता समेत जनाएका छन् ।

    उनले अबको एकसाताभित्र धौलागिरि अस्पतालले नयाँ व्यवस्थापन समिति पाउने बताए । जागिर खुवाउने नाममा अस्पताललाई आर्थिक भार पर्नेगरी भाईभतिजा भर्ति गर्ने केन्द्र बन्न नहुने र कर्मचारीले बिरामीको राम्रोसंग सेवा गर्नुपर्ने मन्त्री पाठकले बताए ।

    धौलागिरि अस्पताललाई एक सय शैयामा स्तरोन्नति गर्ने र स्टाफ नर्स पढाउने गरी तयारी भईरहेको मन्त्री पाठकले बताए । ‘म कुरा मात्रै होइन काम गरेर देखाउनुपर्छ भन्ने मान्यता राख्छु’ मन्त्री पाठकले भने ।

    बागलुङको धौलागिरि अस्पताल, नवलपुरको मध्यविन्दु अस्पताल र तनहुँमा रहेको दमौली अस्पताल, स्याङ्जा र लमजुङ अस्पताललाई स्तरोन्नति गर्ने गरी आफु अघि बढेको मन्त्री पाठकले जानकारी दिए । धौलागिरि अस्पताल र बुर्तिवाङ अस्पतालमा अब छिट्टै व्यवस्थित ट्रमा सेन्टर स्थापना गरिने योजना रहेको मन्त्री पाठकले बताए ।

    मन्त्री पाठकले निस्वार्थ भावनाले जनताको सेवालाई शिरमा राखेर स्वास्थ्य जस्तो अति संवेदनशिल क्षेत्रमा काम गर्नुपर्ने अवस्था रहेको बताए । पहाडी भूगोलका कारण बागलुङका ग्रामिण क्षेत्रका जनताले स्वास्थ्य सेवा सर्वसुलभ रुपमा पाउन नसकेकै कारण बुर्तिवाङ अस्पताल आवश्यक रहेको उनले बताए ।

    गण्डकी प्रदेशलाई चाहिने जनशक्ति आफै तयार गर्न सक्ने आधार रहेको चर्चा गर्दे मन्त्री पाठकले सरकारी तथा निजी क्षेत्रका मेडिकल कलेजसंग समन्वय र सहकार्य गरेर डाक्टर तथा नर्स उत्पादन गर्न सकिने बताए । विकटका जनताको ज्यान बचाउन हेलि उद्वारका लागि गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले तयारी गरिरहेको उनले बताए ।

    त्यस्तै, मन्त्री पाठकले वार्षिकोत्सवको अवसरमा अस्पतालले सुरु गरेको प्याथोलोजी सेवाको उद्घाटन समेत गरे ।

    सम्बन्धित समाचार
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend