logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • ६ महिनामा थपियो २४५ मेगावाट बिजुली, ९०० मेगावाट लक्ष्य पुरा होला ?

    ६ महिनामा थपियो २४५ मेगावाट बिजुली, ९०० मेगावाट लक्ष्य पुरा होला ?

    938
    Shares
    ६ महिनामा थपियो २४५ मेगावाट बिजुली, ९०० मेगावाट लक्ष्य पुरा होला ?

    काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा २ सय ४५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ । निजी लगानीमा निर्माणाधीन विभिन्न आठ आयोजना सम्पन्न भई प्रणालीमा उक्त परिमाणको बिजुली थप भएको हो ।

    यो समेत गरी मुलुकको विद्युत जडित क्षमता बढेर ३४ सय २ मेगावाट पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । चालू आर्थिक वर्ष सरकारले ९ सय मेगावाट विद्युत थप गरी राष्ट्रिय प्रणालीमा विद्युत क्षमता ४ हजार ५ सय मेगावाट पुर्याउने लक्ष्य लिएको छ । अहिलेको अवस्था हेर्दा सो लक्ष्य पुरा हुने संभावना निकै कम छ ।

    चालू आर्थिक वर्षको साउनदेखि पुससम्म सम्पन्न भएका आयोजनाहरुमा १ सय ११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको तल्लो सान्जेन, १२ मेगावाटको दूधकुण्ड खोला, ३८ मेगावाटको निलगिरी खोला, ९९० किलोवाटको सेलाङखोला साना जलविद्युत आयोजना रहेका छन् ।

    यस्तै प्रणालीमा जोडिने अन्य आयोजनाहरुमा २ मेगावाटको माथिल्लो रिचेत खोला, २५ मेगावाटको सेती नदी र १३.५ मेगावाटको सुपर काबेली खोला ए जलविद्युत आयोजना सम्पन्न भएका छन् ।

    यस्तै चिलिमे जलविद्युत कम्पनीले सहायक कम्पनीमार्फत बनाएको १ सय २ मेगावाटको मध्यभोटेकोसी पनि राष्ट्रिय प्रणालीमा जोडिदैँ छ । यसैगरी प्रणालीमा अन्य आयोजनाहरु पनि थपिँदै छन् ।

    यो वर्ष सरकारले प्रतिव्यक्ति विद्युत खपत ४ सय ५० युनिट पुर्याउने लक्ष्य लिएको छ । अहिलेसम्म ४ सय युनिट पुगेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ । विद्युत प्रसारण लाइन निर्माण र वितरण कार्यमा निजी क्षेत्र समेत सहभागी गराउन राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले काम सुरु गरिसकेको छ । कम्पनीले प्रसारण लाइन बनाउन विकासकर्ताहरुबाट आशयपत्र मागिरहेको छ ।

    यस्तै जलाशययुक्त जलविद्युत आयोजनामा बाँध र विद्युत गृह छुट्टाछुट्टै प्रवद्र्धकबाट निर्माण गर्ने गरी निजी क्षेत्रलाई लगानी गर्न आकर्षित गर्ने योजना सरकारको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा विद्युत प्राधिकरणले १ अर्ब ९४ करोड २६ लाख युनिट बिजुली भारतर्फ निर्यात गरी १६ अर्ब ९३ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ ।

    गत आर्थिक वर्षमा आयातभन्दा १२ करोड २३ लाख रुपैयाँ बढी विद्युत भारततर्फ निर्यात भएको छ । प्राधिकरणले गत आवमा १६ अर्ब ८१ करोड ३ लाख रुपैयाँको विद्युत आयात गरेको छ । सुक्खायाममा खोला तथा नदीहरुमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत गृहहरुबाट उत्पादन घट्ने हुँदा माग धान्न गत आर्थिक वर्षमा भारतबाट १ अर्ब ८३ करोड ३५ लाख युनिट बिजुली आयात गरिएको हो ।

    ऊर्जाका आधारमा आयातभन्दा १० करोड ९१ लाख युनिट बढी विद्युत निर्यात भएको हो । निर्यात गरिएको परिमाण आयातभन्दा बढी भएकाले भारतीय प्रतिस्पर्धी बजारमा प्रवेश पाएको तीन वर्षमा नै नेपाल विद्युतको खूद निर्यातकर्ता बनेको छ । निर्यात गरिएको बिजुली औसत दर प्रतियुनिट ८.७२ रुपैयाँ छ ।

    चालू आर्थिक वर्षमा २५ अर्ब रुपैयाँ बिजुली भारत निर्यात गर्ने लक्ष्य प्राधिकरणले लिएको छ । हिउँदयाममा आयात गरिएको बिजुलीको औसत दर प्रति युनिट ९.१७ रुपैयाँ छ ।

    आगामी एक दशकमा साढे २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने योजना सरकारले ल्याएको छ । साढे २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने ऊर्जा मार्गचित्र मन्त्रिपरिषदबाट स्वीकृत भइ अब कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।

    कुल लक्ष्यको १३ हजार ५ सय मेगावाट आन्तरिक खपत र बाँकी १५ हजार मेगावाट बिजुली भारत र बंगलादेशमा निर्यात गर्ने महत्वकांक्षी लक्ष्य छ । २०८२ देखि २०९२ सम्म कार्यान्वयन हुने योजना कार्यान्वयनका लागि साढे ४६ अर्ब अमेरिकी डलर लाग्ने अनुमान छ । प्रस्तावित मार्गचित्र कार्यान्वयनका लागि सरकारले विभिन्न पाँच क्षेत्रबाट सो लगानी जुटाउने लक्ष्य लिएको छ ।

    नेपालले भारतमा १ हजार र बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात गरिसकेको छ । आगामी वर्ष निर्यात बढ्दै जाने आधारमा ऊर्जा विकास मार्गचित्रले यस्तो देखाएको हो । भारतमा १० हजार र बंगलादेश र चीनमा गरी कूल ५ हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य सरकारको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend