काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बैंकिङ प्रणालीमा रहेको तरलतालाई राष्ट्र बैंकले खिच्ने नीति अर्थतन्त्र गतिशिल बनाउने उपयुक्त नीति नभएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वगभर्नर क्षेत्रीले यस्तो बताएका हुन् । उनले राष्ट्र बैंकले ब्याजदर करिडोरमा ६ प्रतिशत भन्दा माथि अन्तर बैंकदर बनाउन नपाउने व्यवस्था गरेको बताए । उनले त्यसलाई सहजिकरण गर्न राष्ट्रले बैंकिङ प्रणालीमा रहेको तरलतालाई राष्ट्र बैंकले खिच्ने र बैंकहरुले ३ प्रतिशत ब्याजमा रकम लिने नीतिले अर्थतन्त्रलाई गतिशिल बनाउन नसक्ने बताए ।
उनले बैंकको खराब कर्जा बढ्दै जाँदा पछिल्लो समय उद्योगी व्यवसायीहरुले कर्जा पाउन नसकेको बताए । उनले कोभिडको समयमा १ प्रतिशत रहेको खराब कर्जा अहिले ६ प्रतिशत जस्तो पुगेको बताए । उनले वास्तविक तथ्याङ्क हेर्ने र केलाउने हो भने बैंकहरुको खराब कर्जा १२ देखि १४ प्रतिशत पुगेको दाबी गरे ।
उनले कर्जा लिएर व्यवसाय गर्दा पनि घरजग्गा बाहेक परियोजना धितोमा बैंकहरुले कर्जा दिन नसकेको बताए ।
उनले भने, ‘पछिल्लो उद्योगी व्यवसायीहरुले कर्जा पाएनन् भन्ने छ । त्यो बैंकको खराब कर्जा बढ्दै गएको छ । कोभिडको समयमा १ प्रतिशत थियो भने अहिले ६ प्रतिशत जस्तो पुगेको छ । वास्तविक तथ्याङ्क हेर्ने हो भने १२ देखि १४ प्रतिशत पुग्छ । अहिले पत्रपत्रिकाको आधा पानाहरु लिलामिका सूचनाहरुले भरिन थालेका छन् ।
त्यसले पनि खराब कर्जा बढेको देखिन्छ । कर्जा लिएर व्यवसाय गर्दा पनि घरजग्गा बाहेक परियोजना धितोमा दिने कुरामा बैंकहरु कन्जरभेटिभ छन् । धितो मूल्याङ्कनमा राखेर ८० प्रतिशतले गर्दा ६० प्रतिशतको कुरा आउँछ । प्रतिवद्धताअनुसार समयमा कर्जा नदिएको कारणले पनि कतिपय योजनाहरु विफल भएका छन् ।
चार महिनामा दुई बैंकले अर्बमा नाफा गरे भन्ने कुरा आएको छ । केन्द्रिय बैंकले पैसा बैंकहरुबाट लिएको छ । प्रत्येक हप्तामा ४० अर्ब खिच्यो । बैंकहरुले ३ प्रतिशतमा जति पैसा लिए भयो । पाउँछन । त्यसले बैंकको नाफामा धेरै फरक पर्दैन ।
यो अवस्था अर्थतन्त्रलाई गतिशिल बनाउने उपयुक्त किसिमको नीति होइन । ठूलो आयोजनाहरुमा लगानी गर्ने तर समयमा निर्माण सम्पन्न नहुँदा मुनाफा नआउने भएको हुँदा साना आयोजनालाई प्राथमिकता दिएर जानु पर्ने भयो ।’
उनले बैंकहरुले ठूला आयोजना भन्दा पनि साना तथा लघु घरेलु उद्योगमा लगानी गर्न आवश्यक रहेको बताए । उनले राष्ट्र बैंकले पनि बैंकहरुलाई त्यही अनुसारको नीति र निर्देशन गराउन आवश्यक रहेको बताए । उनले यस्ता उद्योगहरु स्थापनामा लगानी गरे रोजगारीको सिर्जना हुने वातावरण बन्ने बताए ।