जाडोको मौसममा हृदयघातको जोखिम बढी हुन्छ । त्यसैले जाडो याममा सतर्कता बढी अपनाउनुपर्ने चिकित्सकहरू बताउँछन् । खासगरी हृदयका रोगीले जाडो याममा बढी सतर्कता अपनाउनु पर्छ । त्यसैपनि जाडो मौसम मुटु रोगीका लागि अनुकूल मानिँदैन ।
बाह्य चिसोको कारण नसाहरू खुम्चने वा साँघुरिने हुन्छ । यसले रक्त प्रवाहमा कठिनाइ ल्याउँछ । जसको सोझो भार, मुटुमाथि पर्छ । यस्ता अनेक कारण छन्, जसले जाडोमा हृदयघातको जोखिम बढाउँछ ।
अल्का अस्पतालका मुटुरोग विशेषज्ञ डा.शिवजीविक्रम सिलवालले ६० प्रतिशत भन्दा कम गतिमा मुटुको धड्कन भइरहेको छ भने त्यसलाई मुटुरोगको समस्या भन्ने बुझेर अस्पताल जानुपर्ने बताए । उनले पछिल्लो समय २०/२२ वर्षमै हृदयघातको समस्या बढ्नुले चिन्ता थपिएको बताए ।
खानपान र चिन्ताका कारण जुनकुनै समयमा पनि हृदयघातको समस्या बढेको उनको भनाइ छ । डा. शिवजीविक्रम सिलवालसँग गरिएको कुराकानीको सम्पादित अंश ।
मुटु रोग भनेको के हो, यसभित्र के–के पर्दछन्, कस्तो अवस्थालाई मुटु रोग भनेर बुझ्ने गरिन्छ ?
मुटु अस्वस्थ हुनुलाई मुटु रोग भनिन्छ । सामान्यतः मुटुको चाल ६० प्रतिशत हुन्छ । त्यसभन्दा कम गतिमा मुटुको धड्कन भइरहेको छ भने त्यसलाई मुटुको समस्या भन्ने गरिन्छ । अर्को भल्बको समस्या हुन्छ । त्यसैगरी कोरोनरी आर्की रोगहरू भन्ने हुन्छ । जब नशा ब्लकेज हुन्छ त्यसलाई चाहिँ हृदयघात भनिन्छ । र कसैको जन्मजात रूपमा मुटुमा प्वाल हुन्छ । मुटुसम्बन्धी सम्पूर्ण समस्याहरूलाई नै मुटु रोग भनिन्छ ।
मुटुसम्बन्धी अन्य रोगहरू त छँदै छन्, पछिल्लो समय हृदयघातका बिरामीहरू बढ्दै गएको देखिन्छ, युवा अवस्थामै पनि हृदयाघात हुने समस्याहरू देखिएका छन् नि ?
सही भन्नुभयो । पहिले हामीले किताबमा पढेअनुसार हृदयघात ३० वर्षभन्दा तल हुँदैन भन्ने थियो । र मैले देखेको पनि थिइन । तर पछिल्लो समय सन् २०१० देखि अहिलेसम्म आउँदाखेरि अहिले उमेरले केही पनि फरक पारेको देखिँदैन । अहिले २०/२२ वर्षमै हार्ट अट्याक भएको छ ।
महिलाहरूमा चाहिँ महिनावारी नरोकिउन्जेलसम्म हृदयघात हुँदैन भनिन्थ्यो । तर अहिले त्यसमा पनि हृदयघात देखिएको छ । त्यसैले अहिले जुन उमेरका मान्छेलाई पनि हृदयघात हुनसक्छ । यसमा खानपान र स्टेसले प्रभाव पारेको देखिन्छ ।
खानपान र हृदयघातबीचको सम्बन्ध चाहिँ कस्तो हुन्छ ?
