काठमाडौं । कृषि विकास बैंकले वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । नेपाल सरकारको लगानी रहेको यस बैंकले ५८औँ वार्षिकोत्सव मनाएको हो ।
कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको यो बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रूपमा मान्यता पाएको थियो ।
५७ वर्षसम्म किसानकै सेवामा समर्पित हुँदै आएको कृषि विकास बैंक आजको अत्याधुनिक बैंकिङ प्रणालीमा पनि किसानलाई सबैभन्दा धेरै लगानी गर्ने देशको अग्रणी बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ । स्थापनाका बखतमा बैंकले उत्कृष्ट योगदानकै कारण कृषिजन्य उत्पादनहरु निकै उच्च प्रतिफल दिइरहेको इतिहास छ ।
देशका ७७ वटै जिल्लामा पुगेर बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको कृषि विकास बैंक निजि क्षेत्रसँगै प्रतिस्पर्धा गर्दै अघि बढिरहेको छ । पछिल्लो तथ्याङ्क अनुसार कषि विकास बैंकले उद्योग, व्यापार, पूर्वाधार, उर्जा क्षेत्रमा लगानी गरिरहेको छ । कृषि विकास बैंक नेपालको कृषि क्षेत्रमा लगानी गर्ने विशिष्टिकृत वित्तीय संस्थाको रुपमा स्थापित गर्न सफल भइसकेको छ ।
वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकहरुलाई आफूले लिएका उद्देश्यहरु हाँसिल गर्नेकुरालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन् । उनले बैंकको क्षमता विकास, बैंकको सामथ्र्य विकास, बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।
उनले बैंक सबल र प्रभावकारी भएमात्रै बैंकका कर्मचारीहरुको इज्जत माथि उठ्ने र बैंकले नागरिकको विश्वास जित्ने बताए । उनले बैंकका कर्मचारीहरुले पहिलो प्राथमिकता बैंकको उन्नति र प्रगतिलाई दिएर काम गर्न आवश्यक रहेको बताए ।
त्यस्तै, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सूचकहरु समग्रमा राम्रो रहेको बताए । उनले पछिल्लो समय बाढी, पहिरोका कारण निकै ठूलो असर परे पनि मुलुकको वाह्य क्षेत्रमा सबल रहेको बताए ।
उनले बैंकिङ प्रणालीमा तरलता राम्रो रहेको र बैंकहरु वेल क्यापिटलाइज रहेको दाबी गरे । उनले बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिको कारणले अर्थतन्त्रमा केही स्लो डाउन भएको बताए । गभर्नर अधिकारीले बैंकिङ प्रणालीमा अराजकताको असरले दीर्घकालसम्म अर्थतन्त्रलाई असर पार्ने बताए । उनले अराजकताका यस्ता विषयहरु सधैँ नरहने बताए ।
यो पनि :
कृषि विकास बैंकको ५८औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम
कृषि विकास बैंकद्वारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न, कसले जित्यो उपाधि ?