काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख दलहरुको सहमतिमा अध्यादेशहरु ल्याएको बताएका छन् ।
नेपाल सरकारको सिफारिसम राष्ट्रपतिबाट जारी भएका अध्यादेशका सम्बन्धमा बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले सरकारमा रहेका दलका शीर्ष नेता, विज्ञ र सरोकारहरुसँगको सघन छलफलपछि सुशासन र विकासका लागि तत्काल अध्यादेशमार्फत कानून संशोधन गर्न जरुरी भएकाले अध्यादेशहरु ल्याइएको बताए ।
उनले बाहिर हल्ला र अफवाह फैल्याए जस्तो असहमतिमा अध्यादेश जारी नभएको दाबी गरे । उनले सरकारले ल्याएको अध्यादेश सावधानी र मेहनताका साथ अध्यादेश सिफारिस भएर राष्ट्रपतिबाट जारी भएको बताए । प्रधानमन्त्री ओलीले सत्तारुढ दुवै दलका शिर्ष नेतृत्व र विज्ञसँगको सघन छलफल तथा उद्यमी, व्यवसायीको सुझाव समेतका आधारमा अध्यादेश ल्याइएको जिकिर गरे ।
उनले सरकारले अन्य विधेयकको तयारी गरेर संसद खोल्ने बित्तिकै अध्यादेस पेश गर्ने र प्रतिस्थापन विधेयक ल्याएर ६० दिनभित्र पारित गर्ने बताए ।
उनले भने, ‘अध्यादेशको विषयमा सत्यलाई बङ्ग्याउने हिसावले अफवाह फैल्याउने काम भइरहेको छ । अध्यादेस जारी हुने कुराले सबै कुराको एकमुष्ट पर्दाफास गरेको छ । जवाफ दिएको छ भन्ने लाग्छ ।
नेपाली कांग्रेस र नेकपा एमालेको शिर्ष नेतृत्व तह, कर्मचारीहरुको शिर्ष नेतृत्व तह,विज्ञहरुको सल्लाह, राय र परामर्श गरी सधन र विस्तृत छलफलपछि सबै पक्षहरुको सहमति र उद्यमी व्यवसायीहरुको समस्याहरु समेत सुनेर समस्या समाधानका विषयलाई समेत ध्यानमा राखेर सबै पक्षलाई ध्यान दिएर नै तत्काल अध्यादेश जारी गर्नुपर्ने देखिएकाले सावधानी र मेहनतका साथ अध्यादेश मन्त्रीपरिषद्ले पारित गरेर सिफारिस गरिएका हुन् ।
अध्यादेश जारीले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार छ । यो संयुक्त सरकार काम गर्नका निम्ति बनेको हो । मुलुकमा स्थिर र स्थायित्वको लागि बनेको हो । वर्तमान सरकारले जनताका समस्यालाई पनि सम्बोधन गर्छ । सुशासन र विकासलाई पनि अगाडि बढाउँछ । कुनैपनि कुराले प्रतिवद्धता र गतिलाई रोक्न सक्दैन भन्ने कुरा देखाएको छ ।
सरकारमा रहेका दलहरुको एकता यसबाट सुदृढ ढङ्गले प्रश्तुत भएको छ । एउटा अक्षरमा कतै पनि असहमति कहीँ पनि छैन । पूर्ण सहमतिका साथ अध्यादेशहरु आएका छन् । यो नेपाली राजनीतिका लागि उदाहरणीय कार्य हो । बाहिर सरकार तत्काल ढल्छ भन्नेहरु छन् । राष्ट्रपतिकामा बिहान ११ बजे अध्यादेश पेश भएको छ । मध्यरातमा अध्यादेश पेश नभएको छैन । राती भन्नेहरु वर्तमान सरकार राती, विहान, बेलुका काम गछौं । मुलुकमा सुशासन र समृद्ध नेपाल नबनेसम्म बिहान,बेलुका र दिँउसो काम गर्छ ।’
उनले सरकारले यथोचित समयमा नै संसद बैठक आवाहन गर्ने बताए । उनले वर्तमान सरकार काम गर्नको लागि बनेको भन्दै जनता र सुशासनको पक्षमा बलियो रुपमा काम गर्ने बताए । उनले सरकारले मुलुकमा सुशासन र समृद्ध नेपाल नबनेसम्म बिहान, बेलुका र दिँउसो जुनसुकै समयमा पनि काम गर्ने बताए ।