हृदयघात हुने मुख्य कारण धूम्रपान सेवन हो । अर्को, कोलेस्ट्रोलमा लेभल नहुने हो । तेस्रो, सुगर, प्रेसर र बुबा आमा तथा परिवारको सदस्यहरूलाई हृदयघात भएको छ भने छोराछोरीलाई हुने सम्भावना चाहिँ बढी हुन्छ । त्यसकारण हामीले यी कुराहरूमा ध्यान दिनुपर्छ ।
धूम्रपान सेवन गर्छौं भने त्यो नगर्ने । प्रेसर छ भने प्रेसरलाई नियन्त्रण गर्ने, नियमित रूपमा औषधि सेवन गर्ने, शारीरिक अभ्यास गर्ने, सुगर नियन्त्रण गर्ने गर्नुपर्दछ । परिवारका अन्य सदस्य तथा आमाबुबालाई भएको हृदयघात त हामीले रोक्न सक्दैनौँ । जिनमा आइसकेको हुनाले समय समयमा शारीरिक परीक्षण गर्ने गर्नुपर्दछ ।
सामान्यतया मुटुमा कस्तो लक्षण देखिएको अवस्थामा उसलाई मुटुसम्बन्धी रोगहरू छ भनेर बुझ्ने ?
हिजो सकुसल देखेको मान्छे आज हृदयघातबाट निधन भएको समाचारहरू सुनिन्छन् । वयस्क उमेर भइसकेपछि वर्षको तीन पटक लिपिड प्रोफाइल, इको कार्डियोग्राफी, टिएमटी र अन्य जाँचहरू गर्ने गर्नुपर्दछ । कस्तो लक्षण देखियो भने अस्पताल जाने भन्ने सन्दर्भमा शरीरमा कमजोरी महसुस भएपछि जानुपर्दछ ।
अब हृदयघातको कस्तो लक्षण हुन्छ भन्दाखेरी छाती दुख्ने, देब्रे छाती दुख्ने, छाती भारी हुने, दुखाई सरेर चिउँडोतिर र कुइनातिर जाने र अत्यधिक पसिना आउने र छातीको दुखाई खपि नसक्नु हुने लक्षण आयो भने अस्पताल जाने । अर्को, पेट दुख्ने समस्या पनि हुन्छ । ग्यास्ट्रिक भनेर हेलचेक्राँई गर्नु भएन । हामीले सामान्य जाँच गर्दा पनि हृदयघात हो कि ? होइन भनेर थाहा पाउन सक्छौं । अन्य कुराहरू त चिकित्सकहरूले गरिहाल्नु हुन्छ ।
मौसम परिवर्तनसँगै चिसो बढेपछि मुटुको सङ्क्रमण बढ्ने हो ?
जाडो महिनामा हाम्रो शरीरबाट पसिना बग्दैन । गम्भीर महिनामा हामीले गर्ने विभिन्न क्रियाकलापले गर्दा पसिना बग्ने हुन्छ । जाडो महिनामा अलिकति अल्छीपना पनि बढ्छ । त्यसकारण गर्मीको तुलनामा जाडोमा प्रेसर अलिकति बढ्छ । जाडो महिनामा हामीले खाने खानेकुराहरू पनि अलिकति बढी खाइन्छ । शारीरिक अभ्यास कम हुन्छ । यस्तो अवस्थामा गर्मी महिनाको तुलनामा चिसो महिनामा मुटुसम्बन्धी रोग रोगहरू बढी लाग्ने सम्भावना बढी हुन्छ ।
मुटु रोगको बढी जोखिममा कुन उमेर समूह रहन्छ ?
उमेर भन्दापनि प्रेसर र सुगरका बिरामी तथा धूम्रपान सेवन गर्ने मान्छेहरुलाइ मुटु रोग बढी हुने सम्भावना रहन्छ । अर्को स्टेस भएका मान्छेलाई मुटु रोग बढी लाग्ने हो ।
धूम्रपान तथा मद्यपान सेवन नगर्ने मान्छेलाई पनि मुटु रोग लागिरहेको भन्ने सुनिन्छ, तर नियमित धूम्रपान सेवन गर्ने मान्छेलाई मुटु रोग नलागेको पनि देखिन्छ, यसले केही विरोधाभास भएको देखिन्छ नि ?
