काठमाडाैं । नेपाल कबड्डी लिग (एनकेएल) का अध्यक्ष अमित बेगानीले नेपालमा यसअघि भइरहेका फ्रेन्चाइज लिगले नयाँ खेलका व्यावसायिक लिग आयोजना गर्न राम्रो वातावरण सिर्जना गरेको बताएका छन् ।
आगामी शुक्रबारदेखि ६ वटा फ्रेन्चाइज टोलीले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा एनकेएलको पहिलो संस्करण खेल्दैछन् ।
आयोजनाको संघारमा पुग्दा एनकेएलका अध्यक्ष अमित बेगानीले नेपालमा पछिल्ला समय व्यावसायिक लिगले राम्रो गरिरहेको र यसलाई गर्दा नयाँ फ्रेन्चाइज लिगका लागि राम्रो वातावरण सिर्जना भएको बताएका हुन् । मंगलबार पत्रकार सम्मेल आयोजना गर्दै एनकेएलका अध्यक्ष बेगानीले एकपछि अर्को फ्रेन्चाइज लिग आउनुले नेपाली खेलाडीका लागि सुखद् पक्ष रहेको उल्लेख गरेका छन् ।
आजको दिनसम्म देशहरूबीच राम्रो सम्बन्ध सुधार गर्ने बलियो माध्यम खेलकुदको रहेको र यसलाई विकास गर्नुपर्ने अध्यक्ष बेगानीको भनाइ थियो । नेपालको व्यावसायिक घरनाले खेलकुदमा केही न केही योगदान गर्नुपर्ने औंल्याउँदा उनले आफू पनि त्यही उद्देश्यअनुरूप एनकेएल आयोजनाका लागि तयार भएको बताएका छन् ।
एनकेएलको पहिलो संस्करणमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले एनकेएलमा प्रतिस्पर्धा गर्दैछन् । सबै फ्रेन्चाइज टोलीले विदेशी खेलाडी अनुबन्धित गरिसकेको छ । थाइल्यान्ड र बंगलादेशको समान ६, केन्या र श्रीलंकाको समान तीन गरी कुल १८ विदेशी तथा ६६ नेपाली खेलाडीले पहिलो संस्करणको एनकेएल खेल्दैछन् ।
एनकेएलका अध्यक्ष बेगानीले अन्य व्यवसाय गर्नु र खेलकुदमा लगानी गर्नु फरक चुनौती रहेको उल्लेख गरे । फ्रेन्चाइज लिग शुरु गर्दा सुरुआती क्षणमा धेरै मिहिनत गर्नुपर्ने र त्यसका लागि आफूहरूले धेरै काम गरेर राम्रो आधार तयार गरेको उनको भनाइ छ । एनकेएलको अर्को सिजनदेखि केही न केही सन्तुष्टी मिल्ने गरी तयारी भइरहेको उनले बताएका छन् ।
कुनैपनि क्षेत्रमा लगानी गर्दा केही समय धैर्यता गर्नुपर्ने र सोहीअनुरूप आफ्नो फ्रेन्चाइज टोली तयार भएर आएको उनको बुझाइ छ । उनले एउटा फ्रेन्चाइज टोलीले १२ देखि १५ लाग रुपैयाँ खेलाडीको ड्राफ्टमा खर्चिएको बताएका छन् । एनकेएलका लागि कबड्डीका उत्कृष्ट विदेशी खेलाडी भित्राएको उनले उल्लेख गरेका छन् ।
एनकेएलका अध्यक्ष अमित बेगानीले नेपालमा कबड्डी खेल लोकप्रिय नै रहेकाले यसको फ्रेन्चाइज लिग आयोजना गरेको बताए । उनले दक्षिण एसियाली राष्ट्रमा कबड्डी खेलको विकास राम्रो रहेको उल्लेख गरे । आफ्नो समयमा कबड्डी खेल नेपालकै राष्ट्रिय खेलको रूपमा चिनिएको उल्लेख गर्दै नेपालमा अहिले २०/२५ हजार कबड्डीका खेलाडी रहेको उल्लेख गरे ।
यी खेलाडीले राम्रो खेलाडीलाई खेल्न पाउँदा उनीहरूको स्तर बढ्ने विश्वास व्यक्त गरेका छन् । नेपाल कबड्डी लिग (एनकेएल) को ड्राफ्टमा ८४ खेलाडी उल्लेख थियो । यहाँबाट नै खेलाडी टोलीमा आबद्ध भएका हुन् । सबै टोलीमा नेपाली खेलाडी मार्कीका रूपमा समावेश गरिएको छ । अन्य टोलीको मार्की खेलाडीमा विराटनगरमा कल्याण भुजेल, धनगढीमा पदमबहादुर विष्ट, हिमालयनमा गणेश पार्की, जनकपुरमा रामु टमाटा र पोखरामा प्रदीप मिजार छन् । सबै टोलीको प्रशिक्षक पनि तय भइसकेको छ ।
विराटनगरले लोकबहादुर विष्ट, जनकपुरले पार्वती राई, काठमाण्डुले सरोजकुमार सिंह, पोखराले विष्णुदत्त भट्ट र धनगढीले महेश बोहोरालाई प्रशिक्षक बनाएका छन् ।
बुटवलको हिमालयन रेइडर्सले दुई जना प्रशिक्षकका रूपमा सन्दीप पन्त र भारतका पोथुगान्ती सतीशकुमारलाई राखेको छ । जनकपुरकी प्रशिक्षक पार्वतीको प्रशिक्षणमा १९औं एशियाली खेलकुदमा नेपाली महिला टिमले काँस्य पदक जितेको थियो । भारतका सतीशकुमार प्रो कबड्डी लिगका पूर्वखेलाडी हुन् ।
प्रत्येक टिममा १४ खेलाडी छन् । हरेक टिमले कम्तीमा दुईदेखि ४ जनासम्म विदेशी खेलाडी लिएका छन् । एकै पटक दुई विदेशी खेलाडीले खेल्न पाउनेछन् ।