काठमाडौं । घरजग्गा व्यवसायलाई पूर्वाधार निर्माण उद्योगको रुपमा विकास गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
वागमती प्रदेशको राजधानी हेटौंडामा बिहीवार र शुक्रवार चलेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले घरजग्गा व्यवसायलाई उत्पादनमुलक र पूर्वाधार निर्माण उद्योगको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका हुन् ।
उनीहरुले घरजग्गा महासंघले संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी रियल स्टेट व्यवसायलाई सम्मानित र मर्यादित बनाउनुपर्ने आवश्यकता रहेको बताए । कार्यक्रममा बोल्दै हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले हेटौँडामा अब पनि निजी क्षेत्रलाई समेटेर लगानी प्रवद्र्धन गर्न नसके वागमती प्रदेशको राजधानी नाम मात्रैको राजधानी हुने बताए ।
उनले स्थानीय सरकार निजी क्षेत्रलाई लगानी प्रवद्र्धनका लागि आवश्यक वातावरण सिर्जना गर्न तयार रहेको बताए ।
उनले भने, ‘निजी क्षेत्रलाई हेटौंडामा समेट्न नसके हाम्रो प्रदेशको राजधानी नामको मात्रै राजधानी रहनेछ । स्थानीय सरकारले जनतालाई सेवा दिने भएकाले स्थानीय सरकारले दुःख दिने सवाल नै हुँदैन । के सहयोग गर्नुपर्छ हामी गर्नेछौँ ।’
कार्यक्रममा बोल्दै नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले अपार्टमेण्ट, हाउजिङ र व्यवस्थित ल्याण्डपुलिङ गर्ने अवधारणासहित आफूहरु हेटौँडा पुगेको बताए । उनले प्रदेश र स्थानीय सरकारले महासंघका अवधारणा स्वीकार गर्ने र सहयोग गर्ने भनिसकेको भन्दै अब हेटौंडामा जग्गा तथा आवासमा लगानी बढ्ने विश्वास व्यक्त गरे ।
उनले राम्रो काम गरे सबैले साथ दिने भएकाले व्यवस्थित शहर बनाउन सबै लाग्नुपर्ने आवश्यकता औंल्याए ।
उनले भने, ‘अपार्टमेण्ट, हाउजिङ र व्यवस्थित ल्याण्डपुलिङ गरौँ भन्ने अवधारणाका साथ हामी आएका छौँ । धेरै साथीहरु, स्थानीय तह, प्रदेश सरकार सबैले हामीलाई तपाईंहरुको भिजनलाई स्वीकार गर्छौं, सहयोग गर्छौं भन्ने आश्वासन दिनुभएको छ ।
भोलिका दिनमा हाम्रा कुराहरु मिल्यो भने हामीले बजार क्षेत्रमा अपार्टमेण्ट र बजार भन्दा दुई/चार किलोमिटर वरपर हाउजिङ र त्यस भन्दा १०/१२ किलोमिटर पर ल्याण्डपुलिङ गरेर राम्रा र व्यवस्थित शहर बनाउने अवधारणाका साथ आएका छौँ । हामीलाई कसैले के भन्छ, कसैले के भन्छ होइन । अब हामीले काम गरेर देखाउने हो । काम गरेपछि कसैले केही भन्दैन । राम्रा काम गर्नुपर्छ, सबैले राम्रो भन्छ ।’
हेटौँडालाई नमूना शहरको रुपमा विकास गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।