हाम्रो समुदाय धेरै फरक छ । सबैको खानपान एउटै त छैन नि । कतिले खानपानमा माछा मासु खाने गर्नुहुन्छ कति जना भेजेटेरियन हुनुहुन्छ । बाहिरबाट हेरेर सबै कुरा त थाहा हुँदैन नि । त्यसको लागि त स्वास्थ्य परीक्षण गर्नुपर्यो नि । बाहिरबाट हेरेर प्रेसरको पनि लक्षण देखिँदैन । कसैको मुटु सुन्निन थालेको हुन्छ । त्यसकारण हामीले बाहिरबाट हेरेर होइन कि जाँच गरेर हेर्नुपर्दछ ।
जहाँसम्म तपाईँले कतिपय मान्छेलाई धूम्रपान तथा मद्यपान सेवन गर्दा पनि हृदयघात नभएको तर त्यसो नगर्ने मान्छेलाई भएको भनेर भन्नुभयो । त्यसमा मान्छेको शरीरिमा संरचनामा समेत भर पर्दछ । स्वास्थ्य परीक्षण दुवै प्रकारका मान्छेका लागि उत्तिकै महत्त्व छ ।
मुटुको सुरक्षा कसरी गर्ने ?
मुटुलाई माया गर्नको लागि जिब्रो र मुखलाई माया नगर्ने । नुनिलो कम खाने, चिल्लो कम गर्ने लगायत कामहरू गर्नुपर्छ । मुटुलाई माया गर्नको लागि तपाई कतै घुम्न जानुभएको छ भने त्यहाँ एकै दिन सबै प्रकारका खानेकुराहर नखाने । एकैदिन रातो मासु र माछा खानु हुँदैन । मुटुलाई माया गर्नको लागि फलफूल र हरियो सागपात बढी खाने । कसैलाई भेट्न जाँदा फ्रेस जुसहरू लग्ने गर्नुपर्दछ । यस्तो गर्न सक्यो भने मुटुलाई माया गर्न सकिन्छ ।
मानिसले दैनिक जीवनमा शारीरिक व्यायाम कम गर्यो भने मुटुको रोग बढ्ने हो ?
हो नि । मानव जीवन भनेको त जङ्गलमा सिकार गरेर, दौडेर खाने थियो नि । अहिले यो सबै परिवर्तन भएर मानवीय जीवन एकदमै व्यस्त हुँदै गइरहेको छ । हरेक क्षेत्रका मानिसहरू काममा व्यस्त हुन्छन् । बिहान ८ बजे कार्यालय पुग्नुपर्ने भएका कारणले घरमा खाना पकाउन भ्याइँदैन । रेस्टुरेन्टको खाना खाने चलन बढ्दै गएको छ । त्यहाँ कुन तेलको प्रयोग गरिन्छ ।
त्यहाँ कति मात्रामा नुन हाल्छ । बासी पो हो कि त्यो हामीलाई थाहा हुँदैन । यस्तो बिजी सेड्युल र खानपानले पनि मुटु रोगको जोखिम बढाउँदै गएको छ । हामीले आफ्नै घरमा पकाएको खाना खायौं भने त सबै थाहा हुन्छ नि । त्यसकारण स्वस्थ खाना खानुपर्ने आवश्यकता देखिन्छ । पोलेको मासु भनेको कार्बन हो ।
त्यो त त्यत्तिकै खतरनाक भइहाल्यो । सकेसम्म नखाने । तपाई पूर्ण रूपमा स्वस्थ हुनुहुन्छ भने तपाईँले खान सक्नुहुन्छ । तर रातो मासु खाँदाखेरि नियमित रूपमा नखाने, खाइहाल्यो भने बिहानको समयमा खाने अन्य समयमा अत्यधिक प्रयोग नगर्ने ।
उपचारका लागि तपाईँसँग आउने मुटुसम्बन्धी बिरामीहरू कस्तो अवस्था हुन्छन्, कस्ता कस्ता बिरामीहरू आउने गर्नुहुन्छ ?
कतिपय बिरामीहरू हामीकहाँ छाती दुख्यो भनेर आउनुहुन्छ । हामी यो त हृदयाघात हो भनेर भन्दा उहाँहरूलाई पत्यार नै लाग्दैन । उहाँहरू ग्यास्ट्रिकले होला भन्नुहुन्छ । त्यहाँ चिकित्सकले भनेको कुरा सुन्नुपर्यो । त्यही अनुसारले जानुपर्यो । कोही चाहिँ सुगर र प्रेसर नहेरीकन औषधि लिइरहनुभएको हुन्छ । त्यस्ता बिरामीहरू आपत्कालीन अवस्थामा आउँदाखेरि कहिले काहीँ हामीले केही गर्न नसक्ने स्थिति पनि धेरै आएको छ ।
मुटु रोगको घरेलु उपचार अथवा मुटुको स्याहार गर्ने तरिकाहरू बताइदिनुस् न ?
तपाई स्वस्थ हुनुहुन्छ भने घरमा बसेर मुटुको केयर गर्नको लागि स्वस्थ खानेकुरा खाने, शारीरिक अभ्यास गर्ने र नियमित रूपमा अभ्यास गरेर पसिना बगाउने, तनाव नलिने, ६ देखि ८ घण्टासम्म सुत्ने, निन्द्रालाई माया गरेर सुत्ने गर्नुपर्दछ । यदि शङ्का लाग्यो भने तुरुन्त अस्पताल जाने त्यसको घरमा उपचार गर्न सकिँदैन ।
अन्तिममा मुटुसम्बन्धी बिरामीहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?
बिराम सँगसँगै स्वस्थ मान्छेहरूलाई के भन्न चाहन्छु भने नियमित शारीरिक अभ्यास गर्नुस् । त्यो पनि दिनदिनै चार, पाँच घण्टा गर्नुपर्दैन । यदि सुगर र प्रेसर छैन भने हप्ताको तीन घण्टा शारीरिक अभ्यास गर्नुस् । सुगर छ भने हप्ताको पाँच घण्ट जति शारीरिक अभ्यास गर्नुस् । आफूले घरमा खाने खानेकुराहरू खानुस् ।
चिल्लो कम खानुस् । चिज, बटर, घ्यु अत्यधिक प्रयोग नगर्नुस् । खानामा साधारण कुराहरू खाने । यदि हृदयघात भएको छ भने चिकित्सकको सल्लाहअनुसार नियमित रूपमा औषधि सेवन गर्ने र नियमित रूपमा औषधि सेवन गर्न सक्यो भने मुटु पुरानै अवस्थामा फर्किने भएकाले भ्रममा नपरीकन बस्न आग्रह गर्न चाहन्छु ।
अहिले मुटु रोगसम्बन्धी जनशक्तिको अवस्था कस्तो छ, मुटु रोगसम्बन्धी उपचारका लागि सरकारले गरेका प्रयासहरू पर्याप्त छन् कि छैनन् ?
अहिले इन्स्युरेन्स पोलिसी आएको छ । यो एकदमै राम्रो कुरा हो । जनशक्तिको कुरा गर्दा १० वर्ष पहिलेको तुलनामा अहिले धेरै नै राम्रो भएको छ । अहिले मानिसहरू समेत सचेत भएको अवस्था छ । सरकारले नै स्वास्थ्य क्लिनिक तथा स्वास्थ्य संस्थाहरुको स्थापना गरेको छ । तर सरकारले निजी र सरकारी दुवै स्वास्थ्य संस्थामा समेत सेवा सुविधा र अवसरहरू सिर्जना गर्नुपर्यो भन्ने धारणा राख्छु ।
अहिले ओपन हार्ट सर्जरी लगायत सबै उपचारहरू निजी अस्पतालहरूमा पनि हुने गर्दछ । यसमा सरकारले हेर्नुपर्यो । सरकारले निजी अस्पतालको लागि एउटा र सरकारी अस्पतालको लागि अर्कै मापदण्ड बनाउने होइन । सरकार भनेको अभिभावक हो अभिभावकले सबै छोराछोरीहरूलाई समान व्यवहार गर्नुपर्यो । यस्तो भेदभाव त गर्नु भएन ।